Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिलो प्राथमिकताका ४८ मध्ये २७ वटा सडकको प्रगति उच्च

पहिलो प्राथमिकताका ४८ मध्ये २७ वटा सडकको प्रगति उच्च


काठमाडौं ।
चालू आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत सञ्चालित ४८ वटा पहिलो प्राथमिकता अर्थात् पीवानका सडक योजनाहरूमध्ये २७ वटाको प्रगति राम्रो देखिएको छ भने काममा पनि तीव्रता आएको छ । यद्यपि सिमेन्ट र रडको मूल्यवृद्धि तथा बालुवा, गिट्टी र ढुंगाको अभावमा ती सडकहरूको काममा सुस्तता आउने संकेत भने देखिएको छ ।

‘देशभर स्थानीय कच्चा पदार्थ अभाव हुनलागेको बेला निर्माण सामग्रीको पनि अत्यधिक मूल्य वृद्धिको कारण सडक निर्माणमा असर देखिन थालेको छ’, एक निर्माण व्यवसायीले आर्थिक दैनिकसित भने, ‘निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धि र स्थानीय कच्चा पदार्थमा आएको अवरोध नहटाउने हो भने अहिलेको प्रगतिमा चाँडै ब्रेक लाग्नेछ ।’

सरकारले तोकिएका केही निश्चित सडक योजनाहरूलाई कच्चापदार्थ निकाल्न दिने हो भने पनि सरकारी लामो प्रक्रियाका कारण काममा अवरोध हुन थालिसकेको छ । कच्चापदार्थ निकाल्न लगाइएको प्रतिबन्धलाई नयाँ तरिकाले खोल्ने प्रयास भइरहे पनि त्यो प्रयास पर्याप्त नभएको व्यवसायीहरू नै बताउँछन् ।

पहिलो प्राथमिकतामा परेका आयोजनामध्ये १३ वटा सडक आयोजनाले प्रथम चौमासिकमै औसत ८६ दशमलव २९ प्रतिशत प्रगति गरिसकेका छन् । मंसिर र पुसमा पनि त्यही रफ्तारमा काम भइरहेको सडक विभागले जनाएको छ । त्यस्तै, पहिलो चौमासिकमा १४ वटा सडक आयोजनाको प्रगति ५० देखि ८० प्रतिशतसम्म देखिएको छ । ती १४ वटा सडकको समग्र प्रगति भने ५५ दशमलव ७६ प्रतिशत देखिएको विभागको तथ्यांक छ । २० वटा सडक आयोजना भनेको प्रगति भने ५० प्रतिशतभन्दा तल देखिएको छ । ती आयोजनाको समग्र प्रगति २६ दशमलव ६१ प्रतिशत मात्र छ । नीतिगत निर्णयका कारण ती आयोजनाहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेका हुन् । नीतिगत समस्यालाई फुकाउने प्रयास भइरहेको सडक विभागको दाबी छ ।

सडक विभागका अनुसार पहिलो चौमासिकमा कक्रहवा– रुद्रपुर– सालझण्डी–सन्धिखर्क– ढोरपाटन सडकले लक्ष्यको शतप्रतिशत काम पूरा गरेको छ । त्यस्तै, गल्छी–त्रिशूली– मैलुङ– स्याफ्रूबेसी रसुगागढी सडक आयोजनाले पनि लक्ष्यको शतप्रतिशत प्रगति गरेको छ । ११ किलो छेपेटार– भालुस्वारा– वारपाक सडकको भने लक्ष्यको ८२ दशमलव ५० प्रतिशत मात्र प्रगति देखिएको छ । नेपालगञ्ज–सुर्खेत–दैलेख बजार महावुलेक–गाल्जे भात्तडी, रतडा–नाग्मा– गमगढी– नाक्चेलाग्रा सडक योजनाले पहिलो चौमासिकमा ९० प्रतिशत काम सम्पन्न गरेको छ ।

सडक क्षेत्र विकास आयोजनाले लक्ष्यको ८१ दशमलव ५० प्रतिशत प्रगति गरेको छ । बेनीघाट–आरुघाट–लार्के भन्जयाङ सडकको प्रगति लक्ष्यको ८६ दशमलव ५० प्रतिशत देखिएको छ । महाकाली पुल निर्माण आयोजनाले लक्ष्यको शतप्रतिशत काम पहिलो चौमासिकमा पूरा गरेको छ । हुलाकी राजमार्गले लक्ष्यको ८१ दशमलव ४१ प्रतिशत प्रगति गरेको छ । धेरै समस्या भएको कारण राष्ट्रिय गौरवको उक्त राजमार्गको काममा विभिन्न ठाउँमा बाधा र अवरोध भइरहेका छन् ।

यस्तै साकेस रोड कनेक्टिभिटी प्रोजेक्टले पनि लक्ष्यको शतप्रतिशत प्रगति गरेको छ । सडक पूर्वाधार विकास कार्यक्रमले ८९ दशमलव ८२ प्रतिशत प्रगति गरेको छ । स्वर्ण सगरमाथा बृहत् चक्रपथ (ओखलढुंगा–सोलु सल्लेरी–खोटाङ दिक्तेल–ओखलढुंगा) काम प्रगति पनि लक्ष्यअनुसार शतप्रतिशत भएको छ । साँघुटार–ओखलढुंगा–कुईभीर सडकको कुल प्रगति पहिलो चौमासिकमा ९८ दशमलव ९८ प्रतिशत देखिएको छ । तमोर करिडोरको चतरा मूलघाट माझीटार दोभान ओलाङचुङगोला सडकको प्रगति लक्ष्यको ८२ दशमलव ३० प्रतिशत मात्र भएको छ ।

यस्तै, लक्ष्यको ५० देखि ८० प्रतिशत प्रगति गर्ने पीवानका सडक आयोजनाहरूमा वीपी राजमार्गलगायतका १४ वटा सडक छन् । बीपी राजमार्गको प्रथम चौमासिकको प्रगति ५० दशमलव ५६ प्रतिशत, महाकाली करिडोरको ६६ दशमलव ६७ प्रतिशत, कान्ति राजपथको ५० प्रतिशत, गंगटे–समुद्रटार–गल्फुभन्ज्याङ सडको ६० प्रतिशत, मदन भण्डारी राजमार्गको ७२ दशमलव ६० प्रतिशत, सहिद मार्गको ५८ दशमलव ७९ प्रतिशत, पुष्पलाल राजमार्गको ५१ दशमलव ९४ प्रतिशत गरेको छ ।

यस्तै, डुम्रे–बेसीसहर–चामे मनाङ सडकको प्रगति ५८ दशमलव ८७ प्रतिशत, औद्योगिक करिडोर अर्थात् व्यापारिक मार्ग विस्तार आयोजनाको प्रथम चौमासिकको प्रगति ७३ दशमलव ६५ प्रतिशत, राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना कार्यक्रमको ५० दशमलव ७१ प्रतिशत, मनाङ–मुस्ताङ्ग– डोल्पा–जुम्ला सडकको प्रगति ७० प्रतिशत देखिएको छ । तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमको प्रगति ५७ दशमलव ६४ प्रतिशत, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको प्रगति ५१ दशमलव ५० प्रतिशत देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया