Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल राष्ट्र बैंकद्वारा नाडेप लघुवित्तलाई कारबाही

नेपाल राष्ट्र बैंकद्वारा नाडेप लघुवित्तलाई कारबाही

संस्थाका अध्यक्ष र प्रमुुख कार्यकारीको नाउँमा पत्र काट्दै गल्ती नदोहो-याउन नसिहत


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नाडेप लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले उक्त संस्थाको विशेष स्थलगत निरीक्षण गरी कारबाही गरेको हो ।

विभागका अनुसार २०७६ पुस १३ गतेदेखि २०७६ पुुस १७ गतेसम्म नाडेप लघुवित्तको केन्द्रीय कार्यालय धादिङ र २०७६ पुुस २१ देखि पुुस २२ सम्म काठमाडौंस्थित सम्पर्क कार्यालय ठूलो भ-याङमा गरिएको विशेष स्थलगत निरीक्षणअनुसार उक्त संस्थालाई नसिहतसहितको कारबाही गरिएको हो । विभागले उक्त संस्थाको सञ्चालक समितिका अध्यक्ष पिताम्वर प्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीको नाउँमा लेखेको कारबाहीसम्बन्धी पत्रमा भनिएको छ, ‘राष्ट्र बैंकले २०७६ माघ २९ गते दिएको निर्देशनउपर संस्थामा देखिएको विभिन्न कैफियतहरुमा संस्थाका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारीले चित्तबुझ्दो जवाफ नदिएकोले कारबाही गरिएको हो ।’

कारबाहीसम्बन्धी पत्रमा अगाडि भनिएको छ, ‘संस्थाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ५८ को उपदफा ४ मा भएको व्यवस्थाविपरीत लामो समयसम्म आफ्नो हिसाबकिताब खाता, बही, स्रेस्ता र लेखाको अभिलेख सम्पर्क कार्यालय काठमाडौंमा राखेको सम्बन्धमा स्पष्टीकरण सोधिएकोमा सोको जवाफ भूलवश उक्त कार्य भएको तर हाल केन्द्रीय कार्यालय धादिङमा सबै स्रेस्ता स्थानान्तरण गरी सम्पूर्ण कार्य भइरहेको भन्ने जानकारी प्राप्त भएकाले पुनः यस प्रकारको गल्ती नदोहो-याउने गरी तपाईंलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ खण्ड क बमोजिम नसिहत दिइएको हो ।’ राष्ट्र बैंकले संस्थाका अध्यक्ष आचार्य र प्रमुख कार्यकारी अधिकृत कार्कीलाई लेखेको कारबाहीसम्बन्धी छुट्टाछुट्टै पत्रमा उक्त व्यहोरा उल्लेख गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकबाट इजाजतप्राप्त घ वर्गका लघुवित्त संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७७ को निर्देशन नं. छको बुुँदा नम्बर ३ को उपबुँदा नं. ९ अनुरुप जिल्लास्तरमा केन्द्रीय कार्यालय वा कर्पोरेट कार्यालय रहेका लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख कार्यालय कामको सिलसिलाबाहेक सोही कार्यालयमा नियमित उपस्थित हुनुपर्नेमा सोको विपरीत केन्द्रिय कार्यालयमा उपस्थित नभई सम्पर्क कार्यालयमा उपस्थिती रही कार्य गरेको र संस्थामा देखिएको कर्मचारी व्यवस्थापनबिचको असमझदारीलाई समयमा नै निराकरण गर्न नसकेको एवं कर्मचारी व्यवस्थापन उचित ढंगले नगरी सुचारु रुपमा संस्था सञ्चालन गर्न नसकेको कारणले संस्थाका सदस्य, सेयरधनीलगायत सम्बद्ध पक्षहरुको अहित हुने कार्य गरेको पाइएको आदिका सम्बन्धमा संस्थामार्फत प्राप्त स्पष्टीकरणको जवाफमा कर्मचारीहरुबाट भएका अनुशासनहीनताको विषयलाई संस्थाको समग्र अव्यवस्थाको कारण जनाए पनि संंस्थालाई व्यवस्थित गरी सुचारु गर्न नसकेको देखिएको हुुँदा आगामी दिनमा यस प्रकारका कमी/कमजोरीहरु नदोहो-याउने गरी तपाईंलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ खण्ड ‘क’बमोजिम नसिहत दिइएको छ, नेपाल राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक रामप्रसाद गौतमको हस्ताक्षरित कारबाहीसम्बन्धी २०७७ पुस २२ गते लेखिएको पत्रमा भनिएको छ ।

राष्ट्र बैंकले कारबाहीसम्बन्धी सोही व्यहोराको पत्र नाडेप लघुुवित्त वित्तीय संस्थाका अध्यक्ष आचार्य र सञ्चालक वेद प्रसाद सिवाकोटीको नाउँमा पनि २०७७ पुस २२ गते नै लेखेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया