Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतोकिएकै समयमा निर्वाचन गर्न जरुरी : राष्ट्रपति

तोकिएकै समयमा निर्वाचन गर्न जरुरी : राष्ट्रपति

अयोगद्वारा आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


काठमाडौं ।
निर्वाचन आयोगले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगले गरेका काम कारबाहीसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको हो ।

प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, साङ्गठानिक एवं प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानुन तथा राजनीतिक दल व्यवस्थापन, वित्तीय स्रोत परिचालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापनलगायतका विविध विषयहरू समेटिएका छन् । आयोगकोे वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताइन् ।

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकोले निर्वाचन आवश्यक रहेको भन्दै उनले त्यसका लागि आयोगले गरेको तयारीको बारेमा पनि चासो व्यक्त गरिन् । उनले तोकिएकै समयमा आयोगले स्वतन्त्र, निश्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचन गराउन सक्षम हुने उनले विश्वास समेत व्यक्त गरिन् । सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचणको घोषणा गरेको छ । राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा नै लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्न सकिने बताइन् ।

निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गराउनेतर्फ कार्य गर्न, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन उनले आयोगलाई सुझाव समेत दिइन् । आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्य समेतको निर्वाचन गराउने भएकोले यो महत्वपूर्ण जिम्मेवारीका साथै अवसर पनि रहेको उनले बताइन् । साथै उनले संवैधानिक व्यवस्थाबमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेकोमा प्रमुख निर्वाचन आयुक्त, आयुक्त, सचिवलगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त गरिन् ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ का लागि मतदाता नामावली अद्यावधिक (दाबीविरोध) कार्यक्रम तथा मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम आयोगबाट स्वीकृत भई राजनीतिक दलहरूसँग परामर्श बैठक तथा जिल्ला निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि आवश्यक तालिम समेत सम्पन्न भएको जानकारी दिए ।

निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक निर्देशिका, बजेट तथा जनशक्ति प्रक्षेपण, मतदाता शिक्षा सामग्री तयारी, तालिम सामग्री तयारी, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति तोक्नेलगायतका निर्वाचन सञ्चालन एवं व्यवस्थापनका सम्पूर्ण कार्यहरू योजनाबद्धरूपमा अगाडि बढिरहेको उनको भनाइ थियो । उक्त कार्यक्रममा निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्याल, आयोगका सचिवलगायत कर्मचारीहरू तथा राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपतिका सल्लाहकार, विज्ञहरू, स्वकीय सचिवलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया