Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँच महिनामा एक खर्ब ७७ अर्ब रुपैयाँको सेयर

पाँच महिनामा एक खर्ब ७७ अर्ब रुपैयाँको सेयर

सूचीकृत पाँच अर्ब ६१ लाख संख्याको सेयर चुक्ता मूल्य चार खर्ब ९१ अर्ब २४ करोड पुग्यो


काठमाडौं ।
चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढीको सेयर सुचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पाँच महिनाको प्रतिवेदनअनुसार यस अवधिमा एक खर्ब ५० अर्बबराबरको विकास ऋणपत्र, ११ अर्ब ४१ करोडबराबरको साधारण सेयर, पाँच अर्ब ८० करोडबराबरको बोनस सेयर, सात अर्बबराबरको डिबेन्चर, दुई अर्ब ५० करोड बराबरको हकप्रद सेयर ६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल एक खर्ब ७७ अर्ब ३७ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा नेपाल धितोपत्र बोर्डले पाँच अर्ब चार करोडबराबरको डिबेन्चर, दुुई अर्ब दुई करोडबराबरको साधारण सेयर, ५३ करोड ३७ लाखबराबरको हकप्रद सेयर र ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल आठ अर्ब १० करोड रुपैयाँबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । राष्ट्र बैकका अनुसार २०७६ मंसिर मसान्तमा ११ सय ५४ दशमलव एक अंकमा रहेको नेप्से सूचकांक भने २०७७ मंसिर मसान्तमा दुुई हजार ६१ दशमलव छ अंकमा पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३ सय ६२ दशमलव चार रहेको थियो ।

चालू आवको पाँच महिनामा धितोपत्रको कुल बजार पुँजीकरण भने २७ खर्ब ६३ अर्ब ६६ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा यस्तो बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ मात्र रहेको थियो । २०७७ मंसिरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३५ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार, चार वटा होटल तथा व्यापारिक संस्था र छ अन्य समूहका रहेका छन् । राष्ट्र बैंकका अनुसार २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१ दशमलव एक प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा छ दशमलव पाँच प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव दुई प्रतिशत, होटेलको हिस्सा एक प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव चार प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६ दशमलव सात प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालू आवको पाँच महिनासम्ममा सूचीकृत पाँच अर्ब ६१ लाख संख्याको सेयर चुक्ता मूल्य चार खर्ब ९१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया