Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसैनिक भर्नादेखि अमेरिका पठाउने नाममा ठग्ने कथित मानव अधिकारवादी थापा पक्राउ

सैनिक भर्नादेखि अमेरिका पठाउने नाममा ठग्ने कथित मानव अधिकारवादी थापा पक्राउ


काठमाडौँ ।

मानवअधिकारको आवरणमा वर्षौैँदेखि ठगी धन्दा सञ्चालन गरेर करोडौँ ठगी गर्ने संखुवासभाका तुलसी थापा मंगलबार काठमाडौंबाट पक्राउ परेका छन् । थापाले विभिन्न विषयमा ठगी धन्दा सञ्चालन गरे पनि उनी पछिल्लो समयमा भने १५ लाख रुपैयाँ ठगीको केसमा पक्राउ परेका हुन् । स्रोतका अनुसार संखुवासभाको पाँचखपन नगरपालिकामा जन्मिएका थापाको काठमाडौं बसाइ र निजी गाडी चढ्नेलगायतका सबै हैसियत ठगी धन्दाबाट मात्र भएको हो । हाल उनी काठमाडौं महानगरपालिका मित्रपार्कमा बस्दै आएका छन् ।

साबिक स्याबुन, वाना र जलजला गाविसहरु मिलाएर पाँचखपन नगरपालिका बनाइएको हो । कतिपय मानवअधिकारवादीहरुले थापालाई पैसा उठाउनकै लागि मात्र विभिन्न मानवअधिकारवादी संघ÷संस्थामा आबद्ध गराएको स्रोतको दाबी छ । थापाले पछिल्लो समयमा एक व्यक्तिलाई आफू अमेरिका जाँदा मल्टिपल भिसा लगाइदिने भन्दै उनीबाट १५ लाख रुपैयाँ लिएका थिए । अमेरिका पनि नपठाएको र पैसा पनि फिर्ता नगरेपछि उनकै उजुरीका आधारमा प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो ।

थापामाथि प्रहरीले ठगी गरेको आरोपमा कारबाही अगाडि बढाएको छ । थापाले विभिन्न व्यक्तिलाई ठगी गरेका विगतका रेकर्डले पनि देखाएको एक प्रहरी अधिकृतको दाबी छ । तर, अहिले भने १५ लाख रुपैयाँ ठगीको उजुरी परेको हुनाले पक्राउ गरिएको हो ।

पछिल्लो समय थापाले मानवअधिकार परिषद् नेपाल भन्ने संस्था सञ्चालन गर्दै आएका छन् । उनले उक्त संस्थाको नाममा प्रतिव्यक्ति २० हजार रुपैयाँमा ज्याकेट बिक्री गर्ने गरेका थिए । मानवअधिकारको संस्था उल्लेख गरेको स्टिकर टाँस गरेको ज्याकेट विभिन्न पेशा तथा व्यवसाय गर्ने व्यक्तिले लगाएर बन्द, आमहडताल तथा लकडाउनको बेला निर्बाध रुपमा आफ्ना सवारीसाधनमा हिँड्ने गरेका थिए ।

मानवअधिकारको स्टिकर भएको ज्याकेट तथा गाडी सुनसुकै बेला निर्बाध रुपमा प्रयोग गर्न प्रहरीले छुट दिने भएकाले त्यही सुविधाका लागि विभिन्न पेशा तथा व्यवसाय गर्ने व्यक्तिहरुले थापा आबद्ध मानवअधिकार परिषद्बाट सदस्यता लिएको स्रोतको दाबी छ । स्रोतका अनुसार थापाले सदस्यता र आजीवन सदस्यताको नाममा पनि लाखौं रुपैयाँ उठाएका छन् । थापाले मानवअधिकारको आजीवन सदस्यको लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म उठाउने गरेका छन् भने सदस्यताको लागि पनि विभिन्न तहको शुल्क लिने गरेका छन् ।

मानवअधिकारको नाममा विदेश जान सहज हुने र आफूले त्यस्तो वातावरण बनाइदिने भन्दै उनले ज्याकेट, स्टिकर, विभिन्न किसिमका सदस्यता बिक्री गर्ने गरेका हुन् । स्रोतका अनुसार केही वर्षअगाडि थापाले अमेरिका पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग ५० लाख रुपैयाँ ठगी गरेका थिए । स्रोतका अनुसार काम गर्न विदेश पठाइदिन्छु भनेर रकम ठगी गरेपछि पीडितहरुले उजुरी गरेपछि श्रम अदालतले उनलाई ५० लाख रुपैयाँ नै धरौटीमा छाडेको थियो ।

यस्तै थापाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा मन्त्री भएको बेलामा पनि आफू उनीहरुको नजिकको व्यक्ति भएको र विभिन्न ठाउँमा नियुक्ति तथा व्यवसायमा छुट सुविधा उपलब्ध गराउँछु भनेर पनि ठगी गरेका थिए । तुलसीले आफूहरुको नाममा ठगी गरेको थाहा पाउँदापाउँदै पनि आन्तरिक कारणले कारबाही भएको थिएन ।

त्यसो त पक्राउ गरेका उनै तुलसीले पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा जयन्त चन्द मन्त्री भएको बेला व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यकारीको म्याद थप गरिदिने भन्दै २५ लाख रुपैयाँ ठगी गरेका थिए । चन्द पहिलोपटक केपी ओली प्रधानमन्त्री भएको बेला उनकै क्याबिनेटमा वाणिज्यमन्त्री नियुक्त भएका थिए ।

तुलसीले यतिसम्म ठगी गरेका थिए कि नेपाली सेनामा आफ्नो पहुँच भएको भन्दै सैनिक पदमा भर्ना गर्ने भनेर पनि कैयौँ युवासँग रकम असुल गरेका थिए । यसको गुनासो पूर्वप्रधानमन्त्रीद्वय थापा र चन्दको परिवारसम्म पनि पुगेको थियो । उनले खासगरी नेपाली सेनाको पूर्वी पृतना इटहरीमार्फत भर्ना गर्ने भनेर केही वर्षअगाडि ठूलो रकम उठाएका थिए । स्रोतका अनुसार सेनामा भर्ना गर्ने भनेर पैसा उठाएको र त्यसमा ठगिएका केही युवाका परिवारले सेनामा समेत गुनासो गरेका थिए । ठगीमा संलग्न थापासँगको उठबस भएका सेनाका अधिकारी विवादमा समेत तानिएका स्रोतको दाबी छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया