Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलाखौँ खर्चिएर जडान गरिएका सडकबत्ती एक महिना नपुग्दै बिग्रिए

लाखौँ खर्चिएर जडान गरिएका सडकबत्ती एक महिना नपुग्दै बिग्रिए


धनगढी ।
कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा लाखौँ रकम खर्चेर जडान गरिएका सडकबत्तीहरू महिना दिन नपुग्दै बिग्रिएका छन् । तर मर्मत सम्भारमा पनि कुनै पनि निकायको ध्यान जान सकेको छैन । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का शान्ति टोल, शिवपुरी टोल, न्यू रोड टोललगायतका १० टोलमा जडान गरिएका सडकबत्ती एक महिना नबित्दै बिग्रिएका हुन् ।

हालसम्म मर्मत सम्भार नहुँदा रातिको समयमा आवतजावत गर्नेलाई समस्या भएको शिवपुरी धाम शन्ति टोलकी स्थानीय शान्ति चौधरी बताउँछिन् । उनले भित्री सडकमा खाल्डाखुल्डी, राति अँध्यारो हुँदा दुर्घटनाको जोखिम हुनेगरेको बताइन् । वडा नम्बर ४ को कार्यालय रहेकै क्षेत्रमा जडान गरिएका सडकबत्ती पनि बिग्रिएका छन् ।

केही स्थानमा स्वीच चोरिँदा बलेको बत्ती रातदिन बलेको समेत पाइएको छ । जसले करेन्ट लाग्ने जोखिम पनि उत्तिकै रहेको वडा नम्बर ४ कै स्थानीय सेतु ठकुल्लाले बताइन् । पटक–पटक मर्मत सम्भारका लागि आग्रह गर्दा समेत बेवास्ता गरिएको न्यूरोड टोलका स्थानीयले बताए । सडकबत्ती जडान गर्दा वडा कार्यालयले तीन लाख खर्च गरेको छ । सो वडाभित्रका १० टोलका पाँच सय २४ पोलमा मंसिरमा बत्ती जडान गरिएको हो । एउटा पोलमा एक सय रुपैयाँका दरले सडकबत्ती जडान गरिएको वडा नम्बर ४ का वडाध्यक्ष दिपककुमार थापाले बताए ।

जडानकार्यका लागि मात्रै ५० हजारभन्दा बढी खर्च भएको उनको भनाइ छ । बाँकी सामग्रीको हिसाबकिताब भने हेर्न बाँकी रहेको उनले बताए । वडा अध्यक्ष थापाले ३०/३५ स्थानमा जडान गरिएको बत्ती बिग्रिएको गुनासो आएको बताउँदै नगरपालिका कार्यालयमार्फत चाँडै मर्मत गरिने बताए । धनगढी उपमहानगरपालिकाले मर्मत सम्भार गर्ने जिम्मा वडाकै भएको बताउने गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले मर्मतको दायित्व वडा कार्यालयकै रहेको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया