Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रत्यक्ष वैदेशिक लगानी ४६.९६ प्रतिशतले घट्यो

प्रत्यक्ष वैदेशिक लगानी ४६.९६ प्रतिशतले घट्यो


काठमाडौँ ।

नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुद्वारा गरिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा कमी आएको छ । चालू आर्थिक वर्ष (०७७÷०७८) को छ महिना (साउनदेखि पुस मसान्तसम्म)को तुलनामा गत आवको सोही अवधिको तुलनामा नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुद्वारा एफडीआईमा ४६ दशमलव ९६ प्रतिशतले कमी आएको छ ।

चालू आवको पुस मसान्तसम्म विदेशी लगानीकर्ताहरुद्वारा एफडीआईमार्फत नेपालको उद्योग क्षेत्रमा २१ अर्ब ५७ करोड ८५ लाख लगानी उद्योग विभागबाट स्वीकृत गराएका छन् । गत आवको सोही अवधिमा भने उनीहरुले उद्योग क्षेत्रमा ४० अर्ब ६८ करोड ५६ लाख लगानी विभागबाट स्वीकृत गराएका थिए । चालू आवमा एक सय २३ वटा तथा गत आवमा एक सय ५० वटा उद्योग स्थापना गर्नका लागि सो लगानी विदेशी लगानीकर्ताहरुले स्वीकृत गराएका हुन् ।

उनीहरुले चालू आवको छ महिनाको अवधिमा ४० करोड कृषि तथा वनजन्य, ४० करोड सूचना प्रविधिमा, ४६ करोड उत्पादनजन्यमा, पाँच अर्ब १६ करोड सेवाजन्य र १५ अर्ब १५ करोड ८५ लाख पर्यटनजन्य र पाँच करोड ऊर्जाजन्य उद्योग स्थापना गर्ने भन्दै लगानी स्वीकृत गराएका हुन् ।

उक्त लगानी स्वीकृत दुईवटा कृषि तथा वनजन्य, पाँचवटा सूचना तथा प्रविधिजन्य, आठवटा उत्पादनजन्य, ३१ वटा सेवाजन्य र ७६ वटा पर्यटनजन्य उद्योग स्थापनाका लागि गरेका हुन् । उद्योग स्थापनासँगै लगानीकर्ताहरुले तीन हजार चार सय ८० जनालाई रोजगारी दिने समेत बताएका छन् ।

यस्तै गत आवको सोही समयमा लगानीकर्ताहरुले ४२ करोड कृषि तथा वनजन्य, ११ अर्ब ८२ करोड २६ लाख ऊर्जाजन्य, नौ अर्ब ९७ करोड ३३ लाख सूचना तथा प्रविधिजन्य, दुई अर्ब ९३ करोड ३५ लाख उत्पादनजन्य, सात अर्ब ३१ करोड ३० लाख सेवाजन्य र आठ अर्ब २२ करोड ३२ लाख पर्यटनजन्य उद्योगमा लगानी गर्ने बताएका थिए । उनीहरुले उक्त लगानी प्रतिबद्धता तीनवटा कृषि तथा वनजन्य, पाँचवटा ऊर्जाजन्य, २५ वटा सूचना तथा प्रविधिजन्य, १९ वटा उत्पादनजन्य, ३८ वटा सेवाजन्य र ६० वटा पर्यटनजन्य उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएका थिए भने सात हजार आठ सय ६९ जनालाई रोजगारी दिने समेत बताएका थिए ।

यस्तै यसअघिका वर्षमा भने उद्योग स्थापनाका लागि प्रतिबद्धता आउने गरेको भए पनि रकम नभित्रिने समस्या रहेकोमा अब भने त्यसो नहुने विभागका अधिकारीहरु बताउँछन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ कार्यान्वयनमा आएसँगै विभागबाट लगानी स्वीकृत गराएको एक वर्षभित्र एफडीआई ल्याउनुपर्ने व्यवस्थाले गर्दा आगामी दिनमा लगानी स्वीकृतिसँगै रकम समेत भित्रिने विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले बताए ।

नियमावलीअनुरुप उद्योगमा विदेशी लगानी भएमा एक वर्षको समयसीमाभित्र पाँचदेखि २५ प्रतिशतसम्म लगानी रकम भित्र्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ जसले गर्दा विदेशी लगानीकर्ताहरुले लगानी स्वीकृत गराएसँगै लगानी भित्र्याउनुपर्ने हुन्छ ।

नियमावलीअनुरुप विदेशी लगानीअन्तर्गत पाँच करोड लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको २५ प्रतिशत, पाँच करोडभन्दा माथि २५ करोडसम्म लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको १५ प्रतिशत, २५ करोडभन्दा माथि एक अर्बसम्म लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको १० प्रतिशत र एक अर्बभन्दा माथि लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको पाँच प्रतिशत रकम एक वर्षको समयसीमामा भित्र्याउनुपर्ने हुन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया