तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
दोलखा।
दोलखाको तामाकोशी गाउँपालिका १ का लक्षुमण माझीलाई ठग समूहको एक गिरोहले करोडौँको राजस्व छली मुद्दामा फसाइदिएको छ ।उक्त गिरोहले तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीको नाममा पीआरके ट्रेड इन्टरनेशनल नामक कम्पनी दर्ता गरी राजस्व छली गर्ने गरेको पाइएको हो ।
राजस्व अनुसन्धान विभागले माझीको नामबाट दर्ता भएको स्थायी लेखा नम्बर ६०५४२८२७२ बाट पाँच करोड २० लाख राजस्व छली गरेको अभियोगमा माझीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले गत पुस १६ गते माझीलाई अदालतमा हाजिर हुन पत्र पठाएको छ । अदालतले करोडौँ राजस्व छलीको मुद्दामा उपस्थित हुन माझीलाई पत्र आएपछि उनीलगायत सिंगो बस्ती नै त्रसित भएका छन् । गाउँमा माछा मारेर जेनतेन परिवार पाल्दै आएका माझी अहिले करोडौँ रुपैयाँ राजस्व छली गर्ने अभियुक्त बनेका छन् ।
कसरी फसे माझी ?
२०७२ सालको भूकम्पपछि जिल्लाको अधिकांश बस्ती ध्वस्त बने । माझी गाउँ पनि अछूतो रहेन । भूकम्पपछि पीडितहरूका लागि खाद्यान्न, लत्ताकपडा, जस्तापातासहितका राहत लिएर आउनेहरूको गाउँमा ओइरो लाग्यो । त्यसमा पनि दलित, जनजाति र माझीजस्ता पिछडिएका बस्ती र समुदाय यसको निशानामा परे । भूकम्प गएको एक वर्षपछि गाउँमा कपडा बेच्न हिँडिराख्ने महेन्द्र यादवले लक्षुमणलाई नयाँ घर बनाइदिने र राहत दिने मान्छे भेटाइदिने भन्दै काठमाडौं बोलाए । लक्षुमण पनि नयाँ घर पाउने आशामा तीन पटकसम्म काठमाडौं आएर महेन्द्रले भनेको व्यक्तिलाई भेटे ।
लक्षुमणका अनुसार ३ पटकसम्म काठमाडौं आउँदा ती व्यक्तिले उनलाई ३६ हजार ५ सय रुपैयाँ पनि दिए । पैसा दिएपछि माझीसँग पहिलोपटक ती व्यक्तिले नागरिकताको फोटोकपी र फोटो खिचेर लगे । पीडित माझीले आर्थिक दैनिकसँग भने, ‘दोस्रो र तेस्रो पटक विभिन्न कागज बनाएर ल्याएछन्, सबैमा सही गर्न लगाए ।’ राहत पाउने आशामा पढलेख गर्न नजानेका लक्षुमणले उनीहरुले भनेकै ठाउँमा सही र ल्याप्चे लगाइदिए । उनलाई काठमाडौंमा लाने काम भने नरेन्द्र राय यादव र धीरेन्द्र राय यादवले गरेका थिए ।
माझीको सम्पूर्ण कागजपत्र जम्मा गरेपछि उनीहरु टाढिएका थिए । उनीहरुले नै माझीको नाममा कम्पनी दर्ता गरेर राजस्व छली गरेको हुनसक्ने स्थानीय जनप्रतिनिधिको आशंका छ । राहत दिनेको व्यक्तिको नाम, ठेगाना केही जानकारी नभए पनि देखे अनुहार चिन्नसक्ने उनी बताउँछन् । राहतका नाममा लक्षुमणजस्तै माझीगाउँका अधिकाँश गाउँले यसरी नै नागरिकता र फोटो बुझाएर कागजमा सही गरेका छन् । दिनेश माझी, देवेन्द्र माझी, नारायण माझी, मोहन खत्री काफ्ले र शरण माझी पनि एउटै व्यक्तिलाई नागरिकता दिएर राहत लिनेमा पर्छन् । लक्षुमणजस्तै आफूलाई पनि यस्तै पत्र आउने हो कि भन्ने चिन्ता यी स्थानीयबासीलाई परेको छ ।
स्थानीय वीरबहादुर माझीलाई पनि सोही समूहले सर्लाहीको मलंगवा बोलाएर होटलमा तीन दिनसम्म राखेका थिए । फर्किने बेला ११ हजारका दरले दुई जनालाई खर्च दिएको उनले बताए । त्यसपछि उनीहरु सम्पर्कमा आएका छैनन् । अर्का स्थानीय मोहन काफ्लेले पनि काठमाडौं पुगेर १५ हजार राहत लिएर आएको बताए । लक्षुमणकै छोरा दिनेश माझीले जनकपुर पुगेर १५ हजार रुपैयाँ लिएका थिए । उनीहरु सबैले नागरिकताको फोटोकपी दिएर सही गरेर राहत लिएका थिए ।
लक्षुमणको नाममा अदालतबाट तामेली आएपछि आफूहरू पनि ठगिएको अरुले महसुस गर्न थालेका छन् । हरेक व्यक्तिलाई छुट्टाछुट्टै ठाउँमा बोलाएर नागरिकता लिएर विभिन्न कागजातमा सही गराएको उनीहरू बताउँछन् । आफ्नो नागरिकता र फोटो लिएर गिरोहले नक्कली कम्पनी खडा गरी राजस्व छली गरेको हुनसक्ने उनीहरूको अनुमान छ । सोझा र विपन्न बस्तीमा पसेर गरिबी र अशिक्षाको फाइदा उक्त गिरोहले उठाएको हुनसक्ने वडाअध्यक्ष महेश काफ्लेले बताए । उक्त गिरोहका समूहले लक्षुमणलाई सम्पर्क गर्ने मोबाइलको सिमकार्ड समेत लक्षुमणको नामबाट नै निकालिएको पाइएकोले सोही गिरोहले माझीलाई फसाएको उनी बताउँछन् ।
करोडौं राजस्व ठगीको मुद्दामा फसेपछि लक्षुमण माझी अहिले न्यायको लागि हारगुहार गरिरहेका छन् । तीन वर्षदेखि नयाँ घर पाउने आशामा बसेका माझीको हातमा राजस्व छलीको मुद्दाको म्याद तामेली पत्र परेको छ । अदालतको तामेली पत्र बुझेका लक्षुमण अदालतमा कसरी जाने भन्नेमा अहिले चिन्तित छन् । लक्षुमणसँगै अन्य गाउँले पनि आफ्नो नाममा तामेली आउने हो कि भनेर अहिले चिन्तित बनेका छन् । बुबाको नाममा जिन्दगीमा कल्पना नै नगरेको रकमको मुद्दा चल्ने भएपछि उनका ३२ वर्षीय छोरा दिनेश माझी समेत आफ्नो नाममा यस्तै मुद्दा आउनसक्नेमा चिन्तित छन् । दैनिक तामाकोशी नदीमा माछा मारेर गुजारा गर्दै आएका माझी अहिले न्यायको लागि चारैतिर गुनासो पोखिरहेका छन् ।
छिमेकीको जग्गामा घर बनाएर रात काट्दै आएका लक्षुमण माझीलाई हिजोआज परिवारको छाक टार्न समेत समस्या छ । अदालतमा करोडौंको मुद्दाको म्याद तामेली आएपछि महेन्द्रलाई बुझ्दा पो आफूहरु ठगिएको पत्तो पाइएको लक्षुमणले आर्थिक दैनिकलाई बताए । उनका अनुसार महेन्द्रले आफ्नो स्थायी ठेगाना भने डुमरिया बताएका थिए । उनी अहिले पनि फोन सम्पर्कमा रहेको लक्षुमणको भनाइ छ । उक्त समूहले भीरकोटका छ जना माझी, जफेका एक जना काफ्ले र थप एक जना थापालाई नयाँ घरको लोभ देखाएर नेपालका विभिन्न सहरमा बोलाएर १०÷१५ हजार रुपैयाँ राहत दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया