Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन

सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन


काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरू राखेको छ ।

महाशाखाले काठमाडौँ उपत्यकाको चक्रपथ तथा चक्रपथबाहिर २६ स्थान र चक्रपथभित्र आठ स्थान गरी बढी दुर्घटना हुने ३३ स्थानहरू समेत पहिचान गरी उक्त कोनहरू राखेको हो । रातको समयमा सडकबत्ती नहुँदा अँध्यारोको कारण जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न बढी दुर्घटना जोखिम रहेको स्थानहरूमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिए । यस्ता कोनहरू उपत्यकाको विभिन्न सडकखण्डमा चार सय ३० थान राखिएको उनले बताए । एयरपोर्ट नयाँ गेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनी ओरालो, बल्खु चोक, सिता पम्प, खसीबजार, सितापाइला उकालो, बाफल, सानोभ-याङ, वनस्थली, बबरमहललगायतका सडकखण्डमा ट्राफिक कोनहरू राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

यसअघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी गत पुस १३ गते बालकुमारीदेखि सानेपासम्मका विभिन्न १३ स्थानमा दुई सय थान टल्किने ट्राफिक कोन राखेको थियो । ती स्थानहरूमा ट्राफिक कोन राख्नुभन्दा १५ दिन अगाडि ४७ वटा दुर्घटनामा परी तीन जनाको मृत्यु र ३१ जना घाइते भएकोमा ट्राफिक कोण र सडकबत्ती जडानपछि त्यस क्षेत्रमा २९ वटा दुर्घटनामा १४ जना मानिस घाइते भएको जनाएको छ ।

महाशाखाले त्यस क्षेत्रमा भएका सवारी दुर्घटनाको विश्लेषण गरी दुर्घटनामा उल्लेख्य कमी आएको जनाउँदै यसप्रकारको अपरेसनल कार्यलाई थप निरन्तरता दिँदै अन्य दुर्घटना सम्भावित सडकहरूमा समेत राख्दै जाने योजना रहेको बताएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया