Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखामा एक सय ५५ जनाले लगाए कोरोनाविरुद्धको खोप

दोलखामा एक सय ५५ जनाले लगाए कोरोनाविरुद्धको खोप


दोलखा ।
दोलखामा पनि बुधबारदेखि कोरोना भाइरसविरुद्धको कोप लगाउन सुरु गरिएको छ । जिल्लामा जोखिममा रहेर काम गर्ने एक सय ५५ जनाले खोप लिएका छन् । पहिलो चरणमा बुधबार भीमेश्वर नगरपालिकामा रहेकोे चरीकोट अस्पतालका ७० जना स्वास्थ्यकर्मी, २७ जना महिला स्वास्थ्य स्वयंसेवीका, १४ जना सरसफाइकर्मी, एक जना सुरक्षाकर्मी र अन्य नौ जना कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

त्यसैगरी जिल्लाको दोस्रो ठूलो अस्पताल जिरी अस्पतालका सात जना स्वास्थ्यकर्मी, १२ जना महिला स्वास्थ्य स्वयंसेविका, तीन जना सरसफाइकर्मी दुई जना एम्बुलेन्स चालकले खोप लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जिल्लाका सबै स्थानीय तहका विभिन्न संघसंस्थामा जोखिममा रहेर काम गर्ने कर्मचारीलाई खोप दिने जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भीमेश्वर नगरपालिका र जिरी नगरपालिका बुधबार र बिहीबार, बैतेश्वर गाउँपालिकामा माघ १६ र १७ गते, शैलुङ गाउँपालिकामा माघ १६ गते, तामाकोशी गाउँपालिकामा माघ १७ गते, मेलुङ गाउँपालिकामा माघ १८ गते, कालिञ्चोक गाउँपालिकामा माघ १९ गते, बिगु गाउँपालिकामा माघ २० गते र गौरीशंकर गाउँपालिकामा माघ २१ पहिलो चरणमा खोप दिइनेछ ।

जिल्लाका सातवटा स्थानीय तहको खोप केन्द्र चरीकोट अस्पताल तोकिएको छ भने जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाको खोप केन्द्र जिरी अस्पताल तोकिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । स्वास्थ्य प्रमुख झाका अनुसार स्थानीय तहलाई तोकिएको समयमा खोप लिन छुटेका अन्य कर्मचारीलाई माघ १८ र १९ गते तथा २२ र २३ गते लगाइने स्वास्थ्य कार्यालय दोलखाले जानकारी दिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया