Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइने

सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइने


काठमाडौं ।
बालबालिका र युवाका लागि इन्टरनेट सुरक्षित बनाउने उद्देश्यसहित यस वर्ष ९ फेब्रुअरी (माघ २७ गते) मा सुरक्षित इन्टरनेट दिवस २०२१ नेपालसहित विभिन्न देशमा मनाइने भएको छ । हरेक वर्ष मनाइने यस दिवसले बालबालिका र युवाहरूका लागि अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन र बालबालिकासँग काम गरिरहेका संस्थाहरूबीच सहकार्य र समन्वय प्रवर्द्धन गर्नका लागि सहयोग पु¥याउने बताइएको छ ।

बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आएको छ । चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीका अनुसार नेपालमा सुरक्षित इन्टरनेट दिवस २०२१ मनाउनका लागि राष्ट्रिय समन्वय समिति गठन गरिएको छ । यस समितिको सचिवालयको भूमिका चाइल्डसेफनेटले निर्वाह गरेको छ । अन्य समितिका सदस्यहरुमा नेपाल प्रहरी साइबर ब्युरो, युनिसेफ, प्लान इन्टरनेशनल नेपाल, युवालय, सिविन नेपाल, साथी, एक्शनएड नेपाल, वेदः सिर्जनशील संस्था, लू निभा चिल्ड कन्सर्न ग्रुप, छाता संगठन नेपाल र बाल वातावरण केन्द्र समिति रहेका छन् ।

यस दिवसले बालबालिका र युवाको लागि अनलाइनमा सुरक्षित राख्न परिवार, स्कूल, प्रहरी, सरकारी निकाय, निजी क्षेत्र, मिडिया, संघ/संस्था र अन्य सरोकारवालासँग सहकार्य गर्न तथा साइबर सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने अवसर प्रदान गर्ने चाइल्डसेफनेटका संस्थापक अध्यक्ष रघुवंशी बताउँछन् । सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन बालबालिकाको लागि काम गर्ने संघ/संस्थाहरुले अपील भिडियो, पोडकास्ट, युट्युब भ्लग, सोसल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री मैत्री सञ्चार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाएका छन् ।

यसका साथै साइबर सुरक्षाबारे प्रशिक्षण, प्यानल छलफलहरू पनि सञ्चालन हुनेछन् । ९ फेब्रुअरीका दिन सुरक्षित इन्टरनेट दिवसको मुख्य कार्यक्रम आयोजना गरिनेछ भने साइबर सुरक्षाबारे अन्य कार्यक्रमहरु वर्षभरि सञ्चालन गरिनेछन् । सुरक्षित इन्टरनेट दिवसका कार्यक्रमहरुमा सहभागी हुन र सहयोग गर्न राष्ट्रिय समन्वय समितिको तर्फबाट चाइल्डसेनेटले बालबालिका, युवा, अभिभावक, स्कुल, कलेज, सरकार, प्रहरी, कानुन व्यवसायीहरू, निजी क्षेत्र, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, संयुक्त राष्ट्रसंघीय संस्थालगायतका जिम्मेवार निकायलाई आह्वान समेत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया