Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकले बैंकिङ प्रणालीमा १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पुनः १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सनलगायतका विभिन्न कोषमा रहेको रकम एक वर्षीय मुद्दती निक्षेपको रुपमा २०७७ फागुन २ गतेदेखि वि.सं. २०७८ फागुन १ गतेसम्मको लागि राख्न लागिएको हो ।

यसरी मुद्दती निक्षेपको रुपमा राखिने कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि आठ करोड ३९ लाख, विकास बैंकहरुको लागि एक करोड ५७ लाख र फाइनान्स कम्पनीहरुको लागि ५२ लाख रुपैयाँ छुट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने संस्थाहरुले यही माघ २० गते अपराह्न २ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्नेछ ।

रकम लगानीको लागि बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफामा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

आज १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दैै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः १० अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही माघ १२ गते पनि राष्ट्र बैंकले तीन अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

जारी मिति यही माघ २० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । आज बिक्री हुुने ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सोमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ फागुुन १८ गते तोकिएको छ भने ९१ दिने र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि क्रमशः २०७८ वैशाख १ गते र २०७८ साउन १९ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुने कुल ट्रेजरीमध्ये पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ भने पाँच अर्ब रुपैयाँको ट्रेजरी नयाँ रहेको छ ।

यसअघि यही माघ १२ गते राष्ट्र बैंकले ९१ दिने अवधिको तीन अर्ब ६० करोडको रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि सरकारको लागि दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोमध्ये चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधि अर्थात् यही कात्तिक मसान्तसम्ममा ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिक अवधिमा ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ ।

सोही योजनाअनुरुप आज सोमबार १० अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । चालू आवको तेस्रो चौमासिक अवधिमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया