Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयही वर्ष फाइभजी परीक्षण गर्न टेलिकमलाई निर्देशन

यही वर्ष फाइभजी परीक्षण गर्न टेलिकमलाई निर्देशन


काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फाइभजीको परीक्षण गर्न निर्देशन दिएका छन् । टेलिकमको स्थापनाको १७औं वार्षिकोत्सवका उनले ग्राहकको विश्वासप्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल साबित भएको मुलुककै अग्रणी दूरसञ्चार सेवाप्रदायकका रुपमा स्थापित गर्न लाग्नुपर्ने बताए । दूरसञ्चारको पूर्वाधार विकास गर्ने सम्बन्धमा मुलुकमा हाल विद्यमान ढिलाइ र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्न पनि उनले सुझाव दिए ।

यसैगरी उनले समग्र व्यवस्थापन, नीति, सेवागत क्षेत्रमा देखिएका चुनौतीहरुका समीक्षा गरी तिनलाई सम्बोधन गनुपर्ने आवश्यकता औंल्याए । कम्पनीको दीर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहिरहन रणनीतिक साझेदारीको व्यवस्था गर्नुपर्ने बताए । साथै प्रविधिको विकासक्रमअनुसार जीएसएम फाइभजी सेवाको विस्तारका लागि हाल उपलब्ध भइरहेको फ्रिक्वेन्सीको समुचित उपयोग गर्न पनि सुझाव दिए । कार्यक्रममा कम्पनीका सेवाहरुबारे कृत्रिम गुप्तचरको उपयोगमार्फत जानकारी हासिल गर्न सकिने च्याटबट सेवाको सफ्ट लन्च पनि गरिएको थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले महामारीका समयमा मानवीय सेवा र गतिविधिलाई निरन्तर, सहज र सामान्य बनाउनेतर्फ ग्राहकवर्गले उपयोग गरेका अनलाइन कक्षा, अनलाइन बैठक, अनलाइन किनमेललाई कम्पनीका सेवाहरुले निकै सहयोग गरेकाले यसलाई निरन्तरता दिन फोरजी र एफटीटीएच सेवाको विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताए ।

कार्यक्रमका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कम्पनीले नाफालाई मात्र प्राथमिकतामा नराखी मुलुकका सबै भूभाग र वस्तीहरुमा सेवा प्रदान गरेकोले नै कम्पनीको ग्राहकआधार अन्य सेवा प्रदायकहरुभन्दा बढी भए पनि राजस्वमा सोअनुरुप वृद्धि हुन नसकेको उल्लेख गरे । उनले पूर्वाधारको सहप्रयोगबाट कम्पनी थप लाभान्वित हुनसक्ने पनि बताए ।

नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्थाबारे जानकारी गराउँदै कम्पनीले १७औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी आकर्षक सुविधासहितको फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको सुुरुवात गरेको बताए । फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवाबाट एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाइ सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले सीपीई प्रयोग गरी सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् । उक्त सीपीईमा फोरजी डब्लुएचबीबीको सिमकार्ड प्रयोग गरी गुणस्तरीय र सस्तो डाटा सेवा प्रयोग गर्न सकिन्छ ।

हाल यो सेवा प्रतिमहिना नौ सय रुपैयाँमा ६० जीबी, एक हजार पाँँच सय रुपैयाँमा १२० जीबी, वार्षिक नौ हजार छ सय रुपैयाँमा ७२० जीबी र १६ हजार रुपैयाँमा एक हजार चार सय ४० जीबी उपलब्ध हुनेछ । व्यावसायिक उपकरणहरुबीच डाटा आदानप्रदान गरी सवारीसाधनलगायत अन्य उपकरणहरुको लोकेसन अपडेट गर्ने, लोजिस्टिक मेनेजमेन्ट गर्ने प्रयासहरु विश्वव्यापी रुपमै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले सुरु गरेको ‘मेसिन टु मेसिन डाटा र एसएमएस प्याक’ कार्यालय प्रयोजनका लागि आकर्षक हुने अपेक्षा गरिएको बताएको छ ।

यसै अवसरमा नेपाल प्रहरीलाई प्रविधिमा आधारित सेवा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले सात थान अत्याधुनिक कम्प्युटर प्रदान गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा कम्पनीले गरिब तथा असहाय बालबालिकाको मुटुको भल्भ फेर्ने कार्यमा शहीद गंगालाल राष्ट्रिय हृदयसँग सहकार्य गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको थियो । साथै कार्यक्रममा कम्पनीको सत्रौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका विमोचन गरिएको थियो ।

यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाहरुमा आवाज दिने कलाकारहरु, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरु, कोरोनाको महामारीमा कम्पनीसँग सहकार्य गरी स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाहरुलाई सम्मान तथा पदक प्रदान गरिएको थियो । साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

टेलिकमका ग्राहक हालसम्म दुई करोड नौ लाख पुगेको छन् । कम्पनीले ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोर जी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएको जनाएको छ । यसैगरी कोभिडबाट सिर्जना भएको असहज परिस्थितिमा पनि आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको आय ४२ अर्ब ९८ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा नौ अर्ब ७४ करोड पुगेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया