Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअल्झनमै रह्यो महाकाली सिँचाइ आयोजना

अल्झनमै रह्यो महाकाली सिँचाइ आयोजना


महेन्द्रनगर ।
कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर क्षेत्रफल सिँचाइ पु-याउने लक्ष्यका साथ सुरु गरिएको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माणकार्य अलपत्र परेको छ । करिब तीन वर्षअघि तीन प्याकेजमा १५ किलोमिटर मूल नहर निर्माणका लागि ठेक्का दिइएको भए पनि सरकारी प्रक्रियागत अल्झनका कारण समयावधि सकिँदासम्म एक किलोमिटर पनि नहर खन्ने काम हुन सकेको छैन ।

तीन वर्षभित्र काम सक्ने भनिए पनि ऐनाली जग्गाको क्षतिपूर्ति र नहर निर्माण क्षेत्रमा पनि सामुदायिक वनको रुख कटानको टुङ्गो नलाग्दा समस्या भइरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले जानकारी दिए । एक दशकअघि सुरु भएको यस आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रबाट १३ किलोमिटर मात्रै मूल नहर निर्माण गरिएको छ । ‘सरकारी पक्षको ढिलाइका कारण अहिले निर्माणाधीन १५ किलोमिटर नहरमा संरचना निर्माण मात्रै भए’, निर्देशक बमले भने, ‘तर नहर भने खन्न सुरु भएको छैन ।’

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा हुने मुआब्जा निर्धारण समितिको सिफारिसमा ऐलानी जग्गालाई मुआब्जा दिने विषय मन्त्रिपरिषद्को निर्णय हुन्छ । जिल्लाबाट निर्णयका लागि सिफारिस भएको लामो समय बितिसक्दा पनि सो कार्य मन्त्रालयमै अलपत्र छ । ‘वनको र मुआब्जाको काम चाँडै टुङ्गिने प्रक्रियामा रहेको खबर मात्रै आउँछ’, उनले भने, ‘यहाँ सोही विषय टुङ्गो नलाग्दा ठेकेदार पक्षले कामै गर्न पाएको छैन ।’

१५ किलोमिटर मूल नहर निर्माणका लागि दुई अर्ब ३० करोड रूपैयाँको ठेक्का सम्झौता भएको थियो । ‘यो वर्ष निर्माणका लागि ३१ करोड आएको थियो, त्यसमध्ये १३ करोड पुरानो भुक्तानी दियौँ’, निर्देशक बमले भने, ‘अहिले आयोजनासँग काम गर्न रकम नै छैन ।’ जग्गा र वनको विषय टुङ्गो नलाग्दा साइफन, पुल, कल्भर्टलगायतका अन्य संरचनामा मात्रै बनेका छन् ।

कैलालीको मालाखेतीसम्म एक सय ५१ किलोमिटरको नहर निर्माणका लागि २७ अर्ब रूपैयाँ लागत अनुमान गरिएको भए पनि आयोजना समयमा पूरा हुने सम्भावना न्यून रहेको छ । बितेको एक वर्ष कोरोना कहरका बेला पनि आयोजनाको निर्माण प्रभावित हुन पुग्यो । कोरोनापछि दैनिकी सामान्य बन्दै गइरहेका बेला निर्माण पक्षलाई सो अवधिको छ महिना म्याद थप भएको महाकाली सिँचाइ आयोजनाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया