भ्रष्टाचार नियन्त्रणमा प्रभाकारी कदम चाल : राष्ट्रपति
भ्रष्टाचारीलाई नडराई कारबाही गर, सरकारले हस्तक्षेप गदैँन : प्रधानमन्त्री, सार्वजनिक क्षेत्रको सूक्ष्म निगरानी गर्छौँ : अख्तियार प्रमुख
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापनाको ३० वर्ष पूरा भएको छ । आयोगको ३०औँ वार्षिकोत्सव प्रहरी प्रधान कार्यालय नक्सालमा एक कार्यक्रम आयोजना गर्दै बुधबार मनाइएको हो ।सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारीरुपमा कदम चाल्न आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण प्रभावकारीरुपमा हुन नसके राज्यका स्रोत दुरुपयोग गरी समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न कडाइका साथ प्रस्तुत हुन जरुरी देखिएको उल्लेख गरिन् । ‘मुलुकमा हुनसक्ने अव्यवस्था, बेथिति र गैरकानुनी विचलनलाई समूलरुप अन्त्य गर्न सके मात्र समष्टिगतरुपमा भ्रष्टाचार न्यूनीकरण हुँदै जानेछ’, राष्ट्रपति भण्डारीले भनिन् ।
आयोगले आफ्नो प्रतिवेदनमार्फत सुझाएका सार्वजनिक हित र सरोकारका विषयको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकताका साथ काम गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।भ्रष्टाचार र अख्तियार दुरुपयोगविरुद्ध परेका उजुरीहरूको छानबिन र अभियोजनमा आयोगले निष्पक्षता, तटस्थता र निर्भीकतालाई मूल मन्त्र मानी कार्य गर्नेछ र राज्यलाई सुशासन र समृद्धिको मार्गमा सबभन्दा ठूलो अभिभाराका साथ योगदान गर्नेछ भन्ने अपेक्षा गरेको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि राज्यले लिएका निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक रणनीतिको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आयोग सक्रिय बन्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।
नडराई काम गर्नुस्, सरकारले हस्तक्षेप गर्दैन : प्रधानमन्त्री
सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने बताए । अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनु रहेकाले सरकारले उक्त कार्यमा सहयोग गर्ने उनको भनाइ थियो । कार्यक्रममा उनले भने, ‘कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम छ, त्यो होइन र हुँदैन ।’
संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्न सुझाव दिँदै उनले भ्रष्टाचारी जोसुकै भए पनि दण्डित गर्न आग्रह गरे । सरकारले अख्तियारको कामका कुनै अवरोध नगर्ने उनले प्रष्ट पारे । अख्तियारको काम सन्तोषजनक रहेको भन्दै उनले सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ भन्ने कुराको पुष्टि व्यवहारबाटै प्रष्ट हुने बताए । भ्रष्टाचारसम्बन्धी समाचार लेख्दा सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।
भ्रष्टाचार निवारणका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक भएको बताउँदै उनले भने, ‘संवैधानिक निकाय उत्तरदायित्व बोकेको गम्भीर संस्था हुनुपर्छ, कानुनको नजरमा सबै बराबर हुन् भन्ने ढङ्गले काम गर्नुपर्छ ।’ तर कारबाही गर्दा निर्दोषलाई कुनै पनि हालतमा दोषी नबनाउन र हचुवा तालले मुद्दा दायर नगर्न प्रधानमन्त्रीले आयोगलाई सुझाव दिए ।
भ्रष्टाचार नियन्त्रणमा सघाउन आग्रह गर्दै उनले सरकारले पछिल्लो समय भ्रष्टाचार निवारणका लागि नागरिक एप्स ल्याएको दाबी गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण सबैको साझा मुद्दा भएकाले धाक लगाउने र तर्साउनेदेखि नडराउन आयोगलाई सुझाव दिए । उनले आयोगका पदाधिकारीलाई निडर भएर काम गर्न आग्रह गरे ।
सार्वजनिक क्षेत्रको भ्रष्टाचार रोक्न सूक्ष्म निगरानी गर्छौ“ : प्रमुख राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक क्षेत्रमा हुने अनियमितता, घुसखोरी र बिचौलिया धन्दा रोक्न सूक्ष्म निगरानी बढाइने बताए । अनियमितता गर्नेलाई कारबाहीको दायरामा लैजान आयोग सक्रिय हुने विश्वास दिलाउँदै उनले भने, ‘जनताले पाउनुपर्ने स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा, कृषि अनुदान र मलखाद, नागरिकता तथा राहदानी, विभिन्न प्रकारका सिफारिस, सवारी चालक अनुमतिपत्र, मालपोत तथा जग्गा रजिस्ट्रेसन, श्रम स्वीकृतिलगायत क्षेत्रमा हुने घुसखोरी, बिचौलिया धन्दा रोक्न सुक्ष्म निगरानी बढाउँछौँ । गलत कार्य एवं अनियमिततालाई कारवाहीको दायरामा लैजाने विषय आयोगको उच्च प्राथमिकतामा रहन्छ ।’
कार्यक्रममा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, विभिन्न सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिवहरु, अन्य विशिष्टि कर्मचारी, सुरक्षा अधिकृतलगायतको उपस्थिति थियो । सो अवसरमा भ्रष्टाचार नियन्त्रणका लागि उत्कृष्ट काम गर्ने विभिन्न कर्मचारी तथा सुरक्षाकर्मीलाई राष्ट्रपति भण्डारीले नगद र ताम्रपत्रसहित सम्मान गरेकी थिइन् । सम्मानित हुनेमा उत्कृष्ट अनुसन्धानकर्तातर्फ सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने र प्रहरी निरीक्षक राजु अधिकारी छन् । उनीहरू दुवैलाई जनही २५ हजार तथा ताम्रपत्रसहित सम्मानगरिएको थियो ।
यस्तै सम्मानित हुनेहरूमा उत्कृष्ट कर्मचारीतर्फ सहसचिवद्वय नारायणप्रसाद सापकोटा र शिवकुमार कार्की, उपसचिवतर्फ नारायणप्रसाद दाहाल र धर्मअवतार कोइराला, सिनियर डिभिजनल इञ्जिनीयर महेशप्रसाद यादव, उपसचिव मेघनाथ रिजाल र शिवराज रेग्मी, प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, प्रहरी नायब उपरीक्षकद्वय मोहनकुमार थापा र केशव भट्टराई, शाखा अधिकृत कृष्णबहादुर दाहाल, इञ्जिनीयर ज्योति तामाङ, नापी अधिकृत प्रशान्त घिमिरे, शाखा अधिकृतद्वय कुलचन्द्र पराजुली र सुरेशचन्द्र अधिकारी, इञ्जिनीयर रजल श्रेष्ठ, शाखा अधिकृत रामकृष्ण पाठक तथा कम्प्युटर अपरेटर कुमारी लामा छन् ।
सोही समारोहमा निबन्ध लेखनतर्फ प्रथम, द्वितिय र तृतीय हुनेहरूलाई प्रधानमन्त्री ओलीले नगद तथा सम्मानपत्र प्रदान गरेका थिए । निबन्ध लेखनतर्फ कञ्चनपुरकी नम्रता पौडेल प्रथम, काठमाडौँकी पूजा सुवेदी द्वितिय तथा भक्तपुरका लक्ष्मण दुलाल र दाङका सुदीप रिजाल तृतीय भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया