Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखुम्बुमा कुकुरको व्यवस्थापनमा चुनौती

खुम्बुमा कुकुरको व्यवस्थापनमा चुनौती


सोलुखुम्बु ।
मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा कुकुरको बिगबिगी बढेको छ । तल्लो क्षेत्रबाट जाने आन्तरिक तथा बाह्य पर्यटकको साथमा खुम्बु प्रवेश गर्ने कुकुरको संख्या बढ्न थालेपछि नाम्चे बजारमा समस्या हुन थालेको व्यवसायीहरूले बताएका छन् ।

नाम्चे बजारमा करिब डेढ सयको हाराहारीमा सामुदायिक कुकुर रहेको नाम्चे युवा समूहका अध्यक्ष पाल्देन शेर्पाले बताए । कुकुरले गर्दा बजार क्षेत्रमा फोहर समेत बढ्दै गएको उनले बताए । उनले भने, ‘पर्यटकको साथमा खुम्बु क्षेत्र उक्लने कुकुरले खुम्बुलाई नै बासस्थान बनाउने र नफर्कने समस्याले कुकुर भिड बढेको छ ।

कुकुरको संख्या बढ्दै गएपछि व्यवस्थापन चुनौती थपिएको शेर्पाको भनाइ छ । कुकुरको प्रजननले संख्या बढाउन सहयोग पुगेको र नियन्त्रणमा समस्या उत्पन भएको बताइएको छ । पर्यटकीय सिजनमा कुकुरले खानेकुरा पाउने भए पनि चिसो सिजनमा होटल व्यवसायीहरूले खुम्बु छाड्दा सामुदायिक कुकुरको अवस्था साह्रै नाजुक हुने नाम्चेका समाजसेवी छिमिकाल्देन शेर्पाले बताए ।

बढ्दो मात्रामा रहेको सामुदायिक कुकुरको व्यवस्थापनका लागि नाम्चे युवा समूहले योजना बनाइरहेको अध्यक्ष पाल्देनले बताए । उनले भने, ‘कुकुरको व्यवस्थापन गर्न नसके दुर्घटना निम्त्याउने जोखिम समेत बढेको छ । स्थानीय सरकारको समन्वयमा कुकुर व्यवस्थापन गर्नेगरी समूहमा छलफल चलेको छ ।’ कुकुरको संख्या बाक्लिएपछि नाम्चे पुग्ने पर्यटक र होटल व्यवसायीमा त्रास समेत बढेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया