Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधद्रुतमार्ग खुलेपछि बस्ती विस्तार तीव्र

द्रुतमार्ग खुलेपछि बस्ती विस्तार तीव्र


डोटी ।
यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र बढेको छ । कैलालीबाट विपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने द्रुतमार्ग खुलेपछि बस्ती विस्तारमा वृद्धि भएको हो । सुरुआतीका समयमा सुनसान रहेका यहाँका बस्ती अहिले बाक्लिँदै गएका छन् । बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार विस्तार हुन थालेको छ । बजार विस्तारले घरजग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यापारी सुनिल विष्टले जानकारी दिए ।

उनका अनुसार पहिले यहाँ व्यापार खासै थिएन, अहिले द्रुतमार्ग खेलेपछि जग्गा कारोबारदेखि अन्य व्यापार व्यवसाय पनि राम्रो फस्टाएको छ । द्रुतमार्ग खुलेपछि कैलालीको, हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको विपीनगर, तेलपरा, घोडीलास, खसरे, निरौली, सेरा, खहडालगायतका दर्जनौं स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार विस्तारको तयारी भइरहेको स्थानीयवासी बताउँछन् ।

यसअघि यी गाउँमा जग्गाको कारोबार खासै नहुने गरेको गड्सेराका स्थानीयवासी लालबहादुर कामीले बताए । उनले भने, ‘बीच खेत भएर द्रुतमार्ग खुलेको छ, अहिले त यहाँ बजार विस्तारका लागि जग्गा किन्नेको हानथाप छ, जग्गा पनि महँगो हुँदै जान थालेको छ ।’ उनका अनुसार सडक आसपास क्षेत्रमा जग्गाको मूल्य आकासिएको छ । सडक बनेपछि ग्रामीण भेग दिनहुँ व्यापारिक केन्द्रमा परिणत हुँदै जान थालेका छन् । यहाँका गाउँका जग्गाको मूल्य सदरमुकाम सरह हुन थालेको छ । यहाँका गाउँको बाटो हुँदैे द्रुत मार्ग पुगेपछि पसल, होटलसँगै व्यापारिक कारोबार बढेको स्थानीयवासीको भनाइ छ ।

डोटीका ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेपछि स्थानीयवासीको जीवनस्तरमा परिवर्तन हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिए । उनका अनुसार द्रुत मार्ग खुलेपछि यहाँका ग्रामीण क्षेत्र व्यापारी केन्द्र बन्न थालेका छन्, आवश्यक पर्ने सामग्री गाउँमै पाइन थालेपछि ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम आउन करिब–करिब बन्द भएका छन् । यहाँका विपीनगर, खसरे, निगाली तथा शिवनगर क्षेत्रमा ठूला–ठूला पसल तथा होटेल निर्माण भई सञ्चालनमा समेत आउन थालेको स्थानीयवासी बताउँछन् ।

पछिल्लो समय ती स्थानमा घरजग्गाको मूल्य अकासिएको छ । द्रुतमार्गले छोएका सडक आसपासमा धमाधम घरघडेरी निर्माण भइरहेका छन् । यहाँको विपीनगर तथा शिवनगर क्षेत्रमा विगतमा दुई लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयवासी बताउँछन् । गाउँका जग्गा सस्तोमा बेचेर सहरी क्षेत्रमा गएका समेत द्रुतमार्ग खुलेपछि पुनः गाउँ फर्कन थालेको बडीकेदार गाउँपालिका–१ विपीनगरका स्थानीय रोजबहादुर कँलेलले बताए ।

उनले भने, ‘विगतमा गाउँमा सेवा सुविधा नभएको भन्दै तराई झरेका पनि अहिले द्रुतमार्ग खुलेपछि गाउँ फर्किन थालेका छन्, द्रुतमार्गले चहलपहल बढाएको छ ।’ सदरमुकामका प्रतिष्ठित व्यापारीले समेत यहाँका विपीनगर तथा शिवनगर क्षेत्रमा लगानी गर्न थालेको बताइएको छ । हावापानी अनुकूल हुनु र गाउँमै यातायात पहुँच पुगेपछि लगानी भित्रिन थालेको स्थानीयवासीको बुझाइ छ । यही कारण पसल, होटेल तथा कृषि फर्म गाउँमै खुल्न थालेको उनीहरू बताउँदछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया