Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखुला सीमा क्षेत्र हुँदा दोधारा चाँदनीमा अवैध कारोबार बढ्दै

खुला सीमा क्षेत्र हुँदा दोधारा चाँदनीमा अवैध कारोबार बढ्दै


कञ्चनपुर ।
अवैध कारोबार रोक्न नेपालसँग सीमा जोडिएका खुला नाका क्षेत्रमा नेपाल सरकारले सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोर्डर आउट पोस्ट स्थापना गरे पनि जिल्लाको पश्चिमी क्षेत्र दोधारा चाँदनीको भारतसँग जोडिएको खुला सीमा क्षेत्रमा अवैध कारोबार रोकिएको छैन । दोधारा चाँदनीको खुला सीमा क्षेत्रमा स्थानीय दैनिक उपभोग्य समान ल्याउने स्थानीयहरूलाई सीमा सुरक्षाकर्मीहरूले कडाइ गर्दै आए पनि रातीको समयमा हुने खुला सीमा क्षेत्रमा अवैध तस्करी तथा कारोबार नरोकिएको स्थानीयहरूले बताउँदै आएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सीमा क्षेत्रमा गरिएको रोकटोकले अवैध कारोबार ह्वात्तै बढेको स्थानीयहरूको ठहर छ । अहिले भारतीय बजारबाट अवैध मार्ग हुँदै चिनी, कस्मेटिक, तयारी पोषाक, सूर्तीजन्य पदार्थ, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयरका सामानहरू, किरानाका सामानहरू, कपडा, खाद्यान्न, इलेक्ट्रोनिकका सामानहरू मध्यरातमा तस्करी हुँदै नेपाल भित्रिँदै आएको बताइएको छ ।

उक्त कार्यमा भारतीय र नेपालीहरूको एक गिरोह सक्रिय रहेका छन् । नेपाल आउन प्रतिबन्ध गरिएको पन्छीजन्य कुखुरा र तिनका चल्ला समेत अहिले दोधारा चाँदनीको सीमा क्षेत्रबाट तस्करी हँदै नेपाल आइरहेको स्थानीयहरूको भनाइ रहेको छ । दोधारा चाँदनीको झण्डै ३५ किलोमिटर क्षेत्रमा फैलिएको नेपाल–भारत सीमा क्षेत्रको खुला सीमा क्षेत्रमा रातिको समयमा अवैध कारोबार बढेर गएको छ ।

स्थानीयका अनुसार महाकाली झोलुङ्गे पुल क्षेत्रमा सुरक्षा व्यवस्था कडा भएको कारण निमार्णधीन महाकाली पक्की पुल अहिले अवैध कारोबार गर्नेहरूको लागि सहज मार्ग भएको छ । नेपाल सरकारले दोधारा चाँदनीको तीन स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोस्ट स्थापना गरेको छ ।

दोधारा चाँदनीको वडा नं. १ बैलबन्द, वडा नं. ३ छोटी भन्सार नजिक र वडा नं. ८ र १० नजिक सुन्दरनगर झोलुङ्गे पुल नजिक सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोस्ट स्थापना गरेपछि उनीहरूको तस्करी मार्ग परिवर्तन भएको हो । सरकारले सुरक्षा पोस्ट बढाए पनि तस्करी नियन्त्रणलाई रोक्न सकेको छैन । तस्करहरूले रातिको समयमा मोटरसाइकल र साइकलको सहाराबाट सीमा क्षेत्रमा अवैध समान आयात–निर्यात गर्दै आएको बताइएको छ ।

महाकाली नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा रात परेसँगै सीमावर्ती बजारहरूमा चहलपहल बढ्ने गरेको बताइएको छ । मध्यरातमा आलु, प्याज, माछा, कुखुरा अण्डा, व्यापारिक समानलगायतका खाद्य तथा अखाद्य पदार्थ नेपालतर्फ भित्र्याउने र नेपालतर्फबाट कस्मेटिकलगायत समान अवैधरूपमा ओसारपसार हुनेगरेको स्रोतको दाबी छ ।

नेपाल–भारत खुला सिमानाको अनुचित फाइदा उठाउँदै कारोबारीले सीमावर्ती भारतीय बजारबाट कस्मेटिकलगायत खाद्य तथा अखाद्य पदार्थ आयात–निर्यात गर्दै आएका भए पनि सरोकारवालाहरूले यस सम्बन्धमा खासै चासो नदेखाएको एक स्थानीयले बताए ।

उनका अनुसार सीमाक्षेत्रमा मदिराको तस्करी बढेको छ । नेपालमा सस्तो पाइने मदिरा भारतमा महँगोमा बेच्नका लागि स्थानीय तस्करहरूले मदिरा अवैधरूपमा भारत निकासी गर्नेगरेका छन् । भारतीय बजार क्षेत्रमा भारत सरकारले मदिरा उत्पादन र जहाँतहीँ बिक्रीवितरणमा पूर्णरूपमा निषेध गरिएपछि अहिले दोधारा चाँदनीको सीमावर्ती क्षेत्र भएर धमाधम मदिरा तस्करी हुनेगरेको हो ।

नेपालबाट भारतमा घरेलु मदिरासंगै सोफी, लिचीजस्ता मदिराको अवैध निकासी हुनेगरेको छ । मदिरा तस्करी बढेपछि अहिले सीमावर्ती क्षेत्रमा झुप्रे मदिरा पसलहरू थपिँदै गएका छन् भने कारोबारमा समेत वृद्धि भएको छ । यता सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सीमामा सबै प्रकारको तस्करी रोक्न प्रयास गरेको बताएको छ ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीका सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले सिमानामा हुने अवैध ओसारपसार रोक्न सशस्त्र प्रहरीले चनाखो भएर काम गरिरहेको बताए । कहिलेकाहीँ तस्करले सुरक्षाकर्मीको आँखा छलेर यस्ता कार्य गर्नेगरेको उनको भनाइ छ । कहिलेकाहीँ तस्करी गर्ने मान्छेले आँखा छल्ने मौका पाइरहेको बुझिन आएकोले आगामी दिनमा यस्ता अवैध कारोबारमा नियन्त्रण गर्न अझै कडाइका साथ लाग्ने उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया