Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोलुखुम्बुमा फोरजी सेवा सुचारु

सोलुखुम्बुमा फोरजी सेवा सुचारु


काठमाडौं  ।
हिमाली जिल्ला सोलुखुम्बुमा फोरजी सेवा सुचारु भएको छ । जिल्लामा निर्माण गरिने ३८ वटा फोर लेग टावरमध्ये छवटा टावर निर्माणसम्पन्न गरी सुचारु भएको नेपाल टेलिकम कार्यालय ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए । उनका अनुसार सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको कांगेलमा निर्माण भएका टावरबाट सेवा सुचारु गरिएको हो ।

यस्तै, सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्याङबोचेमा यसअघि नै सेवा सुचारु भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि टावर निर्माणसम्पन्न गरिएको र केही दिनभित्र सेवा सञ्चालन गरिने प्रमुख पन्थीको भनाइ छ । उता, छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावरमध्ये चारवटा टावर सुचारु भएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार, खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा सेवा सुचारु भएको छ ।

यस्तै, केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम बिर्तामा २० दिनभित्रमा सेवा सुचारु हुने गरी काम भइरहेको बताइएको छ । त्यस्तै ओखलढुंगा जिल्लामा पनि फोरजी सेवा सुचारु भएको छ । २५ वटा फोर लेग टावरमध्ये छवटाबाट फोरजी सेवा सुचारु भएको टेलिकम शाखा कार्यालय ओखलढुंगाले जनाएको छ । सिद्धिचरण नगरपालिकाको वीरेन्द्रपार्क, तलुवा, ओखलढुंगा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा सुरु भएको हो । साथै अन्य टावरहरुमा एन्टिना राख्ने कामसँगै लिंक मिलाउने काम भइरहेको पन्थीको भनाइ छ ।

हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआई)ले रेडियो एक्सेस नेटवर्क (-यान) एवं जेडटीईले सामाग्री जडानको काम गरिरहेको छ । अहिले नेपालमा टेलिकमका सक्रिय फोरजी प्रयोगकर्ता ३० लाख बढी नाघेको टेलिकमले जनाएको छ । पहिला नेट चलाउनकै लागि आधा घण्टा हिँडेर इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै सेवाग्रहले खुसी व्यक्त गरेका छन् । गाउँ–गाउँमा फोरजी सेवा सुचारु भएसंगै अग्लो डाँडा चढनुपर्ने, टाढा–टाढा हिँडेर जानुपर्ने बाध्यता हटेको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुका सुजन खत्रीले बताए ।

विकट जिल्लामा फोरजी सेवा सुचारु भएसँगै घरैमा बसेर सामाजिक सञ्जालको माध्यमबाट विश्वका विभिन्न क्षेत्रलाई नजिकैबाट नियाल्न सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका कविराज रिजालको भनाइ छ । फोरजी केही महिनाअगाडि नै ७७ वटै जिल्लामा विस्तार भइसकेको टेलिकमले घोषणा गरिसकेको थियो । टेलिकमको फोरजी विस्तारको कुल लागत १८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

नेपाल टेलिकमको फोरजी सेवाको पहुँच हालसम्म छ सय १५ स्थानीय तहमा पुगेको छ भने देशैभर फोरजीको पहुँच पु-याउने गरी २०७५ पुसमा सम्झौता गरी कामअगाडि बढाएको थियो । नेपाल टेलिकमले गत पुस मसान्तसम्ममा २९ सय ५५ स्थानमा ५१ सय ७६ वटा बीटीएस टावरमार्फत फोरजी सेवा उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण काममा केही ढिलाइ भए पनि अहिले भने द्रुतगतिमा काम भइरहेको टेलिकम कार्यालयले ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया