जाजरकोट ।
वर्षेनी वनजंगल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो ।
जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिकामा चिउरीको जंगल मासिने क्रम बढेको छ । पशु चौपायालाई घाँस खुवाउनसमेत चिउरीकै प्रयोग गर्दा फूल उत्पादनमा कमी आएको हो । घर निर्माण गर्दा काठका रुपमा समेत जथाभावी सामुदायिक वन समूहबाट चिउरी कटान गरेपछि समस्या थपिएको छ । चिउरी संरक्षण गर्नुपर्ने ठाउँमा जथाभावी कटान गरेपछि निकै समस्या आएको प्रधानमन्त्री कृषि आधुनिक परियोजना जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए ।
अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा मह उत्पादनमा ५० प्रतिशत गिरावट आएको प्रमुख बस्नेतको भनाइ छ । त्यस्तै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले पर्या–प्रणालीमा सबै एक अर्कासँग सम्बन्ध राख्ने भएकाले वनजंगल संरक्षण गर्नु नै पहिलो दायित्व भएको बताए । उनले भने, ‘अब चिउरी संरक्षणमा जोड दिनका लागि सचेतनामूलक कार्यक्रम गरी सबैलाई बुझाउनुपर्ने आवश्यकता महसुस भएको छ । मह उत्पादन भेरी नगरपालिका–१ मा बढी हुने भएकाले त्यसमा हामी विशेष जोड दिन्छौँ ।’
जाजरकोटको ब्राण्डका रुपमा स्थापित भएको सेरेना मौरीको मह वर्षेनी उत्पादनका गिरावट आउँदा सरोकारवाला निकाय चिन्तित भएको मौरी जोनले बताएको छ । बहुउपयोगी चिउरीका अनेक गुण रहेका छन् । पानीको मुख्य स्रोतदेखि यसको फलबाट उत्पादन हुने विभिन्न वस्तुबाट समेत राम्रो आम्दानी गर्न सकिन्छ ।
समुद्र सतहबाट दुई सयदेखि एक हजार पाँच सय मिटरसम्मका भिरपाखा, नदी किनार तथा खोचमा हुर्किने चिउरीको रुख १५ देखि २० मिटरसम्म अग्लो हुन्छ । घमाइलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धाइरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्किन्छ । चिउरीको एउटा बोटबाट ५० देखि एक सय ५० किलोग्रामसम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षका रुपमा लिइन्छ । हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कात्तिकदेखि माघसम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र एकदेखि तीन वटासम्म बिजुला हुन्छन् ।
चिउरीको पात गाईवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । यसको घिउ खान (तरकारी पकाउन र सेल रोटी पकाउन) र औषधिका रुपमा (खुट्टा फुटेकामा, घुँडा दुखेकामा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ । चिउरीको घिउ साबुन र मैनबत्ती बनाउन उपयोगी हुन्छ । पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र कीटनाशक औषधि बनाउन सकिन्छ ।
चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ । यसको फल सिधै खाए पनि हुन्छ र यसबाट जुस, जाम बनाउन र रक्सी बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ । चिउरीको बीउबाट बिरुवा उमारेर रोप्नु राम्रो हुने डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठले जानकारी दिए । असार–साउनमा पाकेर पहेंलो भएको फलबाट बीउ निकाल्नुपर्छ । बीउलाई धोएर छायाँमा सुकाइने गरिन्छ ।
फलबाट निकालेको सात दिनभित्र रोपेको बीउ राम्ररी उम्रन्छ । पात कुहेर बनेको जङ्गलको मलिलो माटो एक भाग, बालुवा एक भाग र राम्ररी पाकेको गाईवस्तुको मल एक भाग मिलाएको माटोमा १२ घण्टा अगाडिदेखि भिजाएको बीउ चार अंगुल जति गाडेर रोप्नुपर्छ । असार, साउन र भदौसम्म नै बीउ रोप्न सकिन्छ । चिउरी रोपेको १२ वर्षदेखि ७० वर्षसम्म राम्रो फल्ने विज्ञको भनाइ छ । फल संकलन गर्ने चिउरीको बोट राष्ट्रिय वनमा भए इजाजत लिनुपर्छ र बिक्री गर्नुअघि एक किलोग्रामको तीन रुपैयाँ राजस्व तिर्नुपर्छ । जाजरकोटका वन जङ्गलमा जथाभावी संकलन कार्य हुँदै आएको छ ।
सामुदायिक वन भएकाले यहाँ कुनै खास नियम निर्माण नगरी जथाभावी संकलन गरिँदै आएको छ । जाजरकोटमा कति प्रतिशत चिउरी छ भन्ने एकीन तथ्यांक भने संकलन भएको छैन । जिल्ला समुद्र सतहबाट छ सय १० देखि पाँच हजार चार सय ३५ मिटर उचाइसम्म फैलिएको छ । जिल्लामा कुल वनजंगलले ढाकेको क्षेत्रफल एक लाख २४ हजार पाँच सय ९८ हेक्टर छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया