सात महिनामा सात खर्ब ३३ अर्बको व्यापारघाटा
७९ अर्बको निर्यात हुँदा आठ खर्बको सामान आयात
काठमाडौं ।
नेपालले चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा सात खर्बभन्दा बढीको वैदेशिक व्यापारघाटा व्यहोरेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आवको सात महिनाको प्रतिवेदनअनुसार कुल वस्तु व्यापारघाटा शून्य दशमलव सात प्रतिशतले घटेर सात खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा पाँच दशमलव ५३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव सात प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव ८१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चालू आवको सात महिनामा कुल वस्तु निर्यात भने सात दशमलव छ प्रतिशतले बढेर ६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२ दशमलव चार प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १० प्रतिशत र चार दशमलव नौ प्रतिशतले निर्यात बढे पनि चीनतर्फको निर्यातमा ४७ दशमलव सात प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको भए पनि पाम तेल, दाल, जस्तापाता, जुस, तारलगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा कुल वस्तु आयात शून्य दशमलव शून्य एक प्रतिशतले बढेर आठ खर्ब तीन अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात तीन दशमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात सात दशमलव एक प्रतिशतले बढे पनि चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२ दशमलव चार प्रतिशत र १० दशमलव आठ प्रतिशतले कमी आएकोे छ ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, एमएस बिलेट, सुन, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढे पनि चालू आवको सात महिनामा पेट्रोलियम पदार्थ, हवाइजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, भिडियो, टेलिभिजन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७७ माघ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक तीन प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक एक दशमलव एक प्रतिशतले बढेको छ । २०७६ माघ महिनामा चार दशमलव चार प्रतिशतले घटेको व्यापारको शर्त २०७७ माघ महिनामा एक दशमलव नौ प्रतिशतले बढेको छ ।
खुद सेवा आय ३२ अर्ब रुपैयाँले घाटामा
मुलुकको खुद सेवा आय चालू आर्थिक वर्षको सात महिनामा ३२ अर्ब तीन करोड रुपैयाँले घाटामा देखिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय तीन अर्ब आठ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१ दशमलव नौ प्रतिशतले कमी आई तीन अर्ब ८७ करोड कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४८ अर्ब एक करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ५६ दशमलव सात प्रतिशतले कमी आई १८ अर्ब ८५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय १५ अर्ब ५८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रहेकोमा शिक्षातर्फको व्यय २० अर्ब ९७ करोेड रहेको थियो ।
रेमिट्यान्समा १० प्रतिशत वृद्धि, सात महिनामा पाँच खर्ब ६७ अर्ब भित्रियो
वैदेशिक रोजगारीबाट हुने आय विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा रेमिट्यान्स रकम १० दशमलव नौ प्रतिशतले बढेर पाँच खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव सात प्रतिशतले घटेकोे थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ दशमलव सात प्रतिशतले बढेर चार अर्ब ८१ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले घटेकोे थियोे । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५ दशमलव नौ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१ दशमलव सात प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७ दशमलव चार प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव छ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आठ दशमलव आठ प्रतिशतले बढेर छ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर एक दशमलव पाँच प्रतिशतले घटेकोे थियो ।
कुल विदेशी मुद्रा सञ्चिति १४ खर्ब ६२ अर्ब नाघ्यो
कुल विदेशी मुुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चार दशमलव तीन प्रतिशतले बढेर २०७७ माघ मसान्तमा १४ खर्ब ६२ अर्ब तीन करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा आठ प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ माघ मसान्तमा पाँच प्रतिशतले वृद्धि भई १२ खर्ब ८७ अर्ब ५० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ माघ मसान्तमा शून्य दशमलव सात प्रतिशतले घटेर एक खर्ब ७४ अर्ब ५३ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार २०७७ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव आठ प्रतिशत रहेको छ ।
चालू खाता एक खर्ब एक अर्ब रुपैयाँले घाटामा
मुलुकको चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पछिल्लो सात महिनाको प्रतिवेदन अनुसार चालू खात एक खर्ब एक अर्ब ९० करोड रुपैयाँले घाटामा देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब छ अर्ब रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड छ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर पाँच दशमलव सात प्रतिशतले कमी आई सात अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव तीन प्रतिशतले कमी आई नौ अर्ब दुई करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर आठ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया