Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवन्यजन्तु संरक्षणमा सिमसारको महत्व

वन्यजन्तु संरक्षणमा सिमसारको महत्व


काठमाडौं ।
वर्तमान समयमा जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै लोकप्रिय बनेको कुरा तपाइँहामी सबैलाई ज्ञात नै छ । यसले के–कति कुराहरू समेट्छ भन्ने बारेमा सम्बन्धित विज्ञहरूमा मतैक्यता पाइन्न । विभिन्न विद्वान तथा पर्यावरण विज्ञहरूका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण वा जैविक वस्तु हामी हाम्रैवरिपरिका प्राकृतिक वस्तुहरू, जैविक तथा अजैविक भौतिक वस्तुहरू, सामाजिक तथा मानव निर्मित सांस्कृतिक संरचना तथा तिनबाट मानव तथा अन्य प्राणी र मानिसका आर्थिक तथा जैविक गतिविधिको अन्तरक्रियाबाट सिर्जित सम्पूर्ण सजीव तथा निर्जीव वस्तुलाई असर पार्ने परिवेशले हरेक तत्वलाई एक आपसमा आत्मनिर्भर बनाएको हुन्छ ।

पृथ्वीमा भएका अनेकौँ तत्वहरूमध्ये कुनै एकको घटी वा बढीले अरुलाई समेत प्रभाव पार्दछ । अझ भन्ने हो भने अन्य प्राणी वनस्पति तथा समग्रमा मानव जातिको अस्तित्वमा समेत प्रश्न चिह्न खडा गर्न सक्दछ । त्यसकारण पृथ्वीमा भएका विविध तत्वको आत्मनिर्भरताका कारणले गर्दा नै मानवजातिले पर्यावरणको वचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखापरेको छ ।

पर्यावरणमा देखिने असन्तुलनले मानिस, वन्यजन्तु, सामाजिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित हुन्छन् । यस लेखमा सिमसारको संरक्षण तथा सदुपयोगबाट वन्यजन्तु संरक्षण र वातावरण सुधार गरी आन्तरिक पर्यटनको विकासद्वारा स्थानीय सामुदायको जीवनस्तर उठाउनेबारे चर्चा गर्ने प्रयास गरिएको छ । सिमसार रसिलो भूमि हो । यहाँ जमीन लुक्दैन र पानी सुक्दैन । सिमसारको मुख्य दुई विशेषता भनेको पानी र जमीन हो ।

सिमसार क्षेत्र विश्वकै सबैभन्दा बढी उत्पादनशील पारिस्थितिकीय प्रणाली मानिन्छ । भू–क्षय न्यूनीकरण, पानी शुद्धीकरण एवं भण्डारण, बाढीको पानी संकलन एवं रोकथाम, खोलामा पानीको स्तर नियन्त्रण आदि सिमसार क्षेत्रको विशेषता हुन् । तर विडम्बना, नेपालको इतिहासमा अहिले सबैभन्दा बढी वन विनास र अतिक्रमण भएको पाइन्छ । पछिल्लो दुई वर्षको अवधिमा मात्र लगभग ९० हजार हेक्टर वनक्षेत्र अतिक्रमित भइसकेको छ । यसको कारण बिग्रँदो राजनीतिक परिवेश र निहित स्वार्थ हो । अहिले हामी भने इतिहासमै कालो धब्बामा रहेको वन अतिक्रमणको चपेटामा परेका छौँ । सो कारणले वन्यजन्तुको वासस्थान विनाश भई वन्यजन्तुहरू लोप भइरहेका छन् ।

नेपालमा राष्ट्रिय ताल संरक्षण विकास समितिको अनुसार पाँच हजार तीन सय ५८ वटा सिमसार क्षेत्र पहिचान गरिसकेको छ । जसमध्ये समुन्द्री सतहदेखि पाँच सय मिटरभन्दा मुनि अवस्थित २७१२ वटा तालहरू (५१󠅜 प्रतिशत) रहेका छन् भने दुई हजार दुई सय २७ वटा (४२ प्रतिशत) तालहरू तीन हजार मिटरभन्दा माथि अवस्थित छन् । जबकि चार सय १९ वटा तालहरू (८ प्रतिशत) मध्यपहाडी भागमा अवस्थित छन् । नेपालमा तीन हजार दुई सय ५२ हिमनदी र दुई हजार तीन सय २३ हिमाताल छन् ।

कृषि विकास विभागको प्रतिवेदनअनुसार नेपालमा पाँच हजार ताल, एक हनार तीन सय ८० जलाशय, पाँच हजार एक सय ८३ घरेलु पोखरी रहेका छन् । विश्व संरक्षण संघ नेपालको अनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन् भने, ७९ सिमसार हिमाली र पहाडी क्षेत्रमा रहेका छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये एक सय ९३ प्रजातिका चरा सिमसारमा आश्रित छन् । दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा पाइन्छ । ३७ प्रजातिका किटपतङ्ग, एक सय ८५ प्रजातिका माछा, ३६ प्रजातिका उभयचर, ८० प्रजातिका घस्रने जन्तु एक सय ९३ प्रजातिका चराचुरुङ्गीहरू सिमसार क्षेत्रमा पाइन्छ ।

नेपालमा झण्डै ८,१९,२७७ हेक्टरको क्षेत्रफलमा सिमसार क्षेत्र फैलिएको छ । जुन तलको तालिकामा प्रस्तुत गरिन्छ । वर्तमान समयमा वातावरण वा पर्यावरणलाई अति महत्वका साथ हेर्नुपर्ने हुन्छ । विश्वमा हरेक देशका योजनाकार र नीति निर्माताहरू पर्यावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा पुगेका छन् ।

यो परिणाम विगतमा मानिसले पर्यावरणप्रति गरेको बेवास्ताको फलस्वरूप नै विभिन्न समस्या आएको हो । विगतका कार्य, समयको क्रममा तिनीहरूबाट उत्पन्न परिणाम तथा त्यसले मानिसलाई पारेको नोक्सानी हेर्दा जैविक वस्तुको संरक्षण एवं पर्यावरणको दिगो विकास दीर्घजीवी हुन नसक्ने कुरा प्रस्ट छ । मानव जाति तथा वन्यजन्तुको समुन्नति एवं अस्तित्वकै लागि पनि पर्यावरणको महत्व प्रस्ट हुँदै गएको छ ।

अतः पृथ्वीका सम्पूर्ण जातिको सुखसमृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जे–जति महत्व छ त्योभन्दा बढी पर्यावरणको संरक्षण पनि अपरिहार्य छ । पर्यावरणको संरक्षणबाट नै वनस्पति र वन्यजन्तु संरक्षण भई आन्तरिक पर्यटनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उठाई उनीहरूमा आर्थिक स्रोतको विकास हुन्छ ।

विश्वमा बढ्दै गएको पर्यावरणीय विनाशले वन्यजन्तु संरक्षणमा विभिन्न चुनौतीहरू देखापरेका छन् । साथै यसको असरले पृथ्वीमा नै ल्याएको नकारात्मक परिणाम तथा संङ्केतहरूले गर्दा आजको विश्वका हरेक देशमा पर्यावरणलाई महत्व दिन आवश्यक छ । राष्ट्रमा विकास आयोजनाको संचालन गर्दा विद्यालय, विश्वविद्यालय तहका पाठ्यक्रम तयार गर्दा वा अन्य महत्वपूर्ण कार्य गर्नका लागि पर्यावरणीय पक्षलाई विशेष महत्वका साथ हेर्नुपर्ने हुन्छ ।

वर्तमान समयमा मानिसले आफ्ना आवश्यकताहरू पूरा गर्नका लागि विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेका छन् । यस प्रक्रियामा प्रशस्त मात्रामा जैविक वस्तु नाश गर्ने अनेकौं समस्याहरू देखापरेका छन् । उत्पादन तथा उपयोगमा नकारात्मक प्रभाव पार्ने हुन्छन् । पर्यावरणको अध्ययन तथा जैविक वस्तु संरक्षणले उच्च तथा चिरस्थायी गुणस्तरीय जीवन बनाउन सहयोग पु-याउन सकिन्छ ।

हाम्रोजस्तो कम विकसित देशमा गरिव तथा खाद्यान्नको संकटबाट गुज्रनेहरूको जमात बृहत् छ । वर्तमान समयमा खेतीपातीबाट मात्र हुने उत्पादनले खाद्यान्न पूर्ति नहुने हुँदा जंगली वस्तुहरू कन्दमुल, फलफूल आदिले पनि जिविकोपार्जनमा सघाउ पु-याउँछन् । पर्यावरण संरक्षणले मानिसले खाद्यवस्तुका रूपमा स्वीकार गर्ने वस्तुहरू के–कस्ता छन् ? तिनीहरूको उत्पादन कसरी हुन्छ ? जैविक विविधतालाई संरक्षण गरेर नै कति वस्तुहरू प्राप्त गर्न सकिन्छ भन्ने कुराको जानकारी प्राप्त हुन्छ । अतः गाउँ सहरलाई सुन्दर बनाउन तथा मानवजातिको समस्टिगत हितका लागि जैविक विविधताको विकास गरी वन्यजन्तुको वासस्थान संरक्षण गर्नु अति आवश्यक छ ।

पर्यावरणमा सिमसार संरक्षणको महत्वपूर्ण भूमिका हुन्छ । सिमसारले पानी सञ्चय बाढी नियन्त्रण, भूमिगत पानीको पुनः प्रवाह, भूमिगत पानीको निकास तथा शुद्धीकरण, खनिज तत्वहरूको शोषण, माटोको सञ्चय, प्रदूषणलाई नियन्त्रण, स्थानीय हावापानीको नियन्त्रण गर्दछ । सिमसारले विभिन्न महत्वपूर्ण कार्य गर्दछ । जस्तैः आर्थिक क्षेत्रमा, पानीको आपूर्ति, कृषि, काठ, उर्जा, वन्यजन्तुको सुरक्षित वासस्थान, जल यातायातको साधनको रूपमा, पर्यटन विकास, जडीबुटी र औषधिजन्य वस्तुको आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्दछ । यसले गर्दा स्थानीय बासिन्दको आर्थिक स्थिति बलियो हुन्छ ।

नेपाली चाडपर्व र परम्परामध्ये कतिपय सिमसार र मौसमी परिवर्तनको चक्रसँग जनजीवनलाई सामञ्जस्य बनाउने प्रयासको रूपमा हेर्न सकिन्छ । गर्मी याममा चिसो उच्च हिमाली क्षेत्रमा मेला भर्न जाने प्रचलन छ भने जाडो याममा न्यानो बेंसी र मधेसतिर लाग्ने चलन छ । छठ, माघी, सिथि नख, नागपञ्चमी आदि १२ वटाभन्दा बढी महत्वपूर्ण चाडपर्व सिमसारसँग जोडिएका छन् जुन तलको लालिकाबाट प्रस्ट्याउने प्रयास गरिएको छ ।

अतः वन्यजन्तु तथा वातावरण संरक्षणमा सिमसार क्षेत्रको अति महत्वपूर्ण भूमिका रहन्छ । सिमसारले पानीको उचित व्यवस्थापन गरी आन्तरिक पर्यटक तथा सामाजिक सांस्कृतिक महत्वलाई अझै वृद्धि गरी स्थानीय जनताको जीवनस्तरलाई मजबुत बनाई आर्थिक समुन्नतिर लैजान्छ । नेपालमा सिमसार क्षेत्रहरू वातावरण विनाशका कारण बिग्रिँदै गएका छन् । सिमसार कतै खेत, कतै घडेरी तथा माछा पोखरीमा सीमित भएका छन् ।

अत्याधिक चरण, जडिबुटी संकलन, पानीको प्रयोग आदिले गर्दा क्षमताभन्दा बढी सिमसारको दोहन भएको छ । प्रदूषणले सिमसार क्षेत्र ग्रस्त छ । सिमसार विभिन्न प्रयोजन हुन थालेपछि जैविक विविधतामा ह्रास आएको छ । मिचाहा प्रजातिले गर्दा सिमसार क्षेत्रमा गम्भीर संकट आएको छ । भूमि अतिक्रमणले गर्दा सिमसार क्षेत्र हराउन थालेका छन् ।

भू–क्षय सिमसारका लागि कोरोनाजस्तै भएको छ । दैवी प्रकोपले गर्दा सिमसारमा थेग्नै नसक्ने गरी बाढी, पहिरो आउने र चाहिनेभन्दा बढी बगेर संकटमा परेको छ र वातावरण विनाश भएको छ भने वासस्थानको विनाश भई वन्यजन्तुहरू लोप हुने स्थितिमा पुगेका छन् । पर्यावरण सुधार गरी सिमसार विकास गरी वासस्थानको संरक्षण गरी वन्यजन्तु विनाशालाई रोक्नु आजको आवश्यकता हो । यसो भएमा मात्र हरेक वर्ष मार्च ३ मा मनाइने विश्व वन्यजन्तु दिवसले सार्थकता पाउनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया