ललित ओठमा सन्तापको पहाड
काठमाडौं ।
जिन्दगीमा धेरै कुराहरू छुट्दै जाँदारहेछन् । बालापन छुट्यो । बच्चामा सँगै खेल्ने, हाँस्ने, रमाइलो गर्ने संगी साथीहरू छुटे । त्यो चञ्चलता, त्यो उभार, त्यो रमाइलो छुट्दै गयो । स्कुल पढ्दा र सँगै गाउँमा मेलापात गर्ने साथीहरू पनि छुटे । प्रकृति हेर्दा त सधैँ उस्तै हो तर पहिलाको जस्तो उसँगको घुलमिल, ऊसँगको सानिध्यता पनि छुट्दै गयो । गाउँको चाडपर्व, दशैँ, तिहार, पिङको मच्चाइ अनि रातभरको देउसिरे पनि छुट्यो । दशैँ आउनुअघि घरआँगन, पिढी रातमाटोले लिपपोत गर्ने, आमाले दुनाटपरी गरेको त्यो रमाइलो दृश्य पनि छुट्यो । लाइरे कामी दाइको आरनमा हँसिया अर्चापेको अनि रामे दाइले कट्टु र कमिज सिउनुअगाडि ‘ल छेक्न आउनू’ भन्ने गरेको त्यो मीठो समय पनि छुट्यो ।
धेरै कुराहरू छुटे । बारीबाट उठेको घाँसको सुगन्ध छुट्यो । चराहरूको त्यो चिरबिर आवाजहरू छुटे । जब गाउँको स्कुल छोडेर धेरै पढ्न भनी सहर गए अनि थाहा भो मेरो एउटा सिंगै मायालु संसार पनि छुट्यो । जीवनको मधुरता छुट्यो र एकदिन आँखाबाट आँसुको भेल छुट्यो । त्यत्रो ज्ञान, बुद्धि, चलाखी, धुत्र्याइँ, राजनीति, छलछाम, लोभ मलाई किन चाहिएको थियोे र जब कि अब जीवनको त्यो बसन्त वय पनि त छुटिसक्यो । जीवनको त्यो स्वस्फूर्त रमाइलो, त्यो निनाद निर्मल बिहानी नै छुटिसक्यो । एउटा बुढो घाम भयो कति छिटो जिन्दगी ! होस नै भएन ।
कल्कलाउदो कालीविनाको त्यो कपाल छुट्यो अहिले कपाल आफैं हिउँ भएको छ । आँखाबाट तेजिलो उज्यालो छुट्यो । अहिले नाकको डाँडीमा चस्मा उभिएको छ । ओठबाट गुलाफी मुस्कान छुट्यो । अहिले त्यो ललित ओठमा सन्तापको पहाड उठेको छ । शरीरबाट जवानी छुट्यो । साथीहरू छुटे । समय छुट्यो । सबै कुरो मेरै हो, देखिएको यो संसार मेरो मात्रै हो भनेर भन्दाभन्दै पनि क्रमशः मुठ्ठी कसेको हातबाट चोइटा चोइटा भई पाप्रापाप्रा भइ भत्किएर जाँदोरहेछ खुसीको एउटा सुन्दर घर । समयले खोसेको त्यो सुन्दर अतीत फिर्ता ल्याउन कोसिस गर्छौँ हामी । हरेक दिन यत्न गर्छौँ शब्दहरूको माटीकोरी भुइँमा कोर्दै समयको दुवाली थुनेर । तर त्यो अतीत कहिल्यै फिर्ता हुँदैन र फेरि पनि हामी दुःखी हुन्छौँ ।
हामी कि अतीतको कारण दुःखी हुन्छौं कि अज्ञात भविष्यको कारण दुःखी हुन्छौँ । वर्तमानमा त हामी कहिले थिएनौँ । कहिले रहनै सकेनौँ । त्यसैले पनि वर्तमान स्वयंले हामीलाई दुःखाएन । हिजोको सुख आज सम्झिन्छौं र दुःखी हुन्छौँ । अनि भोलिको दुःख आजै सम्झिन्छौँ र फेरि दुःखी हुन्छौँ ।
मानिस दुःखी हुनलाई अरु धेरै कारण नै चाहिँदैन । मात्रै एउटा अतीत र मात्रै एउटा अज्ञात भविष्य भए पुग्यो । भविष्य सुन्दर सुखी बनाउने सपनामा मानिसहरू निदाउनै बिर्सन्छ । र झन् दुःखी हुन्छन् । सुखको खोजीमा गरिने दुःखले नै मानिसलाई कहिले सुखी रहन दिएन । अन्ततः हामी जीवनबाट नै छुट्छौं दुःखी हुँदाहुँदै । सुखी भएर जीवन त्याग्ने यो दुनियाँमा कोही छैन । अतीतका महान मान्छेहरू राम, कृष्ण र बुद्धजस्ता युगिन व्यक्तित्वहरू पनि अनेकौँण् लान्छना सहेरै बिते । कृष्णलाई आफ्नै वंश सकेको दोष छ । रामलाई सीताप्रतिको अपमानको दोष छ, बुद्धलाई उद्देश्यबाट बिचल्लित उद्योगबाट मानिसलाई छुटाएर जोगी बनाएको आरोप छ ।
जीवन सन्तुलनमा रहनै सक्तैन र सकेन । जीव नै अजिव छ । हामी जीवनलाई सन्तुलनमा ल्याउनको लागि अनेकौँ जुक्ति रचना गर्छौ । सन्तुलन त यो पृथ्वीको पनि छैन । अरु ग्रहको गुरुत्व बलले मात्रै सन्तुलनमा छ । नत्र हामी बसेको यो पृथ्वी ब्ल्याकहोलतिर गइसक्थ्यो । संसारमा जति पनि वस्तु छन् चाहे भौतिक हुन् वा अभौतिक ती अन्ततः अध्याँरोतिरै फर्कनु पर्छ । विज्ञानले ब्रह्माण्ड नै ब्ल्याकहोलतिर गइरहेको छ भनेर भन्छ । मानिस जन्मदेखि नै मृत्यु उन्मुख हुन्छ । मृत्यु आफैँ एक अन्धकारतिरको यात्रा हो । सबै चीजबीज क्षयशील छन् । सबै कुराको अन्त छ । अन्त हुनको लागि त्यो अदृश्य हुनु हो ।
रुखले पात छोडेको हो वा पातले रुख छोडेको हो । जीवले जीवन छोडेको हो वा जीवनले जीव । आँखाले दृश्य छोडेको हो वा दृश्यले आँखा । उज्यालोले अँध्यारो छोडेको हो वा अँध्यारोले उज्यालो छोडेको हो । मुटुले शरीर छोडेर गएको हो वा शरीरले मुटु छोडेको हो । प्राणले शरीर त्यागेको हो वा शरीरले प्राण त्यागेको हो ? यी कुराहरूको उत्तर छैन हामीसँग । यहाँ जिन्दगी नै एउटा प्रश्न भएर उभिएको छ र हामी त्यसको उत्तर खोजीमै आफ्नो साराका सारा जिन्दगी सक्काउँछौँ । हाम्रो यो चेतनावरिपरि प्रश्नहरू छरिएर रहेका छन् । दिनभर कर्म गरेर बेलुकी सुत्ने बेलामा पनि विविध प्रश्न लिएर निदाउँछौँ अनि सूर्योदयको साथ फेरि तिनै प्रश्नहरूले हामीलाई घसेटिरहेको हुन्छ । जीवन रहेसम्म प्रश्न रहन्छ । यस्तो लाग्छ बाँच्नु नै प्रश्नहरूको अनुघुलन हो ।
एउटा बालक आमाको कोखबाट जब बाहिरी दुनियाँमा प्रथम श्वास फेर्छ उसले उत्तर होइन प्रश्न लिएर आएको हुन्छ । ऊ जन्मिन त जन्मियो तर उसको भविस्य के होला । ऊ जन्मिना साथ उसको वर्तमान होइन उसको भविस्य जन्मियो । वर्तमान एक पल पनि रहन्न त्यो यति छिटो स्पिडमा हामीलाई छोडेर हुँइकिरहेको हुन्छ कि एक आँखा झिम्क्याइमा ऊ हजारौँ माइल पर पुगिसकेको हुन्छ । त्यसैले जीवन दर्शनमा कि त भूत छ कि त भविष्य छ । एउटा काल (वर्तमान) नै हराएको छ । म कि अतीतमा छु या कि त भविस्यमा छु । वर्तमान मेरो नजिकैबाट गुज्रिरहेको छ कि मलाई थाहै नदिई कुनै अज्ञात अन्धतातिर । म अँध्यारोतिरै गुरुत्वत्तर छु ।
यत्नले पाउने चिजहरू हाम्रा हातहरूबाट खोसिँदै खोसिँदै गइरहेका छन् । जसलाई हामीले सफलता मान्यौँ त्यो सफलताको लम्बाइ, चौडाइ र त्यस्को आयतन र त्यसको सघनता कति हो र त्यो कतिन्जेलसम्म हामीसँग बस्छ भन्ने कुराले हामीलाई पिरोलिरहेको हुन्छ । फेरि पनि जीवन एउटा यात्रा हो । यात्रामा अनेकौँ परिदृश्य देख्न पाइन्छ । हामी बसबाट कही कतै यात्रा गर्दा यदि झ्यालको सिट परेको छ भने बाहिर हेर्दा कति छिटो छिटो बाहिरी दृश्यलाई छोडेर बस आफ्नो गतिमा अगाडि बढ्छ । जीवन पनि त्यही बसको यात्रा हो छिटोभन्दा छिटो बाहिरी दुनियाँलाई छोडेर आफ्नो गन्तव्यतिर ।
गन्तव्य स्वर्ग हो भनेर सोचौँ । हुन त अन्धता तिरैको यात्रा हो अन्ततः हरेक पल बदिलिरहने कुराले हामीलाई दुःखाउँछ । कहीँ सुख भएर बदलिन्छ समय कहीँ दुःख भएर बदलिन्छ समय । एउटा अज्ञात समयको चालक हौँ हामी । हाम्रो हातमा स्टेरिङ त छ जता पनि घुमाउन सक्छौँ तर बाटोचाहिँ छैन किनकि यो सृष्टिकर्ताले जमिनचैँ दिए बाटोचैँ तिमी आफैँ बनाउनु भनेर । जीवनरुपी बसको स्टेरिङ हातमा लिनुअगाडि पहिला एउटा राम्रो बाटो बनाउन सकियो भने यात्रा सहज हुन्छ । हामी बाटो नबनाई यात्रा गर्न खोज्छौँ र जहिले पनि हतारमा सुखलाइ पनि छोडेर भाग्छौँ ।
बाटोमा देखिएका राम्रा दृश्यलाई छोड्नु नपरे पनि हुन्थ्यो भन्ने चेतनाले पनि हामीलाई दुःखी बनाउँछ । हामीले सोचिरहेका हुन्छौँ कि ओहो यस्तै हरियाली मेरो बगैँचामा पनि भए हुन्थ्यो नि । बाहिरको रमाइलोले भन्दा नि भित्रको असफलताले कोपरिरहेको हुन्छ जिन्दगीलाई । सबै कुरा छोडिने हुन् तर हामीभित्रको यो अतृप्ती यति प्रभावि छ कि यसले पलपल कोपरिरहेको हुन्छ, चिथोरिरहेको हुन्छ हामीलाई र हामी सुखैमा पनि दुःखी हुन्छौँ र जीवन ज्युने कला नै बिर्सन्छौँ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया