Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविश्वव्यापी जलको महत्व र मेलम्ची

विश्वव्यापी जलको महत्व र मेलम्ची


काठमाडौं ।
प्रत्येक वर्षको मार्च २२ तारीखमा विश्वभर जल दिवस मनाइन्छ । मूलतः सन् १९९३ देखि यस दिवसको क्रम सुरु भएको हो । यसरी यो दिवस मनाएको २८ वर्ष पूरा भएर २९औं वर्षमा प्रवेश गरिरहेको छ । यस वर्षको जलदिवसको नारा ‘पानीलाई महत्व दिऔँ’ भन्ने नारा तय गरिएको छ । संसारमा एक अर्ब ४२ करोडभन्दा बढी बालबालिकाहरूसहित जनसंख्याहरूलाई जलको अभाव भएको सम्बन्धित निकायहरूले जनाएका छन् । यसरी पानीमा रहेको पर्यावरणीय, सामाजिक र सांस्कृतिक महत्वहरूलाई हामी सबैले बुझ्न जरुरी भएको छ ।

हाम्रो देशमा जलको कुरा गर्ने हो भने विगत २२ वर्षभन्दा पहिलेदेखि नै चर्चामा आएको राष्ट्रिय गौरवको आयोजनाहरूमध्ये मेलम्ची पनि एक ठूलो आयोजना हो । यो आयोजना एसिया महादेशमा खानेपानीको समूहमा सबैभन्दा ठूलो योजना हो । तर, हाम्रो देशमा भने अरु चालू सबै योजनाहरूभन्दा पनि यो योजना ठूलो रहेको छ । अब आउँदो चैत्र १५ गतेदेखि राजधानीवासीहरूको घर–घरको धारामा पानी खस्ने कुरा सम्बन्धित क्षेत्रले जनाएको छ । यसरी लामो समय कुरेर बसेका उपत्यकावासीहरूको तिर्खा मेट्ने चाहना यही महिना पूरा हुँदै छ । यो योजना सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङ परीक्षण भइसकेको छ ।

हाल परीक्षणका लागि दुई सय ६० लिटर प्रतिसेकेन्ड पानी सुरुङमा हालिएको छ । यसरी मेलम्चीबाट आउने १७ करोड लिटर पानी दैनिक ती प्रशोधन केन्द्रमा प्रशोधित हुन्छ । उक्त प्रशोधन केन्द्रबाट पाइपलाइनमार्फत चैत १५ गतेदेखि काठमाडौं उपत्यकाको विभिन्न दशवटा पानी ट्यांकीहरूबाट पानी पठाइने मेलम्ची खानेपानी लिमिटेडले जनाएको छ । सो प्रशोधित पानी १० ठाउँमा रहेका पानी ट्यांकीमा आउनेछ । यी ठाउँमाहरूमा क्रमशः यसको साथसाथै मेलम्चीको पानी आपूर्तिका लागि पीआईडीले महांकालचौर, बाँसबारी, पानीपोखरी, बालाजु, अनामनगर, मीनभवन, कीर्तिपुर, खुमलटार, बोडे, आरुबारीमा पानीट्यांकी जडान गरिसकेको छ । सातवटा पानीट्यांकी तयारी अवस्थामा छन् ।

यसरी पानी प्राप्त भएपछि महिनामा ५० किलोमिटर पाइपलाइनको टेस्टिङ सकाउने योजना रहेको छ । तर भक्तपुर कटुन्जेमा रहेको पानीट्यांकी भने निर्माणाधीन अवस्थामा रहेको छ । यी सबै ट्यांकीहरूको कुलक्षमता ७४ हजार पाँच सय घनमिटर रहेको छ । अपितु मेलम्चीको पानी ल्याउनको लागि काठमाडौं उपत्यमा खाने पानीको पाइपलाइन एक हजार एक सय किलोमिटर बिछ्याइसकेको छ । यसको साथै दुई सय किमि पाइपलाइनहरूको प्रारम्भिक परीक्षणसमेत गरिएको छ । अब केही दिनसम्म पाइपलाइनहरूको अन्तिम परीक्षण गरी पानी वितरण गरिनेछ । यसरी अन्तिम परीक्षण सक्न दुई÷तीन हप्ता लाग्ने सम्बन्धित निकायले जनाइएको छ ।

यसको साथसाथै केयूकेएलका पुराना पाइपलाइनबाट चैत १५ गतेदेखि पानी वितरण गरिनेछ । यसर्थ हालसम्म एक लाख १० हजार धारा जडान गर्नुपर्नेमा ८० हजारवटा धाराहरू जोडिएको छ । वस्तुतः अहिले केयूकेएलले काठमाडौंमा प्रतिदिन नौ करोडदेखि १६ करोड लिटरसम्म दैनिक खानेपानी वितरण गरिरहेको छ । अब मेलम्चीको पानी १७ करोड लिटर थपिनेछ । यससँगै प्रतिदिन एक व्यक्तिले एक सय लिटर पानी पाउनेछन् । यसको साथसाथै काठमाडौँको खानेपानीको माग पूरा गर्न यांग्री र लार्केबाट थप १७/१७ करोड लिटर ल्याउने काम पनि अघि बढाइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईले विसं. २०५१ सालको मध्यावधिचुनावमा काठमाडौँको सडक मेलम्चीको पानीले पखालिदिने बाचा गरेका थिए । त्यति मात्र होइन, २०५६ को संसदीय निर्वाचनमा पनि उनले पर्साबाट चुनाव लडेका थिए र उनले चुनावी नाराका रूपमा मेलम्चीले काठमाडौँ पखाल्छु भन्दा उनको त्यो भनाइलाई हाँसोमा उडाइयो । तर, विडम्बना उनी आज यस धरतीमा छैनन् । तर, उनको त्यो महावाणी आज यथार्थमा परिणत भएको छ । आज मेलम्चीको काठमाडौँ पथान्तरण भएको छ । सन्त नेतादेखि सबै खाले नेता र जनताको काठमाडौँमा मेलम्चीलाई अवतरण गराउने भगीरथ प्रयास सार्थक भएको छ । करिब ३० वर्षपछि आज तिनै सन्त नेताको उक्त बाचा पूरा भएको छ ।

काठमाडौँवासीको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी केही दिन अगाडि सुन्दरीजलमा खसालिएको थियो । मेलम्ची आयोजनाको सुरु भने आर्थिक वर्ष २०५८/५९ माभएको थियो । यो आयोजना सुरु गर्दा आर्थिक वर्ष २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यसैक्रममा कुल एक हजार एक सय ३२ किलोमिटर पाइपलाइन बिछ्याउनुपर्नेमा करिब १५ किमि बिछ्याउने काम बाँकी रहेको छ । त्यसरी नै आयोजनाले भने अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वितरण गरिरहेको पुरानै पाइलाइनबाट वितरण गर्ने र बिस्तारै नयाँ परीक्षण गर्दै जाने तयारी गरेको जनाइएको छ ।

मेलम्चीको पानी परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएकोमा गत २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो । हाल परीक्षणका लागि दुई सय ६० लिटर प्रतिसेकेन्ड पानी सुरुङमा हालिएको छ । अतः परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खानेपानी मन्त्रालयले जनाएको छ । यसको लागि हालसम्म ८० हजार घरधुरीमा धारा जडान भएको छ  । जसमध्ये १५ हजार धाराहरूको परीक्षण भई पानी आपूर्ति गर्न सकिने अवस्था छ ।

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग भए पनि हाललाई केयूकेएलले दैनिक आठ करोड लिटर मात्रै वितरण गर्दै आएको छ  । यसको साथसाथै उपत्यकामा थप ३४ करोड लिटर पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भइसकेको खानेपानीमन्त्रालयले जनाएको छ । पहिलो चरणको यो परीक्षण सफल भएसँगै यांग्री र लार्केबाट पनि पानी ल्याउने काम सुरु गरिनेछ  । अनि उपत्यकामा ५१ करोड लिटर पानी आउनेछ । आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम पनि ६५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरूमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने तीन सय ७६ कित्ता जग्गाको मुआब्जा वितरण भइरहेको छ ।

समष्टिरूपमा भन्नुपर्दा यस वर्षको जलदिवस देशका लागि एउटा ठूलो गौरवको सम्झना दिलाउने वर्ष हुनेछ । यसरी विसं २०५४ सालतिर नै मेलम्ची खानेपानी लिमिटेड गठन गरिएको थियो । विसं २०५८ मा दैनिक १७ करोड लिटर पानी भित्र्याउने लक्ष्यसहित मेलम्ची खानेपानी आयोजनाको सुरुवातभएको थियो । यो आयोजना गरेको अन्तिम डिजाइनका आधारमा एसियाली विकास बैंक र मेलम्ची खानेपानी विकास समितिबीच एक सय २० मिलियन अमेरिकी डलर ऋण सम्झौता भएपछि पूर्वाधार निर्माणको कार्य अगाडि बढेको हो । विसं २०६५ मा आयोजना सम्पन्न गर्ने सरकारको पहिलो लक्ष्य पूरा हुन नसकेकाले विसं २०७० भित्र मेलम्चीलाई काठमाडौँ लैजाने दोस्रो लक्ष्य पनि पूरा हुन सकेन ।

फलस्वरूप विसं २०६६ मा चाइना रेलवे ब्युरोले करसमेत चार अर्ब २८ करोड ८८ लाखमा विसं २०६६ चैत्रमा साढे २६ किलोमिटर सुरुङ खन्ने ठेक्का पायो । तर, साढे ६ किलोमिटर सुरुङ खनेर विसं २०७२ मा सबै काम सक्नुपर्ने उक्त कम्पनीले विसं २०७० मा एकतर्फी ठेक्का तोड्यो । यसपछि तेस्रो पटक आयोजना सम्पन्न गर्ने लक्ष्य भने सरेर विसं २०७३ भाद्र महिना पुग्यो । त्यसपछि विसं २०७१ मा इटालियन कम्पनी सीएमसी कम्पनीलाई नियुक्त ग-यो । उक्त कम्पनीले विसं २०७४ चैत २९ गने साढे २६ किलोमिटर सुरुङ ब्रेक थ्रु ग-यो ।

विसं २०७४ मा पनि उक्त कम्पनीले सुरुङ ब्रेक थ्रु गरेपछि ठेक्का रद्द ग-यो । यो बाँकी काम पूरा गर्नका लागि विसं २०७५ भदौमा चिनियाँ सिनो हाइड्रो कम्पनीलाई ठेकेदार कम्पनीका रूपमा नियुक्त गरियो, जुनकम्पनीले सुरुङको फाइनल फिनिसिङ र हेडवक्र्स बनाउने ठेक्का पाएको छ । जुन अहिले अन्तिम चरणमा पुगेको हो । अतः विगत दुई दशक बितिसक्दा पनि नआएको मेलम्चीको पानी आउने खुशीको दिनगन्तीमा उपत्यकावासीहरू बसेका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया