Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसुशासन सुनिश्चितताका सूत्र नौ ‘नि’

सुशासन सुनिश्चितताका सूत्र नौ ‘नि’


काठमाडौं ।
सफल सुशासनको सुनिश्चितताको लागि समयानुकूल नीति नियमको साथै कार्यान्वयनमा ल्याउने कर्मचारीको नियतमा पनि भर पर्दछ । कतिपय राम्रा नीति नियमहरूको सही कार्यान्वयन नगरिँदा सुशासन जोखिममा परेका जगजाहेर नै छ । सुशासनको सुनिश्चितताको लागि पेसाप्रति समर्पित जिज्ञासु र आफूमा भएको ज्ञान सीपलाई निरन्तर परिमार्जन र परिष्कृत गर्दै जाने दृढ इच्छाशक्ति भएको दक्ष इमान्दार जनशक्तिको खाँचो पर्दछ । आफ्नो पेसाप्रति समर्पित कर्मचारी भएका संस्थामा मात्र सुशासन फस्टाउने कुरामा दुईमत नहोला । दक्ष जनशक्तिलाई संस्थाभित्र भित्र्याउन तथा उनीहरूलाई संस्थाको हितमा दत्तचित्त भएर लाग्न अभिप्रेरित गर्न सकेमा व्यवस्थापन पक्ष सफल भएको मानिन्छ ।

पेसाकर्मीको योग्यता क्षमतालाई परिष्कृत परिमार्जित गर्दै उनीहरूमा अन्तरनिहित प्रतिभाको भरपुर उपयोग संस्थाको हितको लागि गर्न उत्प्रेरित एवं उत्साहित बनाउनुपर्ने हुन्छ । यसैलाई मध्यनजर राखेर संस्थाका जनशक्तिको पेसागत उत्कृष्टताका लागि नौ ‘नि’ नीतिज्ञता, निर्दिष्ठता, नियमितता, निष्ठता, निस्वार्थता, निस्ङकोचता, निष्कलंकता, निर्भिकता, निष्पक्षता लाई सूत्रको रूपमा यहाँ पस्कने प्रयास गरिएको छ । यी पक्षहरूको सावधानीपूर्वक स्वयं पेसाकर्मी र संस्थाबाट अनुसरण गरेमा प्रयोगकर्ताको प्रगति र प्रतिष्ठा बढाउन उल्लेख्य भूमिका खेल्ने अपेक्षा गर्नु अन्यथा नहोला । सुशासनको प्रवर्द्धन गर्न अत्यावश्यक पर्ने पारदर्शिता, विकेन्द्रितता, सहभागिता तथा विधीको शासनजस्ता आधारभूत पक्षलाई अर्थपूर्ण बनाउन समेत प्रस्तुत नौ ‘नि’ आधारभूत सर्त मान्न सकिन्छ ।

नीतिज्ञता : आफूले अंगालेको पेसाका सैद्धान्तिक तथा व्यावहारिक धरातल एवं आधार र आचरणको बारेमा स्पष्ट धारणा भएको जनशक्ति हुनुपर्दछ । संस्थाको सफलताको लागि लगनशील र समर्पित तथा अनुशासित जनशक्तिको खाँचो पर्दछ । कार्यरत संस्थाकोे उद्देश्य प्राप्तिका लागि अवलम्बन गरिएको आधारभूत दर्शन सिद्धान्त र लक्ष्य बारेमा स्पष्ट जानकारी राखी पारंगत हुनुपर्दछ । तब मात्रै संस्थाको उद्देश्यपूर्ति गर्न पेसाकर्मी सक्षम हुन्छ ।

दृढ इच्छा शक्तिका साथ भूमिका निर्वाह गर्न पनि आफूले अँगालेको पेसाको कार्यसम्पादनको विधि र प्रक्रियाका बारेमा यथेष्ट जानकारी राख्नुपर्दछ । अन्यथा कुहिरोको काग हुन बेर लाग्दैन । व्यक्तिको भन्दा विधिको, नेताभन्दा नीतिको आधारमा प्रशासन चलाउन कृतसंकल्पित नेतृत्व आजको खाँचो हो । कञ्चन आचरण, आचरसंहिताको अक्षरस अनुशरण तथा संस्थाको उद्देश्य प्राप्तिको लागि आवश्यक नवीनतम ज्ञान र सीपबाट सुसज्जित सकारात्मक सोच भएका कर्मचारीबाट मात्र संस्थाको विकास र विस्तारको अपेक्षा गर्न सकिन्छ ।

निर्दिष्टता : एकातिर संस्थाको उद्देश्य प्राप्तिमा मन वचन र कर्मले समर्पित जनशक्तिको आवश्यकता पर्दछ भने अर्कातर्फ संस्थाले भिजन, मिसन, अब्जेक्टिभ, स्ट्राटेजी र एक्टिभिटीको बारेमा कार्यरत सबै कर्मचारीलाई प्रशिक्षित गराउनुपर्दछ । संस्थाको उद्देश्यप्रति सदैव अजुर्नदृष्टि राख्ने हौसला भएका कर्मचारीबाट मात्रै अपेक्षित उपलब्धि हाँसिल गर्न सकिन्छ । साथै उनीहरूमा संस्थाप्रति स्वामित्वको अनुभुति गराउनु पर्दछ, । यसले अपनत्वको भावनाको विकास हुन्छ । कार्यशैलीमा सक्षमता र प्रभावकारिता ल्याउँछ । पेसाकर्मीको वृतिविकास,अनुगमन मूल्यांकन प्रभावकारी र प्रभावशाली बनाउँदै उसको उच्च मनोबल र दृढ इच्छाशक्तिलाई संस्थाको हितमा निरन्तर प्रयोगको लागि प्रोत्साहित गर्ने वातावरण बनाउन कुनै कसर बाँकी राख्नु हुँदैन ।

नियमितता : तोकिएको समयभित्र मितव्ययीरूपले सुगमतापूर्वक लक्ष्यमा पुग्नको लागि कार्यशैलीमा नियमितता र निरन्तरता हुुनुपर्दछ । कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने बानीको विकास गर्नुपर्दछ । पारदर्शी एवं सहभागितामूलक सहमतिमा आचारसंहिता लागू गर्नुपर्दछ । व्यक्तिभन्दा विधिको शासनलाई प्राथमिकता दिन चुक्नु हुँदैन । कार्य सम्पादनमा चुस्त दुरुस्तता ल्याउन नियमित अनुगमन निरीक्षणलाई विशेष ध्यान दिनुपर्दछ । जसको लागि कार्ययोजनाको नियमित मूल्याकन, निर्णय प्रक्रिया तथा अनुगमन निरीक्षणको सार्थकता साथै कार्यदक्षताको आधारमा पुरस्कार र दण्डको व्यवस्थालाई इमान्दारीपूर्वक अवलम्बन गरेमा नियमिततालाई प्रवर्द्धन गर्न सघाउ पु-याउँदछ ।

निष्ठता : आफूले अँगालेको पेसाप्रति श्रद्धापूर्वक आस्था र विश्वास राख्दै पेसागत धर्म निर्वाहमा समर्पित हुनुलाई निष्ठापूर्वक लागेको मान्न सकिन्छ । भनिन्छ मनअनुसारको धर्म, पेसाअनुसारको कर्म । पेसागत प्रतिष्ठालाई सर्वेापरी मानी निर्दिष्ट कानुनअनुरूपको कार्यशैलीलाई अपनाउनाले कार्यरत संस्थाको प्रतिष्ठा र सफलतालाई अभिवृद्धि गर्दछ । जसले अब्बल र सफल पेसाकर्मीको रूपमा स्थापित हुन टेवा पु-याउँदछ । आफूले अँगालेको पेसाप्रति अनास्थापूर्वक निराशा जाहेर गर्नाले सेवाग्राहीको विश्वास गुमाउन पुगिन्छ । जुन एक सफल संस्था र पेसाकर्मीको लागि घातक बन्न पुग्दछ ।

कार्यक्षमता मापनमा पराक्रमभन्दा परिक्रमाले अर्थात् गणेश प्रवृत्तिले प्रश्रय पाएको वर्तमान टिठलाग्दो यथार्थतामा निष्ठतालाई जतन गर्नु चुनौतीपूर्ण काम हो । त्यसकारण कुनै पनि पेसा अंगाल्नुपूर्व राम्रो सोचविचार गर्नुपर्दछ । पेसामा प्रवेश गरी सकेपछि निष्ठापूर्वक पेसागत धर्म निर्वाह गनुपर्दछ । अन्यथा आफू र संस्थाप्रति बेइमानी गरेको ठहर्छ ।

निस्वार्थता आफ्नो व्यक्तिगत लाभहानीलाई भन्दा पनि संस्थाको नीति नियमको परिधिभित्र रहेर सेवाग्राही तथा संस्थाको लागि समर्पित, परोपकारी भावनाबाट प्रेरित भई कार्यसम्पादन गर्ने बानीले लोकप्रियता कमाइन्छ साथै स्वभिमानी भई समाजमा प्रतिष्ठित नागरिकको रूपमा जीवनयापन गर्न बल पुग्दछ । साथै मानसिक शारीरिक विकास एवं आत्मसन्तुष्टि हुने यथार्थलाई नकार्न सकिन्न । सदाचारको विद्यमान खस्किँदो अवस्थामा इमान्दारिताको खडेरी परेको छ । तसर्थ कर्मचारीले आफ्नो छवि सुधार्नु पहिलो प्राथमिकतामा पर्दछ । सबै क्षेत्रमा चाकडीमा रमाउने कमिसनमा कमाउने स्वार्र्थी मनोवृत्तिले गाँजेको वर्तमान परिप्रेक्षमा निस्वार्थ बन्न र बनाउन ठूलै त्याग र तपस्याको खाँचो पर्दछ ।

निसङ्कोचता : आफूमा भएको प्रतिभा वा मनमा लागेको कुरालाई आवश्यकताअनुसार विनाहिचकिचाहट निर्धक्क राख्ने साहस गर्नाले व्यक्तित्वको विकास हुन्छ । निर्धक्कसँग आफ्ना कुरा राख्ने वातावरण हुँदा संस्थाले आफ्नो कर्मचारीको धारणा बुझी उनीहरूको चाहनाअनुरूप व्यवस्थापन गरी अधिकतम लाभ लिन सक्छ । त्यसैले पेसाकर्मीले पनि आफ्नो कमी कमजोरी र सबल पक्ष पहिचान गरी सुधार्ने मौका मिल्दछ ।

सेवाग्राही वा अन्यबाट प्राप्त प्रतिक्रियाको आधारमा आफ्नो कमीकमजोरीलाई समयमा नै सच्याउने अवसर मिल्छ । जसले आफ्नो योग्यता क्षमतालाई अरु परिस्कृत गर्दै पेसागत सक्षमता ल्याउन सहयोग गर्दछ । भनाइ पनि छ, बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन । तसर्थ आफ्नो प्रतिभाको प्रदर्शन गर्नाले पनि पेसागत उत्कृष्टता सशक्त बनाउन होस्टेमा हैंसे गर्दछ ।

निष्कलङ्कता : भनिन्छ, प्रतिष्ठा आर्जन गर्नभन्दा त्यसलाई निष्कलङ्क राख्न चुनौतीपूर्ण हुन्छ । जताततै बग्रेल्ती अनुशासनहीन काम भइराखेको वर्तमान अवस्थामा त निष्कलङ्कतालाई जतन गर्न झन चुनौती भएको छ । एक सभ्य सुशील एवं स्वाभिमानी आर्दश नागरिक बन्नको लागि उसको चरित्र तथा व्यक्तित्वमा कुनै किसिमको दाग लाग्न दिनु हुँदैन । सार्वजनिक पेसाकर्मीले त झन् चनाखो हुनुपर्दछ ।

सामाजिक प्रतिष्ठालाई उदाहरणीय बनाउन विकृति, विसंगति, लोभ, लालचा त्यागी व्यवहार र आचरणमा निर्मलता ल्याउन सदैव प्रयत्नशील रहनुपर्दछ । कुनै पनि प्रलोभनमा परेर आफ्नो आर्दश र नैतिकतालाई दाऊमा राख्नु हुँदैन । सेवाग्राहीको विश्वास जित्न काइते बानीलाई ढिम्किन नदिई निःस्वार्थ मन बचन कर्मले लाग्नु पर्दछ । स्वच्छ, उदार र कन्चन हृदय भएको हुनुपर्दछ । कसैको अभाव, दबाब र प्रभावमा नपरिकन कार्य सम्पादन गर्ने उत्साहित तथा ऊर्जाशील वातावरणको सिर्जना आजको खाँचो हो । जसले गर्दा कर्मचारीले अरुको आस र त्रासमा बाँच्नुपर्ने बाध्यता पर्दैन ।

निर्भीकता : आफूलाई लागेको सान्दर्भिक विषयवस्तु तथा जिज्ञासालाई निर्भीक भई प्रस्तुत गर्नाले आफ्नो बौद्धिकतालाई अद्यावधिक गर्दै परिमार्जन एवं परिस्कृत गर्न योगदान पु-याउँदछ । यसबाट आत्मसन्तुष्टि प्राप्त भई दृढ इच्छाशक्ति एवं उच्च मनोबल बनाउन मदत गर्दछ । निर्भीकता कुनै पनि क्षेत्रमा सफलता हाँसिल गर्न आवश्यक पहिलो सर्त हो । यो संसार सुराहरूको हो र इतिहास निर्माण कायरले गर्दैनन् । त्यसकारण पेसागत उत्कृष्टता हाँसिल गर्न आफ्नो योग्यता क्षमतालाई उचित ठाँउमा निर्भीकतासाथ हाकाहाकी राख्ने आँटिलो बानीको विकास गर्न पछि पर्नु हुँदैन । निर्भीक हुनाले आफ्नो मनको कुण्ठालाई माझ्न, भ्रमलाई चिर्न र उत्साही बन्न थप ऊर्जा प्रदान गर्दछ ।

निष्पक्षता : आफ्नो कार्यसम्पादनमा कुनै पनि प्रकारको प्रलोभनमा नपरी वा नातागोता आदिको आफ्नो कार्य सम्पादनमा प्रभाव नपारी तटस्थतापूर्वक कार्यसम्पादन गर्नुलाई निष्पक्षता भनिन्छ । विकृति विसङ्गति र स्वार्थी सोच र संस्कारले गाँजेको वर्तमान परिवेशमा निष्पक्षतालाई मूल मन्त्र ठानेर निर्णय प्रक्रिया टुङ्ग्याउने प्रवृत्तिको विकास गर्नु चुनौती भएको छ । त्यसकारण आफ्नो काम कारबाहीमा हाम्राभन्दा राम्रालाई प्राथमिकता दिई प्रशासन चलाउने उच्च आदर्शबाट प्रेरित हुनसकेमा निष्पक्षता कायम गराउन बल पुग्दछ । सेवाग्राहीसँग आत्मीय सम्बन्ध कायम राख्न र उनीहरूको विश्वास जित्न सक्नु पर्दछ । त्यस्तै नतिजामुखी अनुगमन, निरीक्षण, पुरस्कार र दण्डको व्यवस्थाले पनि निष्पक्षतालाई सुनिश्चित गर्न सघाउ पु-याउँदछ ।

निष्कर्षमा भन्नुपर्दा पेसाकर्मीले आफ्नो पेसागत धर्म निर्वाह गर्दैै सर्वोत्कृष्ट बन्ने दृढ इच्छाशक्ति राखेर मन वचन र कर्मले समर्पित हुनुपर्दछ । प्रशासन मायाले भन्दा न्यायले चल्नुपर्दछ । उल्लेखित नौ ‘नि’ले पेसाकर्मीलाई पदीय सफलता हाँसिल गरेर अब्बल र उदाहरणीय व्यक्तित्व विकास गर्दै सुशासनको प्रत्याभूतिको लागि मार्गदर्शनको भूमिका खेल्ने वास्तविकता हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया