Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा

दुधमा आत्मनिर्भर हुन प्रतिव्यक्ति प्रतिवर्ष १२ लिटर उत्पादन बढाउनुपर्ने


काठमाडौं ।
पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरिएको छ । पशुपन्छीजन्य उत्पादन मासु र अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर भएपछि उक्त घोषणा गरिएको हो । यद्यपि दुध उत्पादनमा भने नेपाल आत्मनिर्भर हुन सकेको छैन । विश्व खाद्य संगठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दुध, ४८ अण्डा र १४ किलो मासु आवश्यक पर्ने उल्लेख छ ।

नेपालीका भान्सामा प्रतिव्यक्ति प्रतिवर्ष ५५ अण्डा र २२ किलो माछा/मासु खपत भएका कारण सरकारले बिहीबार नेपाललाई पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरमा आयोजित एक कार्यक्रमका बीच नेपाललाई पशुपन्छीजन्य उत्पादनमा आत्मानिर्भर भएको घोषणा गरेका हुन् । नेपालमा प्रतिवर्ष एक अर्ब ६० करोड अण्डा र दुई लाख ५५ हजार मेट्रिक टन माछा/मासु उत्पादन हुनेगरेको छ । नेपाललाई दुधमा आत्मनिर्भर बनाउन भने अझै प्रतिव्यक्ति प्रतिवर्ष १२ लिटर दुधको उत्पादन बढाउनुपर्ने छ ।

उक्त घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले कृषिमा उपलब्ध अनुदान सदुपयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले दिगो कृषि विकासका लागि अनुदानको सदुयोग अनिवार्य सर्त रहेको उल्लेख गरे । सरकारले कृषिमा सस्तो ब्याज, यान्त्रीकीकरण, साना सिँचाइ आयोजना, रासायनिक मल, ढुवानी, बीमामा प्रिमियमलगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको छ । प्रधानमन्त्री ओलीले कृषिको अनुदानमा कतै ‘उल्फाको धन फुपूको सराद्ध’ नबनाउन किसान, व्यवसायी तथा सम्बद्ध निकायलाई आग्रह गरे ।

सरकारले कृषि क्षेत्रमा अनुदान बढाउँदै लगेको भए पनि उत्पादन भने सन्तोषजनक रुपमा बढ्न नसकेकामा प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गर्दै शिक्षा र सीप विकासमा युवा जनशक्तिलाई आकर्षक कार्यक्रम चलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । उनले मकैको उत्पादन घटेकामा सम्बन्धित मन्त्रालयलाई मकैको समर्थन मूल्य तोक्न र उत्पादन बढाउन तथा वनलाई कृषि वन बनाउने कार्यक्रम ल्याउन आग्रह गरे । यस्तै उनले किसानको आम्दानीलाई बचतको स्तरमा पु-याउन कृषि बीमा कार्यक्रमलाई जनस्तरसम्म पु-याउने र बीमाको किस्ता रकम (प्रिमियम) घटाउनमा जोड दिए ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ भने पशु तथा पशुजन्य उत्पादनमा १४ प्रतिशत छ । झन्डै ६८ प्रतिशत जनता कृषि पेसामा संलग्न भए पनि कृषि क्षेत्रको परनिर्भरता घट्न नसकेपछि सरकार कृषिमा वैदेशिक लगानी भित्र्याउने तरखरमा रहेको छ । कार्यक्रमा कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री कृषि आधुनकिकीकरण परियोजनमार्फत लागू भएका पकेटक्षेत्र कार्यक्रम व्यक्तिका पकेटक्षेत्र नबनोस भन्नेमा जोड दिइन् । उनले एकीकृत कृषि शिक्षा, विषमुक्त खानेकुरा र अनिकालमुक्त परिवार सरकारका प्राथमिक क्षेत्र रहेको बताइन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया