शुक्लाफाँटा आउने पर्यटकमा वृद्धि, निकुञ्जमा नेचर गाइड अनिवार्य
कञ्चनपुर ।
कोरोना महामारीका कारण नराम्ररी प्रभावित भएको पर्यटन व्यवसाय फस्टाउँदै जाने आशा पलाएको छ । पर्यटकीयस्थलहरूमा आन्तरिकसहित केही बाह्य पर्यटकसमेत पुग्न थालेपछि कोरोना महामारीले धर्मराएको पर्यटन व्यवसाय उठ्ने आशा पलाएको हो ।
पछिल्लो समय घुमघामका लागि बढी मात्रामा आन्तरिक पर्यटक पर्यटकीय स्थलहरूमा पुग्न थालेका छन् ।पर्यटन सिजन सुरु भएसँगै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने पर्यटकमा पनि बढोत्तरी भएको छ ।
सो निकुञ्जमा पछिल्लो पाँच महिनामा गतवर्षको भन्दा बढी पर्यटकले भ्रमण गरिसकेका छन् । शुक्लाफाँटा घुम्नेमा आन्तरिक नभई बाह्य पर्यटकसमेत रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार पर्यटन सिजन सुरु भएपछि कोभिड महामारीकैबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने पर्यटक बढेका छन् ।
कोरोना महामारीका कारण गएको चैत ११ गतदेखि घुमघामका लागि बन्द गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कात्तिक एक गतेदेखि खोलिएको थियो । पर्यटकका लागि निकुञ्ज खुल्ला गरिएको पाँच महिनाको अवधिमा आन्तरिक तथा बाह्य गरी एक हजार आठ सय ३७ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका छन् ।
निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार कात्तिकदेखि हालसम्म शुक्लाफाँटाको भ्रमण गर्नेमा तीन जना विदेशी र चार जना सार्क राष्ट्रका नागरिक पनि रहेका छन् । बाँकी सबै आन्तरिक पर्यटक भएको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिए । गत आर्थिक वर्ष २०७६÷७७ मा चैत ११ गतेसम्म एक हजार पाँच सय ७५ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए ।
चालू आर्थिक वर्षको पाँच महिनामै गतवर्षभन्दा बढी पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका छन् । कोरोनाका कारण पर्यटन क्षेत्र अत्यधिक प्रभावित भए पनि यो वर्ष शुक्लाफाँटामा पर्यटक आउनेक्रम उत्साहजनक रहेको सहायक संरक्षण अधिकृत चौधरीले बताए ।
एसियाकै ठूलो घाँसे मैदानमा बाहासिङ्गेको झुन्ड अवलोकनका लागि प्रख्यात शुक्लाफाँटामा तीन महिना पर्यटन सिजन मानिन्छ । फागुनदेखि वैशाखसम्म शुक्लाफाँटामा बढी पर्यटक आउनेगरेका चौधरीले जानकारी दिए । सिजनको दुई महिना बाँकी रहेकाले पर्यटक सङ्ख्या अझै बढ्न सक्ने उनले बताए । शुक्लाफाँटामा चैत, वैशाखमा अझ राम्रोसँग वन्यजन्तुको ‘साइटिङ’ हुने गर्दछ ।
सरकारबाटै नेपाल पर्यटन वर्ष सञ्चालन गरिएका कारण गतवर्ष शुक्लाफाँटामा बढी पर्यटक आउने अपेक्षा गरिएको थियो । तर, सिजनको एक महिनापछि नै कोरोना महामारी सुरु भएपछि निकुञ्ज नै बन्द गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बन्द गरिएपछि त्यहाँ कार्यरत ‘नेचर गाइड’हरू सात महिनासम्म बेरोजगार बनेका थिए ।
पछिल्लो समय पर्यटक आगमन बढेपछि आफूहरूले काम पाएको नेचर गाइड कुम ठाकुरले बताए । शुक्लाफाँटामा घुम्ने पर्यटकले अब अनिवार्यरूपमा गाइड लग्नुपर्ने व्यवस्था गरिएको छ । विगतमा विदेशी पर्यटकले मात्रै गाइड लिनेगरेकोमा यो वर्षदेखि सबैका लागि गाइड अनिवार्य गरिएको हो ।
गाइड अनिवार्य लग्नुपर्ने व्यवस्थाले आफूहरूलाई केही हदसम्म राहत भएको अर्का ठाकुरको भनाइ छ । गाइडले पर्यटकलाई विभिन्न जनावर, स्थानलगायतका बारेमा जानकारी दिनेगरेका छन् । यसका साथै, पर्यटकलाई निकुञ्जभित्र यत्रतत्र फोहोर फाल्न र हल्ला गर्न दिँदैनन् । घुमघाम गराएबापत उनीहरूले आन्तरिक पर्यटकबाट आधा दिनको लागि एक हजार र पूरा दिनका लागि दुईदेखि ढाई हजार रूपैयाँसम्म पारिश्रमिक लिनेगरेका छन् ।
त्यस्तै, विदेशीबाट आधा दिनको दुई हजार र पूरा दिन चार हजारसम्म रूपैयाँ पारिश्रमिक लिनेगरेको जनाइएको छ । नेचर गाइड एसोसिएसनका अनुसार शुक्लाफाँटामा काम गर्नका लागि यसवर्ष फेरि २५ जना नेचर गाइड थपिएका छन् । यसअघिसम्म दुई सय ५० जनालाई सो कार्यका लागि तालिम दिइएको थियो ।
शुक्लाफाँटामा बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तुका साथै हात्ती, बाह«ासिङ्गे, कृष्णसारलगायतका वन्यजन्तु र रानी, शिकारी, कालीकिच, ताराताललगायतका सिमसार क्षेत्रको अवलोकन गर्न पाइन्छ । सुदूरपश्चिम प्रदेशका प्रमुख सहरहरू धनगढी र महेन्द्रनगर नजिक परेकाले सहरमा बसोबास गर्दै आएका मान्छेहरू घुम्नका लागि शुक्लाफाँटा पुग्नेगरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया