Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पपछि गोबरग्यास विस्थापित

भूकम्पपछि गोबरग्यास विस्थापित


काठमाडौं ।
वैकल्पिक ऊर्जाको भरपर्दो माध्यमको रूपमा अत्यधिक प्रयोग गरिने गोबरग्यास अहिले विस्थापित हुँदै गएको छ । २०७२ सालको भूकम्पअघि दोलखाका प्रायः सबै नागरिकले वैकल्पिक उर्जाको रूपमा गोबरग्यास प्रयोग गर्दै आएका थिए । भूकम्पले घरसँगै वायु ऊर्जा गोबरग्यासका संरचनालाई पनि ध्वस्त पारेपछि यहाँका नागरिकले त्यसलाई पुनः सञ्चालनमा नल्याएका हुन् ।

दोलखाको बैतेश्वर गाउँपालिका पाइलेका जगतबहादुर बस्नेतले करिब १० वर्ष गोबरग्यासको प्रयोग गरेर खाना तथा बत्ती बालेको बताए । एक पटक निर्माण गरेपछि वर्षौँ प्रयोग गर्न सकिने गोबरग्यासलाई भूकम्पले ध्वस्त पारेको र त्यसपछि अहिले गोबरग्यास बनाउने मिस्त्री पाउन छाडेको उनले बताए ।

भूकम्पले घर मात्र होइन सयौँको संख्यामा रहेका दोलखाका गोबरग्यास प्लान्टलाई पनि क्षति पु-याएको यसका प्रयोगकर्ताहरू बताउँछन् । खाना पकाउन दाउरा, एलपी ग्यास नचाहिने, धुवाँ नआउने, भाँडा कालो नहुनेजस्ता कारण गोबरग्यास समुदायमा लोकप्रिय छ । अझ शौचालयको भरपर्दो सेफ्टी ट्याङ्की गोबरग्यासको प्लान्ट हो । ‘न भरिने डर थियो न गनाउने समस्या नै थियो’, स्थानीय गणेश बस्नेत भन्छन् । उनले ६७/६८ सालमा २०/२२ घण्टा लोडसेडिङ हुँदा वैकल्पिक उपायको रूपमा गाउँमै पहिलो पटक गोबरग्यास निर्माण गरेको बताए । त्यसपछि साबिक वडामा २०/२५ वटा गोबरग्यास निर्माण भएका थिए । तर अहिले गाउँमा भत्केका र टुटेफुटेका गोबरग्यास मात्र फेला पर्ने उनले बताए ।

वैकल्पिक ऊर्जाको रूपमा प्रयोग हुने तथा खाना बनाउने ग्यास र राम्रो कम्पोस्ट मल गोबरग्यास भएको उनले सुनाए । ग्रामीण समुदायमा बसोबास गर्ने कृषकका घरमा लोकप्रिय बनेको गोबरग्यास पुनः निर्माण गर्न अहिलेका स्थानीय निकायले चासो दिए यसको पुनः प्रयोग गर्न सकिने दोलखाका नागरिकले बताउँदै आएका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया