Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकर्मचारीलाई तलब बेहोर्न नसक्दा बन्द रहेको पीसीआर प्रयोगशाला सञ्चालनमा

कर्मचारीलाई तलब बेहोर्न नसक्दा बन्द रहेको पीसीआर प्रयोगशाला सञ्चालनमा


बझाङ ।
दुई महिनादेखि कर्मचारीको तलब बेहोर्न नसक्दा जिल्ला अस्पतालमा रहेको पीसीआर प्रयोगशालामा पुनः सञ्चालनमा आएको छ । जिल्लाका सबै स्थानीय तहले कर्मचारीको तलब बेहोर्ने ग्यारेन्टी गरेपछि प्रयोगशाला पुनः सञ्चालनमा आएको हो ।सोमबार मात्रै भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द रहेको पीसीआर प्रयोगशाला पुनः सञ्चालनका लागि प्रत्येक पालिकाले एक÷एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो । प्रयोगशाला सञ्चालन भएपछि परीक्षण गर्न सहज हुने र यसले संक्रमण नियन्त्रणको सहयोग पुग्ने स्थानीयले विश्वास गरेका छन् । यसले संक्रमण नियन्त्रणमा सहयोग पुग्ने डाक्टर बताउँछन् ।

उनले पहिले नै पीसीआर प्रयोगशालामा काम गरिसकेका र तलब दिन नसकेर बिदा गरिएका कर्मचारीलाई फिर्ता बोलाएर प्रयोगशाला सञ्चालन गरिएको बताए । यसैबीच, बझाङमा दुई हप्ताको अवधिमा चार सय ७७ नमूना परीक्षण गदौ एक सय पाँच जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित धेरैजसोमा कडा खालका लक्षण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताएका छन् ।

‘यो लक्षण देखिएर उपचारका लागि आउनेहरूको परीक्षण गर्दा भेटिएका संक्रमितको संख्या हो,’ उनले भने, ‘संक्रमितहरूको सम्पर्कमा आएका र शंकास्पद सबैको परीक्षण गर्ने हो भने यो संख्या सात÷आठ गुनाले बढ्नेवाला छ ।’ उनले जिल्लामा संक्रमण तीव्ररूपमा फैलिँदै गएको भए पनि सुरक्षा मापदण्ड नअपनाइएको प्रति चिन्ता व्यक्त गर्दै भने, ‘मानिसहरू मास्कविनै हिँडिरहेका छन् । भारत र बाहिरी जिल्लाबाट आएकाहरू सोझै परिवार र समुदायका सम्पर्कमा गएका छन् । यसले जोखिम बढाउने निश्चित छ ।

संक्रमितहरू बढ्दै गएपछि जिल्ला अस्पतालको आइसोलेसन भरिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए अस्पतालको पूर्वाधार र जनशक्तिले थेग्न नसक्ने अस्पतालले जनाएको छ । ‘अहिले हामीले निकै जटिल अवस्थाका बिरामीलाई मात्रै भर्ना गर्ने गरेका छौँ तर संक्रमितहरूको संख्या दिनदिनै बढ्न थालेकाले आइसोलेसन भरिनलागेको छ, जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले भने, ‘यही गतिमा बिरामी थपियो भने दुई÷चार दिनमै आइसोलेसन भरिनेवाला छ, त्यसपछि के गर्ने ? केही उपाय छैन ।’ अहिले जिल्ला अस्पतालको कोभिड वार्डमा १० गम्भीर बिरामीको उपचार भइरहेको छ ।

१५ शय्याको आइसोलेसन भरिए बिरामी कहाँ राख्ने भन्ने चिन्ता रहेको डा. खड्काले सुनाए । अस्पतालमा रहेका दुई वटा भेन्टिलेटर पनि तालिम र जनशक्ति अभावमा पूर्णरूपमा सञ्चालनमा आउन नसकेकाले बिरामीको उपचारमा जटिलता थपिएको बताउँदै उनले यही दरमा संक्रमितहरू थपिँदै गएमा अक्सिजनको समेत अभाव हुने बताए । कोभिड संक्रमण बढ्दै गएका कारण अस्पतालमा रहेका सीमित स्वास्थ्यकर्मीहरू कोभिड केन्द्रित हुनुपरेकाले जिल्ला अस्पतालले दिने आपत्कालीनबाहेकका सबै सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ ।

संक्रमणको जोखिम बढ्दै गएपछि बझाङका बजार बन्द
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बझाङ सदरमुकाम चैनपुरलगायत साना तथा ठूला बजार बन्द हुने भएको छ । बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा संक्रमण देखिन थालेको निष्कर्ष निकाल्दै शुक्रबारबाट बजार बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा संक्रमणदर बढदै गएकाले अर्को सूचना जारी नभएसम्मका लागि बजार बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले बताए । जथाभावी आवतजावतले जोखिम बढाएकाले सदरमुकाम चैनपुरमा आवतजावतमा पनि रोक लगाइएको छ । सबै स्थानीय तहमा २० शय्याको आइसोलेस वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको उनले जानकारी दिए । स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाबाहेकका खाद्यान्न, तरकारी र ग्यास पसल बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खुला हुने उनको भनाइ छ । उनले बच्न औषधोपचार तथा अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन पनि आह्वान गरे । बझाङमा अहिले कोरोना संक्रमितको संख्या एक सय २२ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । संक्रमितको संख्या बढेसँगै परीक्षणको दायरा बढाउन पीसीआर प्रयोगशाला पनि सञ्चालनमा ल्याइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया