Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात सय ५० स्थानीय तहमा पुगे वाणिज्य बैंकहरु

सात सय ५० स्थानीय तहमा पुगे वाणिज्य बैंकहरु


काठमाडौं ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले सात सय ५० स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको नौ महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र रहेको छ । जसमध्ये धादिङ जिल्लाको रुबीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी तीनवटा जिल्लाको तीन स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी देखिएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या भने यस अवधिमा एक सय ४० कायम भएको छ । सोअनुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक, २० वटा फाइनान्स कम्पनी, ७४ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।

राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७७ चैत मसान्तसम्ममा कुुल दुई सय १६ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ६४ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ५२ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने १० हजार पाँच सय ४६ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार सात सय दुई, विकास बैंकहरुको एक हजार १३, फाइनान्स कम्पनीहरुको दुुई सय ६३ र लघुवित्त वित्तीय संस्थाहरुको चार हजार पाँच सय ६८ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो भने २०७७ असार मसान्तमा यस्तो संख्या नौ हजार सात सय ६५ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७७ को चैत मसान्तसम्ममा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा सबैमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा सबैमा बैंकहरुको शाखा पुगेको छ । वाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । यसैगरी गण्डकी प्रदेशका ८५ र लुम्बिनी प्रदेशका एक सय नौवटै स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ ।

यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ वटामा बैंकहरुको शाखा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा भने ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेका छन् ।

एक पटकमा ३५ हजार अमेरिकी डलरसम्मको सटही सुविधा
नेपाल राष्ट्र बैंकले एक पटकमा ३५ हजार अमेरिकी डलरसम्मको सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त सुविधा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै राष्ट्र बैंकले वर्तमान अवस्थालाई ध्यानमा राखेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ सेवा विभागको सिफारिसमा कोभिड १९ सँग सम्बन्धित औषधिजन्य वस्तुु आयातको लागि उक्त सुविधा दिएको राष्ट्र बैंकले जनाएको छ । टीटीमार्फत गरिने सटही सुविधाको हकमा भने २५ हजार अमेरिकी डलर कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच, राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँबराबरको १४ दिने अवधिको रिपो जारी गरेको छ । रिपोको परिपक्व हुने अवधि यही जेठ १३ गते तोकिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया