महासंघद्वारा कोभिड संक्रमितको लागि आइसोलेसन सेन्टर सञ्चालन
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेसनको सहयोग र सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा ड्राई (अक्सिजन र आपत्कालीन उपचारविनाको) आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।
महासंघका अनुसार आइसोलेसन सेन्टरमा प्रारम्भमा जम्मा २६ बेड रहनेछन् र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना छ । कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्न समस्या परेका न्यून आय भएकाहरूलाई लक्षित गरी उक्त सेन्टर सञ्चालनमा ल्याएको महासंघले जनाएको छ । न्यून आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलिन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पु-याउने उद्देश्य महासंघको छ ।
आइसोलेसनका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलब्ध गराएको छ भने आरम्भ फाउण्डेसनले आइसोलेसनको दैनिक व्यवस्थापन र सञ्चालन गर्ने जिम्मेवारीसहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सकको व्यवस्था गरी आइसोलेसनमा रहेका संक्रमितहरूको २४सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्शसहित औषधि उपचारको प्रबन्ध गर्नेछ । स्थानीय तहमा संक्रमितहरूसँग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले सहयोग गर्नेछ ।
महासंघका अनुसार आइसोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको प्रबन्ध गरिनेछ । केन्द्रमा अक्सिजनबाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलब्ध गराइनेछ । आइसोलेसनमा रहँदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय महासंघले गरिदिनेछ भने तत्पश्चात्को सम्पूर्ण व्यवस्थापन बिरामी आफैँले गर्नुपर्नेछ । केही व्यावहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई भने सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले कतिपय संक्रमितहरू संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने न्यून आय भएका वर्गहरूलाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न महासंघले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको बताए । महासंघको कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यले विभिन्न संघ-संस्थाहरूको सहयोग र समन्वयमा यस्ता सेन्टरहरू अन्य ठाउँमा पनि विस्तार गर्दै जाने योजना रहेको बताए ।
सामूहिक आइसोलेसन भएको कारण ज्येष्ठ नागरिक, दीर्घरोगीहरूलगायत १५ वर्षमुनिका बालबालिकालाई पनि यस केन्द्रमा हाललाई सेवा दिन नसकिने तर निकट भविष्यमा केही थप व्यवस्था गर्दै जाने आचार्यको भनाइ छ ।
महासंघले कोभिड–१९ को नयाँ भेरिएन्टको संक्रमणको महामारीबाट आक्रान्त आमसर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको र सोही अभियानअन्तर्गत उक्त आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । महासंघले यसअघि कोभिड संक्रमितहरूलाई उचित स्वास्थ्य परामर्शका लागि हेल्लो डाक्टर सञ्चालनमा ल्याइसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया