Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसतर्कताको अभावले निम्त्याएको पीडा

सतर्कताको अभावले निम्त्याएको पीडा


काठमाडौं ।
विश्व महामारीको रुपमा रहेको कोभिड–१९ को पहिलो चरणको जोखिमलाई विश्वका अन्य मुलुकको तुलनामा गत वर्ष केही हदसम्म न्यून जोखिम बहन गर्न सक्षम रहेको नेपालमा पुनः एक पटक उर्लँदो द्रोस्रो लहरको पीडाले नेपाली नागरिकलाई नराम्ररी त्रसित बनाएको छ  । हुन त चिकित्सा विज्ञानको क्षेत्रमा भएको सोध, खोज र सफलतापश्चात् खोपको विकास भइसकेको वर्तमान अवस्था समेत हो । जसले यस क्षेत्रमा आशाका नौलो किरणहरु मानव सभ्यतालाई प्रवाहित गराउँदै जीवनप्रति सकारात्मक बन्न उत्साह एवं प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिन सकिन्छ । तथापि खोपको प्रभावकारिताको सन्दर्भमा शतप्रतिशत ढुक्क भएर रहनसक्ने परिस्थितिको निर्माण भइनसकेकोले स्वास्थ्य सुरक्षाका विविध उपायलाई अवलम्बन गर्दै आफू र आफ्नो समूहलाई सुरक्षित राख्नु नै कोरोना कहरको जहरबाट बच्ने उत्तम एवं भरपर्दो विकल्पको रुपमा औँल्याएको पाइन्छ ।

यसप्रकारका महामारीको पीडा मानव सभ्यताको लागि कुनै नौलो अनुभव भने पक्कै पनि होइन । किनकि यसपूर्व विभिन्न कालखण्डमा पनि विश्व समुदायमा करोडौँको संख्यामा जनधनको क्षति व्यहोरेको ऐतिहासिक तथ्यले प्रमाणित गर्दै आएको पाइन्छ । उपरोक्त तथ्यलाई मनन गर्दै यसको स्वरुपको सन्दर्भमा के भन्न सकिन्छ भने, कुनै पनि महामारीजन्य व्यवहार प्रारम्भिक अवस्थामा भयावह रहनुको साथै केही समयपछि न्यूनरुपमा भए पनि केही शिथिल रहनु तत्पश्चात् पुनः उग्रता कायम राख्न उद्यत रहनु यसको विशेषताका अनेकन रुपमध्येको एक रुप मान्दा फरक नपर्ला । सुरुवाती अवस्थापश्चात् शिथिलजन्य व्यवहारका कारण संक्रमणको दरमा न्यूनताको भ्रम सिर्जना भई समस्या समाधानमा जटिलता उत्पन्न गराई संक्रमणको बिन्दु हाल आएर क्रमशः अत्यधिकतातर्फ उन्मुख रहनजाने व्यवहार देखिएको हुँदा द्विविधा उत्पन्न हुनगएको मात्र हो ।

जसको परिणाम स्वरुप कोभिड–१९ को द्रोस्रो लहरले देखाएको दृष्टान्तलाई लिन सकिन्छ । किनकि केही हदसम्म महामारीको लहरले उच्चतम बिन्दु हासिल गरेपछि मात्रै यसको दरमा क्रमबद्ध रुपमा न्यूनताउन्मुख गतिमा अग्रसर रहने देखिन्छ । यस हिसाबबाट हेर्दा पनि हाल मुलुकमा देखिएको संक्रमणको उच्चतम प्रभावकारिता अझै केही समय हामीसामू रहिरहने निश्चित छ ।

अन्य रोगजन्य पीडाजस्तै लामो समयसम्म मानव समाजमा यसको पीडा र असर रहने तथ्य यस क्षेत्रका जानकारहरुले औँल्याएका छन् । हुन त राज्यले नागरिक हितको लागि केही असहजता उत्पन्न हुने भए पनि अप्रीय निर्णय लिँदै प्रदेशगत आधारमा आवश्यकताअनुसार लकडाउन, निषेधाज्ञा वा सवारीसाधनमा जोर–विजोर प्रणालीलाई अवलम्बन गर्दै नागरिक स्वास्थ्यप्रति गम्भीर रहेको तथ्यलाई ऋणात्मकरुपमा हेरिनु तर्कसंगत कदम मान्न सकिँदैन । यसै सन्दर्भमा अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मी होस् अथवा प्रहरीको जमात नै किन नहोस् उक्त समूहको मनोबल उच्च राख्ने कार्यमा सधैँ नै सहयोगीको हितभावले कार्य गर्नुपर्नेहुन्छ ।

उक्त समूहमा अन्य नागरिक समुदायको भन्दा संक्रमणको जोखिम सधैँ नै उच्च रहने हुँदा अत्यन्त संवेदनशील भएर कार्य गर्नुपर्नेछ । किनकि उक्त समूह जोखिमले भरिपूर्ण रहेको अवस्थामा सो समूहद्वारा प्रदान गरिने सेवा समेत जोखिम रहने तथ्यलाई मनन गर्दै नागरिक समाजले अत्यन्त अनुशासित एवं संयमित रहेर सहयोगीको हितभावले कार्य गर्नु नै कोरोना सुनामीको जटिलतालाई न्यूनता कायम राख्नु सरहको व्यवहार हो भन्दा फरक नपर्ला ।

वास्तवमा भन्ने हो भने अबका दिनमा हामी मानव जातिले यसको जोखिमसँगै अत्यन्त सावधानीपूर्वक आफ्ना दैनिकीलाई सुचारु गर्नुपर्ने अवस्था तयार भइसकेको छ । संक्रमणको दर अत्यधिक भएकै कारण कतिपय नेपाली दाजुभाइ तथा दिदीबहिनीले सामान्य अवस्थामा प्राप्त गर्नुपर्ने अक्सिजनलगायतका औषधिको अभावमा छटपटिएर मृत्यूवरण गर्नुपरेको हृदयविदारक तस्बिरलाई मनन गर्दै आफू बाँचौँ–बचाऔँ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आज कायम रहेको हाम्रो सामाजिकलगायतका अन्य व्यवहारलाई निश्चितरुपमा परिवर्तन गर्नु समयको माग हो । आज मुलुकमा देखिएको संक्रमणको दर यति भयावह छ कि, यसलाई समयमा नै नियन्त्रण गर्न नसक्ने हो भने, निश्चितरुपमा मुलुकको स्वास्थ्यसेवाप्रति नागरिक समाजको विश्वास गुम्ने खतरा पनि त्यत्तिकै रहेको पाइन्छ ।

त्यसो भएको हुँदा राज्यले नागरिकको स्वास्थ्यप्रति अत्यन्त संवेदनशील रहँदै संविधानत प्राप्त हुनुपर्ने न्यूनतम स्वास्थ्य मानव अधिकारका कतिपय बुँदालाई ध्यानमा राख्दै सहुलियपूर्ण ढङ्गबाट स्वास्थ्य सुविधा उपलब्ध गराउनु मानवीय एवं लोकतान्त्रिक राज्य व्यवस्थाको नागरिक समाजप्रतिको असल दायित्वको अब्बल नमूनाको रुपमा यसलाई लिन सकिन्छ  ।

वर्तमान परिवेशमा कोरोना कहर सुनामी लहरजस्तै दिन प्रतिदिन तीव्र गतिमा अगाडि बढ्दै गएको पाइन्छ । जुन निकै नै चिन्ता एवं दुःखको विषय समेत हो । बढ्दो कोरोना सुनामीको लहरलाई न्यून गर्न प्रत्येक सचेत नागरिकको हैसियतले आफू र आफ्नो समूहलाई आत्मअनुशासनको घेराभित्र राखी व्यक्ति, समाज र राष्ट्रलाई कोरोना सुनामीको महाविपत्तिबाट टाढा राख्न ठूलो सहयोग पुग्ने देखिन्छ ।

मानौँ कुनै एक व्यक्ति अनाहकमा आवश्यक कामको बहाना बनाउँदै समाजमा घुलमिल गर्ने प्रयास गर्छ भने सुरुको अवस्थामा उक्त व्यक्ति वा समुदाय स्वस्थ्य रहे पनि कुनै कारणवश संक्रमित रहन गई त्यहाँबाट स्थानान्तरण रहने संक्रमणको दर कतिसम्मको भयावह रहन्छ भन्ने तथ्यलाई हाम्रै छिमेकी मुलुक भारतको अनुभवबाट पाठको रुपमा लिन सकिन्छ ।

यदि हामीले भारतमा देखिएको प्रारम्भिक तहको संक्रमणको अवस्थालाई मध्यनजरमा राख्दै नेपाल–भारत सीमालगायतका अन्य मानवीय व्यवहारका विविध गतिविधिलाई समयमा नै व्यवस्थित एवं नियन्त्रित गर्न सक्षम रहेको भए निश्चितरुपमा आज मुलुकमा कायम रहेको कोरोना सुनामीको दरमा न्यूनता छाउने कुरामा हामी कसैको पनि दुईमत रहन सक्दैन ।

महाव्याधिको दरमा आएको तीव्रतालाई समयमा नै आकलन गर्न नसकेकै कारण मुलुकको स्वास्थ्य क्षेत्रलगायत नागरिक स्वास्थ्य सुरक्षा संवेदनशीलता आएको गम्भीरतालाई व्यवस्थित गर्ने सन्र्दभमा आएको अनेकन चुनौतीमध्येको एक चुनौतीको रुपमा नेपाल–भारतखुला सीमाक्षेत्रलाई समयमा नै यथोचितरुपमा व्यवस्थापन गर्न नसक्नुलाई लिन सकिन्छ ।

यसका अतिरिक्त जनचेतना एवं व्यक्ति–व्यक्तिको आत्मअभिमानका कारण अनुशासन हिनताको पराकाष्टाको प्रभावस्वरुप नेपाललगायत विश्व परिवेशमा कोरोना संक्रमणको द्रोस्रो प्रभावको सुनामी लहरको कारण मानवजातिको अस्तित्व लोपउन्मुख मार्गमा अगाडि बढ्ने त होइन भन्ने त्रास आम नागरिक समाजमा जन्माएको पाइन्छ ।

किनकि विश्वमा यस्तै प्रवृतिका रोगजन्य प्रभावका कारण कतिपय जीवको अस्तित्व लोप भएझैँ यदि समयमा नै सर्वश्रेष्ठ चेतनशील सामाजिक प्राणी मानवजातिले आफ्नो र भावी पुस्ताको अस्तित्व लोपउन्मुख खतराबाट पृथक राख्नको लागि कोरोना सुनामीको दरलाई न्यून गर्न आवश्यक पर्ने हरसम्भवका उपायलाई पालना गर्ने प्रण गरौँ । जुन मानव जीवन रक्षाको लागि अमूल्य वरदान साबित बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै सतर्कता अपनाउन हरेक समुदायले अनुशासनको घेरालाई नाघ्ने प्रयत्न कदापि पनि नगरौं । जसमा हामी मानव समुदायको भलो रहनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया