Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली सिनेमा : भारतीय प्रभाव, भ्रम र यथार्थ

नेपाली सिनेमा : भारतीय प्रभाव, भ्रम र यथार्थ


काठमाडौं ।
कोभिडका कारण गत वर्ष २०७७ नेपाली फिल्मको लागि अभिशाप सिद्ध भयो र यो वर्ष २०७८ पनि नेपाली चलचित्र उद्योगको लागि अभिशाप सिद्ध हुने पक्कापक्की देखिन्छ । गत वर्षको अनुभव र भोगाइलाई मध्यनजर गर्दै यो वर्ष २०७८ मा धेरै चलचित्र निर्माण हुने सम्भावना छैन किनकि यतिबेला हामी कोभिडको भयावह अवस्था झेलिरहेका छौँ । जीवनको ३ कुराहरू आर्थिक, सामाजिक र राजनीतिकरूपमा जब एउटा व्यक्ति वा समाज सबल रहन्छ तब मात्रै मनोरञ्जनको कुराहरू आउँछन् । एउटा समस्याग्रस्त व्यक्ति मनोरञ्जनका लागि कहिले पनि तयार रहन सक्तैन ।

यतिबेला हाम्रो देश मात्रै होइन छिमेकी देश भारत पनि कोरोनाबाट धेरै भयभित छ । हरेक दिन बाँच्न पाएकोमा गौरव अनुभूति गरिरहेका छौँ अहिले हामी । मानिसहरू अक्सिजन नपाएर भुतुभुतु मरिरहेका छन् । राज्य केही व्यावस्थापन गर्न नसकी निरीह बनिरहेको छ । भारतसँग सिमाना जोडिएको देशको नाताले पनि त्यता फैलिएको सक्रमण रोगलार्ई हामी नेपालीले जबर्जस्त स्वागत गर्नुपर्ने बाध्य हुँदोरहेछ । भारतसँग सीमा मात्रै होइन संस्कृति धर्म रीतिरिवाज चालचलन पनि जोडिएको छ । नेपालमा आधुनिक फिल्महलहरू धमाधम बन्ने क्रममा थिए । नेपाली चलचित्रलार्ई हिन्दी चलचित्रले डोमिनेट गरिरहेकै बेलामा केही राम्रा फिल्महरू बनिरहेका पनि थिए ।

हिन्दी फिल्मबाट पूर्ण प्रभावित हामीले केही राम्रा चलचित्र बनाउन थालेका पनि थियौँ तर दुर्भाग्यपूर्ण अवस्था आइदियो । यतिबेला नेपाली चलचित्र उद्योग नै बन्द हुने अवस्थामा छ । जतिबेला फिल्मको उद्योगले एउटा गति लिएको थियो त्यतिबेला हामीलार्ई हिन्दी फिल्म प्यारो भो अनि जतिबेला नेपाली चलचित्रले अलिकति शिर उठाउन थालेको थियोे कोभीडको दशा सुरु भयो । जतिबेला हामीले हाम्रो चलचित्र भनेर चिन्न थाल्यौँ त्यतिबेला नै यो महामारी सुरु भयो । अब हलहरूमा निर्धक्क भएर फिल्म हर्न जान सक्ने दिन कहिले आउला सबै त्यसको प्रतीक्षामा छौँ । ३०–४० वर्षसम्म नेपालमा हिन्दी चलचित्रले एकछत्र राज गरेकै हो । हामी भारतीय चलचित्रको अन्धभक्त भएकै हो । शायद नेपालमा नेपाली कथामा राम्रो चलचित्र बन्न नसकेको कारण पनि हुनसक्छ ।

हामीले अर्काको उत्पादनमा आदत बसाल्यौँ र आर्काकै कुराहरू सहज लाग्ने बानी पा¥यौँ हामीमा । विषादी मिसिएको भए पनि हामीलार्ई विदेशीकै तरकारी मीठो लाग्छ । यो आदिम आदत पालेर बाँचेको हामी नेपालीले धेरै भो । अब यस्तो आदतको अन्त्य हुनुपर्छ भन्ने कुरामा हामी सबै सहमत हुनु जरुरी छ । फिल्म हिन्दी नै राम्रो । हिरोहिरोनी हिन्दी नै राम्रा । कथा हिन्दी नै राम्रो । संस्कार संस्कृति हिन्दी नै राम्रो । ओखती उपचार उतैको राम्रो । उतैको आशीर्वादविना हाम्रो राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्र सञ्चालित हुँदैनन् ।

केही वर्षअगाडि नेपाली सिनेमाका हलहरूमा भारतीय चलचित्रको एक छत्र बोलवाला थियो । अहिले परिस्थिति फेरिएको छ । नेपाली चलचित्र कम बनेर मात्रै होइन अपितु निर्माण गर्नेले दर्शकको अभिरुचि कतातिर गैरहेको छ, दर्शकले कस्तो चलचित्रलार्ई महत्व दिन्छन् भन्ने कुराको हेक्का नहुँदा कति महँगा लगानीमा निर्माण भएका चलचित्र पनि फ्लप भए । कतिका नामनै नसुनी थन्किए । कति त हलमा लागेको भोलिपल्ट नै ओर्लिए ।

अहिले एउटा सामान्य चलचित्रको निर्माण बजेट एक करोडको हुन्छ तर आजभन्दा दश वर्ष अगाडि पनि निकै महँगो बजेटमा चलचित्र बनेका थिए । तर ती चलचित्रले फाइदा त के क्यामराको भाडा पनि उठाउन सकेनन् होला । माइतीघर हुँदै कुसुमे रुमाल र दर्पण छायासम्म विसुद्ध नेपाली समाजको सुगन्ध बोकेर फक्रिरहेको नेपाली सिनेमाले लुट र चपली हाइटसम्म आइपुग्दा यस्ले आफ्नो बाटो फे-यो । र फेरि पशुपति प्रसादमा आइपुग्दा नेपाली चलचित्रलाई हेर्ने सोचमा परिवर्तन आयो । धेरै महँगो लगानी गरेर झिलिमिलिझ्याइमा फिल्म बने भन्दैमा ती चलचित्र हिट हुन्छ वा धेरै कमाउँछ भन्ने सोचाइमा पशुपति प्रसादले एउटा गतिलो शिक्षा दिएको छ नेपाली सिने उद्योगलार्ई ।

विशुद्ध नेपाली कथालार्ई प्रविधिको युगीन आँखामा राखेर सामान्य दर्शकले पनि सजिलोसँग बुझ्न र पछ्याउन सक्ने चरित्र उतार्ने हो भने चलचित्रले कसैलार्ई पनि डुबाउँदैन । कथालार्ई भन्दा प्रविधिलार्ई हाभी हुन दिइयो भने पञ्जा लगाएर भात खाएजस्तो हुन्छ सिनेमा । कथामा आफ्नोपन कहिले मर्न दिनुहुन्न यो कुरा सबै निर्देशकदेखि निर्माताहरूले ध्यान दिनु अनिवार्य छ । कथा मीठो भएको नेपाली चलचित्र फ्लप खाँदैनन् । फलानो सिनचाहिँ हिन्दी फिल्मको यति नम्बरको सिनजस्तो होस् भनेर फ्रेम नै चोरेर नेपालीकरण गर्नखोज्ने निर्माता पनि छन् नेपाली सिने जगतमा । फिल्म बुझ्ने मान्छेले नै हो फेरि त्यसो गर्ने । यहाँ सङ्गीत जान्नेहरूले नै हो नेपाली सङ्गीत बिगारेर गाउन लगाउने । बुझेकाहरूले नै बिगार्ने हुन् ।

एक पटक नेपाली चलचित्र भवनहरूमा भारतीय चलचित्र बाहुबली चलेको थियो । यसले नेपाली दर्शकहरूको ध्यान यसरी खिच्यो कि हरेक गल्ली, चोक, रेस्टुरेन्ट, सडक र सदनसम्म बाहुबलीमय भयो । फ्लाइट उडाउने पाइलटदेखि गाडी गुडाउने चालकसम्म, बसपार्कदेखि रत्नपार्कसम्म, भोट हाल्न लाइन बसेकादेखि पेट्रोलको लाइन कुरेकासम्मलाई बाहुबलीको भुतले छोपेको थियो । त्यतिबेला नेपालमा स्थानीय चुनाव हुँदैथियो । चुनावी चर्चालार्ई समेत भारतीय फिल्म बाहुबलीले छायामा पारेको थियो भनेसी कति शक्ति रहेछ त्यो बाहुबलीमा ? यस्तो लाग्थ्यो कि हामी मखनमा टाँसिएर मर्न लागेका माखा हौं । मुखभरि घिउ छ प्राण उड्न लागेको अन्तिम पलको झिँगा, पँखेटाको फिर्फिरे हल्लाउँदै घिउ निलेर अन्तिम स्वास लिँदै छौँ । बाहुबली मखन हो त्यस्को चिप्लोमा च्यापिएर हामी स्वास लिँदै छौँ ।

१८ करोड लुटेर लगे उनीहरूले हामीसँग त्यतिबेला । हामी त्यही जादुमा मस्त रमायौँ । हामी त रोममा आगो लाग्दा बासुरी बजाएर रमाइलो मान्ने निरोजस्तै पो भए छौं त्यो बेला । फिल्मले त्यति धेरै चर्चा पाएको मैले आफ्नो जिन्दगीमा पहिलोपटक देखेँ । बाहुबलीका कतिपय दृश्यहरू एनिमेसन थिए । एनिमेसन भनेको प्रविधिको सहयोगबाट कृत्रिम दृश्यहरू सिर्जना गर्नु जो दृश्य कलाकारबाट गराउन सम्भाव रहँदैन । एनिमेसन कृत्रिम दृश्य हो तर त्यही दृश्यले दर्शकको मन तान्यो र फैलियो जनजिब्रोमा र राम्रो व्यापार ग-यो चलचित्रले । हामी हाम्रो आफ्ना कथालार्ई रुचि दिँदैनौ तर कृत्रिम दृश्यलार्ई भने रुचाउँछौं । हाम्रो समस्या भनेको यही हो । दर्शकले सिनेमाको गहिराइभन्दा नि सतहीमा के छ भनेर विचरण गर्छ । सिनेमा दर्शन होइन यो त कला हो मान्छेभित्रको जीवन बिम्ब ।

कसले भन्यो हामीसँग हिन्दी सिनेमाको भन्दा पनि अब्बल कथा छैन भनेर ? कसले भन्यो हाम्रा जनकपुरवासी राजा जनक र सीताको त्यो कथा कुनै भारतीय कथा भन्दा कमसल छ ? कसले भन्यो हाम्रा वीर बलभद्र अमरसिंह र भिमसेन थापाहरूको त्यो वीरत्वको युगीन कथा ती भारतीय झाँसीकी रानीको कथाभन्दा कम छ ? कसले धावा बोल्यो कि हाम्रो पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको अभियानका कथा ती भारतीयको भन्दा कम छ ? के यी विषयमा हामीले कहिले फिल्म बनाउन पर्छ भनेर सोच्यौँ ? र प्रयास ग-यौँ ?

Open Photo

हाम्रा नेपाली चलचित्र निर्देशक र निर्माणकर्ताले हाम्रा आफ्नै यी विषयलार्ई धुलोमुनि राखे र भारतीय चलचित्रलार्ई सिरानीमा राखे के यही हो हाम्रो रष्स्ट्रप्रेम ? के यही हो हाम्रो राष्ट्रभक्ति ? बुद्ध र यशोधरा त हाम्रा हुन् नि । बलबाहु (अरनिको ) त हाम्रा हुन् नि । भृकुटी त हाम्री हुन् नि । तर किन वीर गणेशमान फिल्म बन्दा हल खाली हुन्छ ? अनि त्यही हलमा बाहुबली चल्दा हाउसफुल हुन्छ ? हामी इतिहासमा कहिले पनि भारतीयहरूको कब्जामा थिएनौँ तर किन हामी आफैँ त्यो दासताको जञ्जिरभित्र बाँधिन मरिहत्ते हाल्छौँ ? हामी आफ्ना पुर्खालार्ई सराप्छौँ तर भारतीयहरू त्यही आफ्ना इतिहास र पुर्खामाथि बनाएको सिनेमा हामीलार्ई बेचेर १८ करोड कुम्ल्याउँछन् ।

हामी अमिर खान, सारुख खान र सलमान खानहरूका अन्धभक्त हौं । तिनले खुट्टा उचाल्दा पनि हामी आहा ! क्या राम्रो कला प्रदर्शन ग¥यो भन्छौं तर त्यही कला हाम्रा आर्यन सिग्देलहरूले गरेको हामीलार्ई मन पर्दैन । ८० वर्ष पुग्नलागेका बुढा अमिता बचनले डायलग डेलिभरी गरेको हामीलार्ई मीठो लाग्छ तर ५० वर्ष नपुग्दै हाम्रा राजेश हमालहरू थन्किन्छन्, शिव श्रेष्ठहरू पाखा लाग्छन् र भुवन केसीहरू पालो कुर्छन् किन यस्तो ? चामल भारतसँग किनेर खायो भन्दैमा, गाडी भारतीय पेट्रोलले गुडाउनु प-यो भन्दैमा संस्कृति कलामा पनि हामी भारतकै हस्तक्षेप सहेर बस्ने हो र ? के हाम्रो आफ्नो खुशी पनि भारतसँगै सापट लिनुपर्ने हो र ? हामीभित्र एउटा यस्तो शक्तिशाली गिरोह छ जसले नेपाली फिल्म राम्रा इतिहासमा बन्नै दिँदैन र नेपाली सिनेमा राम्रो बन्यो भने भारतीय चलचित्रको बजार नेपालमा फैलिन पाउँदैन भन्ने डर छ तिनीहरूलार्ई । भारतको हुन्डी खाएर पालिनेहरूले आफ्नै धरतीको सम्पत्ति सीमा काटिँदा पनि तिनको निरो मन रमाएर बस्छ ।

के थियो र त्यस्तो बाहुबलीमा जसलाई हामीले इतिहासमा आएको आफ्नो स्थानीय चुनावमा भोट हाल्नै नगएर बाहुबली हेर्न गएका थियौँ त्यो बेला ? के छ बाहुबलीमा त्यस्तो जादुगिरी जो हाम्रो संस्कृतिमा/इतिहासमा थिएन ? गोरुको टाउकोमा आगो बालेर लडाइँ गरेको त्यही यनिमेसन, त्यही लडाइँ, झगडा, मारकाट, त्यही युद्ध अपराधी, त्यही तरबारको र दरबारको आवाज, त्यही महल र राजा महाराजाका छेडखानभन्दा अरु के थियो त्यसमा ? के अमृत छ त्यसमा जसलाई हलाहल पिउन हामीले आफैंलाई बिर्सिदियौँ ? भन्छन् भारतीय संस्कृतिको भजन गाउनेहरूले बाहुबलीलार्ई एउटा बृहत् महाकाव्य नै तर मैले देखिनँ यो चलचित्रमा मान्छेलार्ई नवीन सचेतना दिने एउटा उज्यालो किरण जसलाई पहिल्यै हाम्रा बुद्धले बालिसकेका थिए ।

के हाम्रा आफ्ना कथा थिएनन् र ? चलचित्रमा देखाइने प्रपर्टीलार्ई मात्रै विस्वास गरेर फिल्म हेर्छौँ भने हामी यो शदाब्दीका मुर्ख हौँ । हामीसँग त्योभन्दा पनि राम्रा कथा छन् विषयवस्तु छन् । उनीहरू इतिहासलार्ई जोगाउँछन् । हामीहरू इतिहासलार्ई मेट्न खोज्छौँ र कति त मेटिसक्यौं । हामी तिनका इतिहासलार्ई १८ करोड तिर्छौँ तर हामी हाम्रो रगत आँसु खुशी र पौरखले बनेको इतिहासलार्ई माटोमुनि थन्क्याउँछौं । माटो पल्टाऔँँ त हामीसँग कति इतिहास छ । हाम्रो इतिहास हाम्रै पैतालाले कुल्चिएर हिँडिरहेका छौं । खोइ हामीले जानेनौं यसको सुगन्ध लिन । हामीले त इतिहासलार्ई दुर्गन्धित बनाइसकेका छौँ ।

पृथ्वीनारायणलार्ई सरापेर महेन्द्रलार्ई गाली गरेर र वीरेन्द्रलाई मारेर हामीले खै के प्राप्त ग-यौँ त आज ? अलिकति भएका इतिहासका विरासतलाई पनि महाभूकम्पले खाइदियो के छ र हामीसँग हाम्रो पुर्खाको सक्कली नासो अब ?

हामीसँग छ कथा चलचित्र बनाउन तर हामी किन यौनलार्ई मात्रै प्रमुखता दिन्छौँ ? किन हामी ‘सी’ ग्रेडका मात्रै कथा छान्छौँ ? हामीसँग हाम्री भृकुटी र सीताका अनमोल कथाहरू छन् । हाम्रा सहिदहरूका दारुण व्यथाहरू छन्, हाम्रा बुद्ध दरबारका चाखलाग्दा परिघटनाहरू छन्, हाम्रा इतिहासका राजेन्द्रलक्ष्मी वीराङ्गनाहरूका आशालाग्दा सूचनाहरू छन् तर किन हामी लुट बनाउँछौं, किन हामी चपली हाइट बनाउँछौ ?, किन हामी चन्डाल बनाउँछौँ, किन हामी चित्कार र चोर बनाउँछौँ ? के हामीसँग सेक्सको मात्रै कथा छ र ? हो त्यही भएर सिनेमा चल्दैनन् ।

यौन मुख्य विषय होइन । मूल विषय त जीवन हो । मूल विषयत त्यही अतीत हो जसलाई टेकेर हामी यहाँसम्म आयौं । बाहुबली हेरेर के शिक्षा पायौँ हामीले ? इतिहासका विषयमा पनि आशालाग्दा चलचित्र बन्दोरहेछ भन्ने सन्देश लियौं भने राम्रै हो तर मनोरञ्जन मात्र लिनलाई त रत्नपार्कमा सर्प नचाएको हेरे पनि भयो नि कि कसो ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया