हलिया बस्ती : एउटै घरमा १ सय ७ जनाको बसोबास, महामारीको बेला पेट पाल्नै मुस्किल
बझाड. ।
बझाङ थलारा गाउँपालिकाको केन्द्रदेखि ३० मिनेटको दूरीमा एउटा सानो बस्ती छ । त्यहाँ २५ दलित परिवारको बसोबास छ । बस्ती पुग्नेबित्तिकै एउटा स्लेटले छाएको घर भेटिन्छ । घर निकै जीर्ण भइसकेको छ । सुन्दा अचम्म लाग्ने तर यथार्थ, छवटा मूल ढोका भएको त्यस घरमा २२ परिवारका एक सय सात जना बस्दै आएका छन् । घर हेर्दा पाँच/छ परिवारलाई पनि सहज रुपमा बस्न नमिल्ने खालको छ ।
थलारा गाउँपालिका—८, बिसखेतमा रहेको हलिया बस्तीको यथार्थता हो यो । ‘हामी सबै परिवारको जग्गा भनेको यही घर भएको ठाउँ मात्रै हो । अन्त घर बनाउन जग्गा छैन । अन्त जग्गा किनेर घर बनाऊँ भन्नुभयो बिहान–बेलुकाको खाना जोहो गर्न नै गाह्रो छ ।’ जुना दमाईले विरक्त मान्दै भनिन्, ‘बाजेबराजु अर्काको हलो जोत्दै मरे । हाम्रो जिन्दगी साँझ–बिहानको खाना खोज्दै जानेभयो ।’ पुस्तौनी हलिया रहेका यहाँका दमाई परिवार पूर्णरुपमा मालिकको आश्रयमा छन् । साहुको हलो जोतेबापत दिने केही अन्नबालीले दमाई परिवारको चुलोमा खाना पाक्थ्यो ।
सरकारले २१ भदौ २०६५ मा हलिया प्रथा अन्त्य भएको घोषणा गरेपछि साहुले हलियालाई दिएको ऋण फिर्ता मागे र हलो जोत्न दिएनन् । कत्तिले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् । अझै पनि साहुको गाली खाइरहनुपरेको हलियाहरुको गुनासो छ । हलिया गरेर गुजारा चलाइरहेका दमाई समुदायको बस्ने घरबाहेक अरु जग्गाजमीन छैन । स्थानीयवासी पदम नेपाली भन्छन् , ‘घर त छ, बस्नलाई पर्याप्त ठाउँ छैन एउटै घरमा एक सय सात जनाले बस्नुपरेको छ ।’ बस्नको भन्दा पनि खानाको समस्या भएको उनको भनाइ छ । उनले भने, ‘पहिला लकडाउन नहुँदा अरुकामा ज्यालादारी गरेर परिवार पाल्थे । अहिले कोरोनाले गर्दा न काम पाइएको छ । खानालाई नै समस्या भएको छ । यस्तै अवस्था रह्यो भने भोकभोकै मर्नुपर्ने अवस्था छ ।’
पदम नेपालीको भन्दा पीडा कम छैन ज्ञानु दमाईको पनि । उनी उमेरले ५५ वर्ष पुगिन् । उनको १२ जनाको परिवार रहेको छ । उनको बस्ने घरबाहेक अरु जग्गा जमीन केही छैन । बन्दाबन्दी नहुँदा गाउँ–गाउँमा गएर माथिल्लो जात ठकुरी, ब्रह्माणको घरका काम गरेर परिवारलाई पाल्ने गर्थिन् । ‘बन्दाबन्दीले गर्दा अहिले कतै काम गर्न जान पनि मिल्दैन, घरमा खानलाई केही पनि छैन । सरकारले पनि हेरेन अब भोकभोकै मर्नुपर्ने अवस्था आएको छ’, ज्ञानु दमाईले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘कतैबाट राहत पाए हुन्थ्यो । बन्दाबन्दी खुलेपछि साहुको काम गरेर पनि केटाकेटी पालिन्थ्ये ।’ यस्तै पीडा बिसखेतका सम्पूर्ण हलिया परिवारमा रहेको छ ।
सबै परिवार यतिबेला भोकमरीको चपेटामा छ । अहिलेसम्म आफ्नो नाममा जग्गा जमीन नभएका दमाई समुदाय मुक्तहलिया खाद्य अधिकार समूह गठन गरी आफ्ना मागसहित विभिन्न संघर्षका कार्यक्रम गर्दै आएका छन् । सुरक्षितरुपमा बस्न पाउनुपर्ने, जोखिममा रहेको बस्तीलाई स्थान्तान्तरण गर्नुपर्ने, बाँच्न पाउने हकको सुनिश्चित हुनुपर्ने माग दमाई समुदायको रहेको छ । उनीहरुको सवाल सम्बोधनको लागि खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था फियान नेपालले पनि सहयोग गर्दै आएको छ ।
‘फियानकै सहयोगमा बाजेबराजुका पालादेखि मालिकबाट लिएको क्रण तिर्न सफल भए पनि हाम्रा अरु समस्या ज्यूँका त्यूँ छन्’ बलु दमाईले भने, ‘यो घर बनाएको ठाउँबाहेक अन्त खुट्टा टेक्नलाई पनि जमीन छैन । यतिका मान्छेलाई बिहान खाए साँझ के खाउँ भन्ने चिन्ता छ ।’ उनले बन्दाबन्दी नभएको बेला ज्याला मजदूरी गरेर पेट पाल्ने काम गरिरहेको भए पनि बन्दाबन्दीपछि काम नपाउँदा बस्ती नै भोकमरीको चपेटामा परेको बताए ।
विसं २०६६ मा जिल्ला मालपोत कार्यालयले यो बस्तीका मानिसलाई हलिया प्रमाणीकरण गरेको छ । ‘मुक्त हलिया पुनस्र्थापनाको ढाँचा र कार्ययोजना २०७० ले आफ्नो स्वामित्वमा घर र जग्गा दुवै नभएकालाई ‘क’ घर भएका तर जग्गा नभएकालाई ‘ख’ आफ्नो जग्गा भएका तर घर नभएकालाई ‘ग’ तथा घर र जग्गा दुवै भएकालाई ‘घ’ वर्गमा वर्गीकरण गरेको छ ।
यो मापदण्डअनुसार बिसखेत गाउँका हलियाहरु ‘ख’ वर्गमा हुनुपर्नेमा उनीहरुलाई ‘घ’ वर्गमा सूचीकृत गरिएको छ । हलिया मुक्तिको घोषणापछि सरकारले साहुबाट लिएको ऋण तिरिदियो । जग्गा नहुनेको जग्गा जोडिदियो । घर बनाइदियो । यी काममा करोडौं रुपैयाँ खर्च ग¥यो । हलियालाई आत्मनिर्भर बनाउने भन्दै विभिन्न संघसंस्थाले पनि ठूलो धनराशि सिध्याए पनि हलियाको ठूलो संख्या अहिले पनि साहुकै हलो जोतिरहेका छन् ।
जिल्ला मालपोत कार्यालयमार्फत ८८ जना हलियाको घर निर्माणका लागि प्रतिपरिवार तीन लाख २५ हजारका दरले दुई करोड ८६ लाख, जग्गा खरिदका लागि एक सय १० जना हलियालाई प्रतिपरिवार दुई लाखका दरले दुई करोड २० लाख र घर मर्मत शीर्षकमा आठ सय ३३ परिवारलाई एक लाख २५ हजारका दरले १० करोड ४१ लाख २५ हजार वितरण गरिएको छ । घर निर्माण, जग्गा खरिद र घर मर्मतमा १५ करोड ४७ लाख २५ हजार खर्च भएको भएको भए पनि बिसखेतका हलियाको घरमा त्यसको सानो अंश पनि पुग्न सकेको छैन ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया