‘विकास निर्माण सबै राजनीतिक दलहरुको साझा एजेण्डा’
भक्तपुर, माघ ५
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकास निर्माण सबै राजनीतिक दलहरुको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीमा नेपाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभा तथा नेपाल बिल्ड टेक एक्स्पो २०२० को उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले भौतिक पूर्वाधारको निर्माणविना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने बताएका हुुन् ।
समृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीहरुसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको पनि उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले स्पष्ट पारे । ‘निर्माण व्यवसायीहरुले भनेझैं सरकारले निर्माण उद्योगमैत्री ऐन नियम ल्याइरहेको छ, अब निर्माण व्यवसायीहरुले पनि इमानदारितापूवर्क काम गर्नुपर्छ’, उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले भने । समयमा नै निर्माणकार्य पूरा नहुँदा सबैलाई घाटा पुग्ने भन्दै पोख्रेलले यसतर्फ सजग हुन व्यवसायीहरुलाई आग्रह गरे । निर्माणकार्यमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकार बाध्य हुने समेत उनले बताए ।
नेपाली निर्माण व्यवसायीहरु अब आफ्नो योग्यता तथा क्षमतासहित श्रेष्ठता प्रमाणित गर्दै अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने उनको भनाइ थियो । महासंघका मानार्थ सदस्य समेत रहेका सांसद जीप छिरिङ लामा शेर्पाले निर्माणकार्य समयमा नै पूरा नहुनुमा निर्माण व्यवसायीको मात्र दोष नरहने भन्दै समयमा नै भुक्तानी नहुँदा व्यवसायीलाई धेरै असहज भएको बताए । सांसद बहादुरसिंह लामाले निर्माण क्षेत्रमा गहन अनुसन्धान आवश्यक रहेको भन्दै व्यवसायीले मोबिलाइजेसन खर्चको दुरुपयोग नगरेको दाबी गरे । नेकपाका नेता डाक्टर विजय पौडेलले आफ्ना समस्याहरु खुल्ला रुपमा राख्न व्यवसायीहरुलाई सल्लाह दिए ।
प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले व्यवसायीका समस्याबारे सरकार जानकार रहेको भन्दै व्यवसायीहरुको समस्या समाधान भइरहेको बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले म्याद थप तथा बैंक क्रेटिड लाइनको समस्या समाधान भए पनि व्यवसायीहरु अरु धेरै समस्या खेप्न बाध्य भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । ‘निर्माण व्यवसाय चलायमान नहुँदा देशको अर्थतन्त्रमा नै समस्या आउने भएकाले निर्माण व्यवसायीका जायज माग पूरा गर्नुको विकल्प सरकारसँग छैन’, अध्यक्ष सिंहले भने । इफाप्काका अध्यक्ष मोहमद अली जनाहले राजनीतिक स्थिरता विना विकासको परिकल्पना गर्न नसकिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका व्यवसायीहरुले विविध चुनौतीका बाबजुद उत्कृष्ट काम गरिरहेको बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकासमा निर्माण व्यवसायीको भूमिकाको चर्चा गरे । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल, उपाध्यक्ष हिरेन्द्र दाहाललगायतले समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मूर्तरुप दिने काम निर्माण व्यवसायीले मात्र गर्नसक्ने बताए । सोही अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गरेका थिए । त्यस्तै महासंघको तर्फबाट प्रदेश सांसदमा विजयी कृष्णलाल भँडेल र इफाप्का अध्यक्ष मोहमदलाई अली जनाहलाई सम्मान गरिएको थियो ।
साधारणसभा सँगसँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा भक्तपुर सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० पनि सुरु भएको छ । निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु कुल ७० हजार वर्गफिट क्षेत्रफलको एक्स्पोमा रहेको छ । तीन दिने एक्स्पोको सहयोगी साझेदारहरुको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर आफ कमर्सलगायतका संस्थाहरु रहेका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सलटिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फम्र्स (स्काफ नेपाल), नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्स (वाइसीएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, र भारतको राजकोट हार्डवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन पनि एक्स्पोका सहयोगी साझेदार संस्था रहेका छन् । महासंघले आफ्नो इतिहासमा नै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया