‘आगामी मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्छ’
काठमाडौं ।
नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष परिसंघको तर्फबाट मौद्रिक नीतिमा सुझाव पेश गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले कोभिड १९ का कारण धेरै व्यवसायमा गम्भीर असर परेकोले त्यसको निरन्तरता अहिलेको मुख्य आवश्यकता भएको बताए ।
गत वर्ष पनि मौद्रिक नीतिमार्फत दिइएका सुविधाले अर्थतन्त्रलाई छिटो पुनरुत्थान गर्न सहयोग गरेको भन्दै उनले यस वर्ष पनि राष्ट्र बैंकको ध्यान त्यसमै केन्द्रित हुनेमा आफू विश्वस्त रहेको बताए । उनले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रको स्वरूपमा अघि बढाउन परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको भन्दै त्यसले आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने जानकारी दिए ।
परिसंघको तर्फबाट सुझाव प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक पुनरुत्थान एवं उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिमार्फत संरचनागत सुधार र क्षेत्रगत सहुलियत एवं सुविधा उपलब्ध गराइनुपर्ने उल्लेख गरे ।
गभर्नर अधिकारीले परिसंघको तर्फबाट महत्त्वपूर्ण सुझाव प्राप्त भएको भन्दै त्यसलाई आगामी मौद्रिक नीतिमा समावेश गरेर अघि बढ्ने बताए । ‘तपाईंहरूले व्यावसायिक संगठनको हिसाबबाट जसरी सबै पक्षलाई समेटेर सुझाव दिनुभएको छ, त्यसलाई नेपाल राष्ट्र बैंकको सीमाभित्र बसेर कार्यान्वयन गर्ने नै छौँ,’ गभर्नर अधिकारीले भने, ‘स्वदेशी वस्तु तथा सेवाको उत्पादन र उपभोग वृद्धि गर्ने परिसंघको योजना सफल बनाउन राष्ट्र बैंकको तर्फबाट सधैँ सहयोग रहनेछ ।’
गभर्नर अधिकारीले कोभिड–१९ प्रभावित उद्योग व्यवसायलाई बचाउन राष्ट्र बैंकले नीतिगत सहयोग गरिरहेको भन्दै अर्थतन्त्रको पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार गरिने बताए । उनले राष्ट्र बैंकले दिएका नीतिगत सहुलियतहरूको प्रभाव विश्लेषण गरेर अघि बढ्ने भन्दै निजी क्षेत्रका सुझाव यसका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे ।
परिसंघले मौद्रिक नीतिको सुझावमा तरलता व्यवस्थापन, ब्याजदर वृद्धि नियन्त्रण, पुनर्कर्जा सुविधाको निरन्तरता र मूल्यवृद्धि नियन्त्रणमा नेपाल राष्ट्र बैंकले काम गर्नुपर्ने उल्लेख गरेको छ । यसैगरी सरकारले ठूलो मात्रामा आन्तरिक ऋण परिचालनको लक्ष्य राखेको र यसबाट विद्यमान तरलता प्रशोचित भइ संकुचन आउनसक्ने र ब्याजदर बढ्ने जोखिम न्यूनीकरणका लागि ध्यान दिइनुपर्ने परिसंघको भनाइ छ । यसका लागि सीसीडी, सीआरआर, एसएलआर तथा अन्य दरहरूमा लचकता अपनाउने नीति लिन परिसंघले सुझाव दिएको छ ।
कोभिड–१९ को पहिलो तथा दोस्रो लहरको गम्भीर प्रभाव उद्योग÷व्यवसायमा परेकाले बैंकको किस्ता तथा ब्याज भुक्तानीमा समस्या पर्दै गएको र कोभिडपछिको सामान्य अवस्था आउन अझै केही समय लाग्ने भएकाले ऋण तथा ब्याजको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा दिइनुपर्ने सुझाव पनि परिसंघले दिएको छ ।
नवप्रवर्तन तथा उद्यमशीलता विकास गरी स्वरोजगारी एवं रोजगारी सिर्जनामा योगदान गर्न धितोमा आधारित कर्जा प्रवाह गर्ने परिपाटीलाई परियोजनामा आधारित कर्जा प्रवाहमा लैजानुपर्ने परिसंघको सुझाव छ ।
परिसंघले वाचलिस्टसम्बन्धी विद्यमान व्यवस्थामा पुनरवलोकन गर्न पनि राष्ट्र बैंकलाई अनुरोध गरेको छ । यसैगरी ठूला र साना तथा मझौला उद्योगका लागि अलगअलग पुनर्कर्जा कोष बनाई कार्यान्वयनमा ल्याउन र पुनर्कर्जाको सीमालाई कुल कर्जाको २० प्रतिशत वा २० करोड रूपैयाँमध्ये जुन धेरै हुन्छ, त्यही कर्जा सुविधा लिन पाउने व्यवस्था गर्न पनि परिसंघले माग गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा, कृषि, स्टार्टअप लगायतका क्षेत्रमा दिइएका सुविधा तत्काल कार्यान्वयन गर्ने गरी मौद्रिक नीतिमार्फत स्पष्ट व्यवस्था गर्न पनि परिसंघले माग गरेको छ ।
कोभिडबाट अतिप्रभावित पर्यटन तथा हवाइ उड्डयन क्षेत्रमा प्रवाहित कर्जाको ब्याजदरलाई पाँच प्रतिशतमा सीमित राखिनुपर्ने माग पनि परिसंघले गरेको छ । परिसंघले ब्याजदर कोरिडोरको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । यसैगरी ब्लेन्डेड फाइनान्स र हेजिङको स्पष्ट कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउन परिसंघले सुझाव दिएको छ ।
परिसंघले विप्रेषणबाट प्राप्त रकम बैंक तथा वित्तीय संस्थामा बचत गर्दा निश्चित समयसम्म सामान्य बचतमा प्राप्त हुने ब्याजभन्दा कम्तीमा दुई प्रतिशत बढी ब्याजदर प्राप्त हुने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्न पनि सुझाव दिएको छ। यसले उपभोक्तामा बचत गर्ने बानीको विकास गर्नुका साथै बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम वृद्धिमा सहयोग पु¥याउने परिसंघको बुझाइ छ ।
परिसंघले ऊर्जा, पूर्वाधार, कृषि तथा औद्योगिक क्षेत्रमा लगानीको अनुभव हासिल गरेका वाणिज्य बैंकहरूले दीर्घकालीन ऋणपत्र जारी गर्न सक्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकलाई आग्रह गरेको छ । यसले विभिन्न क्षेत्रहरूमा दीर्घकालीन स्रोतको उपलब्धता सहज हुनुका साथै अनिवार्य लगानी गर्नुपर्ने क्षेत्रमा न्यूनतम कर्जा अनुपात कायम गर्न सहयोग मिल्ने परिसंघको बुझाइ छ ।
नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा निलम ढुङ्गाना तिम्सिना र बमबमहादुर मिश्र तथा कार्यकारी निर्देशकहरू देवकुमार ढकाल र डा प्रकाशकुमार श्रेष्ठको उपस्थिति थियो । यसैगरी परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी र राजेशकुमार अग्रवाल एवं राष्ट्रिय परिषद् सदस्य अनलराज भट्टराई र महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया