Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाका कारण निजी क्षेत्र मारमा

कोरोनाका कारण निजी क्षेत्र मारमा


दोलखा । विश्व महामारीको रूपमा फैलिएको पहिलो र दोस्रो लहरको कोरोना भाइरसको कारण जिल्लाका सम्पूर्ण व्यवसायी मारमा परेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो समयको निषेधाज्ञाका कारण यहाँका व्यवसायीहरू मारमा परेका हुन् ।

कोरोनाको जोखिम निरन्तर चलिरहेको अवस्थामा व्यवसायीलाई खोप उपलब्ध गराउन सरकारले चासो नदिएको कारण व्यवसायीले तत्काल व्यवसाय खोल्ने अवस्था नरहेको हुँदा निजी क्षेत्र थप मारमा परेको दोलखा चेम्बर अफ कमर्सले जनाएको छ । निजी क्षेत्रलाई पनि कोरोनाविरुद्धको खोप उपलब्ध गराई आर्थिक क्षेत्रलाई चलायमान बनाउन चेम्बरले माग गरेको छ । दोलखा चेम्बर अफ कमर्सका महासचिव पाण्डव सिङ पाण्डेका अनुसार जिल्लामा साना, मझौतादेखि ठूला लगानीका व्यवसाय सञ्चालनमा छन् ।

धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोकोमा करोडौँ रकम लगानी गरेर सञ्चालन गरिएका व्यवसाय कोरोनाले डेढ वर्षदेखि प्रभावित बनेका छन् । कालिञ्चोक कुरीका लाखौँ लगानीका चार दर्जन बढी होटल र करोडौँ लगानी गरेर सञ्चालन गरिएको केवलकार अहिले कोरोना भाइरसको कारण बन्द छ । वैशाखयता सधैँ भरीभराउ देखिने कुरी बजारमा अहिले सुनसान देखिने गरेको कुरी बजारका होटल सञ्चालक डम्बर तामाङले बताए ।

पहिलो लहरको कोभिडले झन्डै १० महिना सुनसान बनेको कालिञ्चोक दोस्रो लहरको कोरोना भाइरसले विगत तीन महिनादेखि सुनसान छ । राम्रो आम्दानी गर्ने उद्देश्यले लाखौँ लगानी गरेर खोलेको होटल रेस्टुरेन्टको लगानी संकटमा पर्दा असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको किस्ता, हर्जना तिर्नै समस्या भएको कुरीका अर्का व्यवसाय नवराज तामाङले बताए । दोस्रो लहरको कोरोनाले मुख्यतया जिल्लाका ठूला लगानीकर्ता र होटल व्यवसायी मारमा परेका छन् । दोलखा जिल्लाका प्रमुख व्यापारिक केन्द्र चरीकोट, जिरी, सिंगटी र मैनापोखरीको व्यापार व्यवसाय दोस्रो लहरको कोरोना भाइरसले थप प्रभावित बनेको व्यवसायी कमल चौहानले बताए ।

पोखरा फुड्स प्रालिको सेल्स गर्दै आएका उनले फुड्सका सामानको माग कोरोनाको कारण घटेको बताए । ‘वैशाख अघि सामानको माग राम्रो हुँदा बजारमा सबै सामान जाने गथ्र्यो, अहिले सयौँ काटुन सामान गोदाममै थन्किएको छ ।’ गत वैशाखदेखि दोलखामा निषेधाज्ञा जारी रहेको छ ।

महिनामा लाखौँको कपडा बिक्री गर्ने मैनापोखरी बजारका फेन्सी व्यवसायी रोहन अधिकारी भन्छन्, ‘कोरोनाले व्यापार घटेको छ । बिहान र दिउँसो सामान्य व्यापार भए–भयो नत्र दिनभर पसल खोलेर मात्र बस्नुपरेको छ ।’ साझ परेपछि प्रहरीले पसल बन्द गर्ने निर्देशन दिने र बिहान र दिउँसो व्यापार शून्य रहेको उनले बताए । सटर भाडा, सहकारी, बैंकको ऋण तिर्न समेत समस्या हुने गरेको अधिकारीले बताए ।

यता सदरमुकाम चरीकोटमा भने अघिल्लो सातदेखि होटल र बजारमा केही चहलपहल बढेको छ । आर्थिक वर्ष सकिन एक साता बाँकी रहँदा निषेधाज्ञा केही खुकुलो भएको कारण सदरमुकामको व्यापार व्यवसायमा सामान्य चहलपहल देखिएको चरीकोटका होटल व्यवसायी भरत श्रेष्ठले बताए । चरीकोट बजारमा असारे विकासको अन्तिम चरण पुगेकाले बिल भुक्तानी गर्न आउने तथा सरकारी कामकाजमा आएका मानिसको ओहोरदोहोरले चहलपहल बढेको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x