Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवेदकोट नगरपालिकामा बाहिरी चक्रपथ निर्माण गरिने

वेदकोट नगरपालिकामा बाहिरी चक्रपथ निर्माण गरिने


कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा बाहिरी चक्रपथ निर्माण हुनेभएको छ । सुदूरपश्चिम प्रदेश सरकार र नगरपालिकाको समन्वयमा नगरक्षेत्रमा बाहिरी चक्रपथ निर्माण हुनलागेको हो ।

नगरपालिकाको वडा नम्बर ८ बाट सुरु भएर वडा नम्बर ७ सम्म बाहिरी चक्रपत निर्माण भइसकेको छ । नगरपालिकाका अनुसार गत वर्षको आर्थिक वर्षमा सुरु भएको बाहिरी चक्रपथ हालसम्म दुई हजार सात सय मिटर सम्पन्न भएको हो ।

‘नगरपालिकाको ८ नम्बर वडादेखि ७ नम्बर वडासम्म बाहिरी चक्रपथको पानीपिचसहित १४ मिटर चौडाइ र कच्ची ड्रेनको बाहिरी चक्रपथको २७ सय मिटर सडक निर्माण सम्पन्न भएको छ’, वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले भने, ‘नगरपालिकाले समग्र नगरक्षेत्रको विकासलाई जोड्नको लागि बाहिरी चक्रपथ निर्माण गर्ने कुरालाई अगाडि बढाएको हो, उक्त चक्रपथ ८ नम्बर वडाबाट सुरु भएर नगरपालिकाका अन्य ७ वडा भएर निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।’

नगरपालिकाको वडा नम्बर ७, ६, ५, ४, ३, २ र १ लाई छोएर बाहिरी चक्रपथको निर्माण गरिनलागेको जनाएको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षमा उक्त सडकलाई प्राथमिकतामा राखेर प्रदेश सरकार र संघ सरकारसँग थप समन्वय गरी निर्माण गर्नेगरी थप योजना बनाएको नगरप्रमुख चन्दको भनाइ छ ।

नगरमा निर्माण भएको पानीपिचसहितको बाहिरी चक्रपथको विभिन्न भागमा कलभट तथा होमपाइप पनि राखिएको छ । नगरको योजनाअनुसार प्रत्येक वर्ष बाहिरी चक्रपथलाई विस्तार गरिनेछ । यस्तै हाल निर्माण भएको २७ सय मिटर क्षेत्रअगाडि सडक पर्ने केही स्थानमा काठको कटानको समस्या भएर निर्माण अगाडि बढाउन समस्या भएको छ ।

अहिले निर्माण भएको स्थानमा काठ नभएका कारण निर्माण गर्न सहज भएको उनको भनाइ छ । ‘तर अब निर्माण गरिने घेरैजस्तो स्थनामा काठहरू परेको छ’, नगरप्रमुख चन्दले भने, ‘अगाडि बढाउनुपर्ने सडकखण्डमा सालको काठ नभएर कुकाठ रहेको छ, सम्भवतः सबै प्रक्रियापश्चात् सडक निर्माणको कार्य अघि बढ्नेछ ।’ चक्रपथ निर्माण बहुवर्षे योजना रहेकाले उक्त सडकखण्डलाई चाडै सम्पन्न गराउन विभिन्न पहलकदमी गरिरहेको नगरप्रमुख चन्दले बताए । नगरक्षेत्रमा निर्माण हुनलागेको बाहिरी चक्रपथको मुख्य उद्देश्य घाँडिघाँचका स्थानीयलाई विकाससँग जोड्नु रहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी उक्त क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्रहरू धेरै रहेका छन् । जसलाई नगरपालिकाले स्थानीयको सहज पहुँच गराउन तथा स्थानीय धार्मिक पर्यटनको विकास तथा प्रचारप्रसार गर्नको लागि समेत बाहिरी चक्रपथ महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको छ । नगरपालिकाले नगरक्षेत्रमा निर्माण हुने बाहिरी चक्रपथ निर्माणलाई पानीपिच सडकसम्म पहिलो चरणमा सम्पन्न गर्नेछ ।

यसैगरी सम्पूर्णरूपमा निर्माण भइसकेपछि कालोपत्रे गर्ने कार्यलाई अगाडि बढाउने नगरप्रमुख चन्दको भनाइ छ । चक्रपथ निर्माणपछि नगरका दुर्गम बस्तीका स्थानीयले सडकको पहुँच सजिलै पाउनेछन् । यस्तै नगरक्षेत्र तथा सदरमुकाम क्षेत्र आवातजावत गर्न पनि सहज हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x