Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगथप सुविधासहित टेलिकमको समर अफर सार्वजनिक

थप सुविधासहित टेलिकमको समर अफर सार्वजनिक


काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेजसहितको अफरलाई परिमार्जन गरी समर अफरअन्तर्गत थप सुविधा उपलब्ध गराएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ ।

नयाँ सुविधाअन्तर्गत अब प्रतिदिन ५५ रुपैयाँमा २ जीबी डाटा प्रयोग गर्न सकिनेछ । त्यसैगरी लकडाउन अफरको रुपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म ३९ रुपैयाँमा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिइएको छ । लकडाउन अफरअन्तर्गतको ‘बोनस अन रिचार्ज’ अफरलाई भने हटाइएको छ ।

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको भीओएलटीई सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटकका लागि उपलब्ध हुने सय मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत् राखिएको छ । उक्त सुविधा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ । यस्तै कम्पनीले उपलब्ध गराइरहेको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफरलाई पनि थप आकर्षक बनाइएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको प्रिपेडतर्फ दुई सय र पोस्टपेडतर्फ पाँच सय रुपैयाँको प्याकेजमा उपलब्ध हुने डाटा भोल्युम थप गरिएको छ ।

अब प्रिपेडमा दुई सय रुपैयाँको प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, एक सय मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने एक जीबी डाटासमेत उपलब्ध हुनेछ । त्यसैगरी सीयूजी ५ सय रुपैयाँको पोस्टपेडअन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, पाँच सय मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस तथा एक सयवटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने पाँच जीबी डाटासमेत उपलब्ध हुनेछ ।

सीडीएमएबाट जीएसएममा रुपान्तरण हुने ग्राहकका लागि सुविधा
नेपाल टेलिकमले हाल प्रयोगमा रहेका सीडीएमए सेवाका प्रयोगकर्ताहरुलाई जीएसएम नेटवर्कमा रुपान्तरण गर्ने योजनाअन्तर्गत सीडीएमए प्रिपेड र सीडीएमए पोस्टपेड प्रयोगकर्ताका लागि निःशुल्क सिमका साथै निःशुल्क भ्वाइस, निःशुल्क डाटा प्याकेज र निःशुल्क एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि सीडीएमए प्रयोगकर्ताले नजिकको नेपाल टेलिकमको कार्यालयमा गएर आफ्नो पुरानो रिमकार्ड बुझाउनुपर्नेछ ।

कम्पनीका अनुसार सीडीएमए मोबाइल (पोस्टपेड र प्रिपेड)का लागि नयाँ जीएसएम (पोस्टपेड र प्रिपेड) नम्बर उपलब्ध गराइनेछ । यसैगरी सीडीएमए फिक्स्ड (पोस्टपेड र प्रिपेड) का लागि नयाँ जीएसएम पोस्टपेड नम्बर उपलब्ध गराइनेछ । सीडीएमए प्रिपेडबाट जीएसएम प्रिपेडमा रुपान्तरण भएका मोबाइल ग्राहकहरुले छ महिनासम्म निःशुल्क रुपमा मासिक तीन सय मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, चार जीबी डाटा चलाउन र तीन सयवटा अन नेट एसएमएस पठाउन सक्नेछन् ।

त्यसैगरी जीएसएम पोस्टपेड मोबाइलमा रुपान्तरण हुने ग्राहकले निःशुल्क रुपमा मासिक चार सय मिनेट अन नेट र ५० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, छ जीबी डाटा चलाउन र दुई सय वटा अन नेट एसएमएस गर्न सक्नेछन् । आगामी पुस महिनासम्ममा जीएसएममा रुपान्तरण हुने सीडीएमए पोस्टपेड ग्राहकहरुलाई मासिक रेन्टल शुल्क छुट दिइएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x