प्राकृतिक प्रकोप न्यूनीकरणमा लक्ष्मणरेखा
काठमाडौं । प्राकृतिक प्रकोपजन्य विनाशको पीडाले मानव सभ्यतालाई दैनिकरूपमा पिर्दै आएको कटु यथार्थलाई हामीले सहजै भुल्न सक्दैनौँ । प्रस्तुत पीडाहरू पक्कै पनि मानव समुदायको पहुँचभन्दा निकै टाढाको विषय हो । किनकि विनाशका सन्दर्भमा पूर्वानुमान गर्नु अत्यन्त कठिन विषय समेत हो । तथापि राज्यका संयन्त्रद्वारा प्रकोप न्यूनीकरणमा केही सहजता कायम रहोस् भन्ने उद्देश्यका साथ पूर्वानुमान सूचना प्रणालीमा आधारित प्रविधिको जडान गरी आवश्यकताअनुसार सूचनामूलक जानकारी दिने प्रयास गरिएको भए पनि कतिपय अवस्थामा प्रभावकारी कार्यान्वयन हुन नसकेकै कारण अत्यधिकरूपमा जनधनको क्षति व्यहोर्न बाध्य हुनुपरेको मात्र हो । तसर्थः उच्च सतर्कताका साथ जोखिमरहित ढंगले अगाडि बढ्नु नै प्रकोपजन्य पीडा न्यूनीकरणको क्षेत्रमा राहत व्यवस्थापन गर्नुसरहको अवस्था हो ।
प्रकोपजन्य पीडाका अनेकन रूपमध्ये मानवीय लापरबाहीका कारण उत्पन्न हुने आगोलागिका घटनाका अतिरिक्त डढेलो, बाढी, पहिरो, भूकम्पका कारण माटोको क्षयीकरणका साथै उर्वराशक्तिमा आउने ह्रास, सामुद्रिक चक्रवात आदिजस्ता प्राकृतिक प्रकोपज्रन्य पीडाको अनुभव मानव समाजको लागि कुनै नौलो भने पक्कै पनि होइन ।
पृथ्वीको उत्पत्तिकालदेखि नै उक्त प्रकोपसँग संघर्षरत रहँदै आएका मानव सभ्यताले आफ्नो निहित स्वार्थपूर्तिका लागि प्रकृतिसँग कृत्रिमताको संयोजन गरी अनावश्यक रूपमा खेलवाड गरेकै कारण प्रकृतिले आफ्नो यथास्थितिको वर्चस्व कायम राख्ने सिलसिलमा सन्तुलन बिग्रन गई प्रतिकूल अवस्था तयार भएकै कारण प्राकृतिक विपत्तिका अनेकन रूपको सामना गर्नुपरेको वास्तविक यथार्थलाई नकार्न भने मिल्दैन ।
मानवीय स्वभावमा रहेको प्रलोभनजन्य व्यहारको उग्रताले सानोभन्दा सानो बलमिचाइँलाई पनि आफ्नो ठूलै पुरुषार्थ ठान्ने प्रवृत्तिको विकृतिले मानवीय सुरक्षा संवेदनशीलताको विविध पक्षलाई मध्यनजरमा राखी राज्यको तर्फबाट निर्धारण गरिएको प्राकृतिक सुरक्षाको महतासँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षात्मक लक्ष्मणरेखालाई कतिपय अवस्थामा तोड्ने प्रयासले निम्त्याएको पीडा भनेको प्राकृतिक विपत्तिको बीभत्स रूपलाई मान्न सकिन्छ ।
भविष्य केन्द्रित प्राकृतिक क्षतिलाई वर्तमानमा सही रूपमा आकलन एवं मूल्याकन गर्न नसक्नु अथवा बेवास्ता गर्नुको साथै आफ्नो क्षणिक लाभका लागि गरिने विधिविधानविपरीतका नकारात्मक कार्यले समस्या समाधानमा जटिलता उत्पन्न गर्नेछ ।
प्राकृतिक प्रकोपपश्चात् उत्पन्न हुनसक्ने सम्भावित महामारीजन्य संक्रमणको पीडालाई विशेष हेक्का राख्दै आवश्यक व्यस्थापकीय कार्यलाई जोड दिनुपर्ने हुन्छ । अन्यथा मानव प्रकृतिको गलत संयोजनको कारण निस्केको खराब परिसूचकको पीडालाई आत्मसात् गर्नुबाहेक अर्को विकल्प हामीसामु रहँदैन । जसको नकारात्मक असर प्रकृतिलाई भन्दा मानव समूहलाई नै अत्यधिक मार पर्ने हुँदा विचार पु-याएर कार्य गर्नु प्रकोप न्यूनीकरण गर्नु हो । यस क्षेत्रमा जतिजति मात्रामा अन्योल्यताको गति अभिवृद्धि हुँदै जान्छ त्यसको अनुपातमा प्रकोपको विनासले निश्चितरूपमा उग्रता हासिल गर्नेछ । प्रभावस्वरूप अपार जनधनको क्षतिमा समेत मुकदर्शक भएर रहनुपर्ने हुन्छ ।
प्रस्तुत सन्दर्भमा राज्यले निर्धारण गरेको जोखिम न्यूनीकरणका विविध पक्षमा आधारित लक्षणरेखालाई हेक्का नराखी कार्य गर्ने संस्कृतिले जोखिमको उच्चदर अभिवृद्धि गर्न सहयोगीको भूमिका निर्वाह गर्ने देखिन्छ । यसमा विशेषतः नदीजन्य क्षेत्र होस् वा सडक किनाराका क्षेत्र नै किन नहोस् उक्त क्षेत्रको रक्षाका लागि निर्धारित जोखिमजन्य सुरक्षात्मक मापडण्दहरू कायम राख्दै भवन निर्माणलगायतका अन्य निर्माणजन्य कार्यका लागि आवश्यक स्वीकृति प्रदान गर्ने प्रावधान रहेकै हुन्छ ।
कतिपय अवस्थामा निहित स्वार्थ वा आर्थिक अपराधजन्य क्रियाकलापलाई बढवा दिँदै प्रशासनिक निकायलाई गलत–मनसाययुक्त कार्यका अभिप्रेरित गर्दै क्षणिक रूपमा प्राप्त हुने लाभका लागि हौसिने प्रवृत्तिको विकासले भविष्यमा बाढी प्रकोपका अतिरिक्त भूकम्पीय उच्च जोखिमको व्यथा सहन गर्नुपर्ने देखिन्छ ।
किनकि नदी आसपासका क्षेत्रमा विकास गरिँदा नदीको दायाँबायाँ निर्धारण गरिएको मापनबिन्दुलाई ध्यान दिन नसक्दा विपत् व्यवस्थापनको क्षेत्रमा समस्या सिर्जना हुनेगरेको हो । नदीले आफ्नो वहावलाई कुन समयमा कस्तो रूपमा बदल्छ भन्ने तथ्यले जोखिमको दर घटी वा बढी हुनेहुँदा यसतर्फ सजक रहनु नै प्रकोप न्यूनीकरणको सुलभ उपाय हो भन्दा फरक नपर्ला । एवं प्रकारले भवन निर्माण सम्बन्धमा पनि मनखुश हिसाबले उचाइ थप्ने वा आधारभूत भवनको संरचनाभन्दा माथिल्लो तहको मोटाई अत्यधिक राखी अनावश्यक रूपमा आकर्षणयुक्त पार्ने मानव चाहनाको विकासले विनाशको विपत्ति निम्ताउने तथ्यलाई सहजै नजरअन्दाज गर्न मिल्दैन ।
साथै भवन निर्माणको लागि उपयुक्त वा अनुपयुक्त क्षेत्र निर्धारण गर्दै कडाइका साथ अगाडि बढ्ने प्रयास गर्ने हो भने क्षति न्यूनीकरणको क्षेत्रमा उल्लेख्यनीय सफलता प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त मुलुकको भौगोलिक संरचनाअनुसार क्षेत्रगत आधारमा भवन निर्माण संरचनाको मापदण्डमा समेत समयअनुसार सुरक्षाका विविध उपायहरूलाई अवलम्बन गर्दै पुनरावलोकन गरिनुपर्ने हुन्छ । क्षेत्रगत आधारमा भवनको संरचनामा समेत पृथकत्व रहने हो भने सुन्दरताको साथै प्राकृतिक प्रकोपको जोखिम न्यून गर्न सहयोग पुग्ने देखिन्छ ।
विपत्जन्य पीडाले विपत्ति मात्र निम्त्याउने नभई समग्र मुलुकको कृषि, खाद्य, सरसफाइ, सुरक्षालगायतका सामाजिक संरचनालाई समेत क्षतविक्षत पार्ने हुँदा त्यो सन्दर्भमा निर्धारित लक्ष्मणरेखाको पालना गर्न/गराउन कडाइ साथ लाग्नुपर्ने हुन्छ । यसमा विशेषगरी विकाशील राष्ट्रको भौतिक संरचनामा पार्ने क्षतिले पुनर्निर्माणमा समेत नकारात्मक प्रभाव पर्नजाने तथ्यलाई अन्यथा लिन मिल्दैन ।
परिणामतः विकास निर्माणका दृष्टिबाट दशकौँपछि धकेलिने प्रबल सम्भावना रहेकोले समयमा नै निर्धारित मापदण्डसहितको लक्ष्मणरेखाको महत्व आम जनसमुदायबीच आदानप्रदान गर्नुपर्ने हुन्छ । अन्यथा भौतिक पूर्वाधारलगायतका अन्य क्षेत्रमा कुनै पनि समय अप्रत्यासित रूपमा पर्नसक्ने प्राकृतिक प्रकोपको जोखिम सहन गर्न तयारी अवस्थामा रहनुपर्ने हुन्छ । प्रकोपजन्य लक्ष्मणरेखाको बारेमा आवश्यक सूचनामूलक जनचेतनाको अभावमा त्यसको महत्वलाई सहज रूपमा बुझाउन नसक्ने संस्कृतिको विकासले यस क्षेत्रमा थप जटिलता मात्र कायम रहने देखिन्छ ।
प्रस्तुत प्रवृत्तिको विकासले अकल्पनीय रूपमा प्राप्त हुनसक्ने प्राकृतिक प्रकोप न्यूनीकरणको व्यवस्थापन क्षेत्रमा चौबीसै घण्टा सुरक्षित एवं सावधान रहन जनचेतनाको अभिवृद्धि गर्ने कार्यलाई प्रमुख प्राथमिकता प्रदान गर्नेछ । प्रकोपजन्य पीडा रोकथामको लागि निश्चितरूपमा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता रहनु जरुरी छ । जसले कुन–कुन स्थानमा कहिले देखिन सुरक्षात्मक लक्ष्मणरेखाको उचित व्यवस्थापनमा न्यूनता आएको छ भन्ने कुराको यकिन पहिचान गर्न सहयोगीको भूमिका निर्वाह गर्नसक्ने देखिन्छ ।
जसको प्रत्यक्ष लाभ भनेको स्थानीयस्तरमा नै जोखिम व्यवस्थापन एवं न्यूनीकरण गर्दै योजनाबद्ध तवरले कार्य गर्न सहयोग पुग्नेछ । सामूहिक सहभागिताको आधारमा गरिने उक्त कार्यको विकासले प्रकोप न्यूनीकरणको क्षेत्रमा उदाहरणीय भूमिका निर्वाह गर्नसक्ने देखिन्छ । जसका लागि प्राकृतिक प्रकोप न्यूनीकरणको क्षेत्रमा विशेष सहजकता अपनाउँदै विनाश हुनबाट रोक्ने अनेकन विधिहरूलाई अपनाउँदै क्षति न्यून गर्न उत्तम एवं वैकल्पिक उपायको रूपमा लक्ष्मणरेखाको महत्वलाई लिँदा त्यति फरक नपर्ला ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया