वातावरणमैत्री विकास : आजको आवश्यकता
काठमाडौं ।
मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ । मानिसको अस्तित्वको लागि जंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा परी ठूलो आर्थिक क्षति हुनु हो । मानिसको आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरू ग्रहण गर्दछ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट । वातावरण विनाशबाट हाम्रोजस्तो विकासोन्मुख देशमा अर्बौँ धनराशीको नाश भएको छ । वातावरण विनाशको कुप्रभावले ठूलो असर परेको छ ।
प्राकृतिक स्रोतको उचित संरक्षण नहुनु, डढेलो, फोहोरमैलाको उचित समाधान नहुनु पनि वर्तमान वातावरणको विनाशको एक प्रमुख तत्वको रूपमा लिन सकिन्छ । घरायसी प्रयोजनबाट, कारखानाबाट, अस्पतालबाट, सडेगलेका वस्तुहरूबाट, वायु, जल, माटो आदिमा हानीकारक तथा घातक फोहोर मैला निस्कन्छ । यसको उचित व्यवस्थापनको अभावले पनि वातावरणमा तीव्र हानि पु-याउँछ । यस्तै भू–क्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्ल वर्षा, पग्लिँदो हिमश्रृंखलाजस्ता जल्दोबल्दो समस्या आदि वातावरण विनाशको कारक तत्वको उपज होइन र ? वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई पृथ्वीको तापक्रममा परिवर्तन हुँदा हिउँ पग्लिएर हिमालहरू कालापहाडमा परिणत भएका छन् भने कहीँ अप्रत्याशित रूपमा हिमपात भएका छन् । वर्षा याममा वर्षा नभई धान, मकै, आलुजस्ता कृषि उत्पादनमा ठूलो असर परेको छ र सोही कारण कृषि उत्पादनमा वृद्धि गर्न र किटपतङ्ग तथा बाली रोग नियन्त्रण गर्न किटनाशक औषधि प्रयोग गर्दा वातावरण तथा मानव स्वास्थ्यमा थप असर परेको छ ।
जलवायु परिवर्तनबाट परिरहेका तथा पर्न सक्ने प्रभावसम्बन्धी अध्ययन हाम्रो देशमा अत्यन्तै कम भएकोले कुन भौगोलिक क्षेत्रमा, के कुन प्रकारको, कति परिमाणमा कुन क्षेत्रमा प्रभाव परेको छ वैज्ञानिक लेखाजोखा गर्न अझै बाँकी छ । मानवीय तथा आर्थिक स्रोतको न्यूनतम एवं उपयुक्त उपकरणको अभावले जलवायु प्रारूपीकरण हिमाल, पहाडदेखि तराई क्षेत्रसम्मका जलस्रोतलगायतका प्राकृतिक स्रोतमा परेको र पर्नसक्ने प्रभाव आर्थिक क्रियाकलापका अन्य क्षेत्रमा परेको प्रभावको लेखाजोखाजस्ता कार्यहरू आशा गरेअनुसार अगाडि बढ्न सकेका छैन् । हिमतालफुटने भयावह स्थितिको विस्तृत अध्ययन, सर्वेक्षण, अनुगमन हुन धेरै बाँकी छ ।
जलवायु परिवर्तनको कारण कृषि, जलस्रोत, वन तथा जैविक विविधता, जनस्वास्थ्य, पर्यटन आदि क्षेत्रमा परेको प्रतिकुल प्रभावको विस्तृत लेखा–जोखा हुन धेरै बाँकी छ । यसैगरी जलवायु परिवर्तन तथा त्यससँग सम्बद्ध प्रभावहरू हटाउने वा घटाउने एवं अनुकूलनका लागि उपयुक्त प्रविधि विकास तथा जोखिम एवं प्रकोपसँग जुध्ने प्रभावकारी पूर्वतयारीका कार्यक्रमहरू समेत सञ्चालन हुन बाँकी छन् । समष्टिमा, जलवायु परिवर्तनसम्बन्धी महासन्धिको प्रावधान र पक्ष राष्ट्रहरूको सम्मेलनले गरेका निर्णयहरूलगायत अनुकूलन, प्रभाव न्यूनीकरण, आर्थिकस्रोत, प्रविधि विकास एवं हस्तान्तरण, क्षमता अभिवृद्धि, जलवायु समानुकूलनजस्ता अवयवहरूलाई समेटी जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्ने प्रभावकारी खाका निर्माण हुन नसक्नु आजको प्रमुख समस्या रहेको हो कि ?
जलवायु परिवर्तनबाट विभिन्न भौगोलिक एवं सामाजिक–आर्थिक विकासका क्षेत्रहरूमा परिरहेको असर तथा पर्नसक्ने प्रभावका बारेमा जलवायु प्रारूपीकरणको समेत प्रयोग गरी ज्ञान, वैज्ञानिक तथ्यांक, सूचना र जानकारीको अभावले सामाजिक–आर्थिक विकासका क्षेत्रलाई जलवायु समानुकूलन बनाउनुपर्दछ । जलवायु परिवर्तनले परिरहेको र पर्नसक्ने प्रभावको मूल्यांकन गर्नु, जोखिम क्षेत्रहरू पहिचान गरी जलवायु परिवर्तनबाट पर्ने प्रतिकूल प्रभावलाई सहजरूपमा अनुकूलन गर्नसक्ने क्षमता अभिवृद्धि गर्नु तथा हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्ने संयन्त्र विकास गर्न, जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त प्राविधिक तथा आर्थिक अवसरको नेपालले अधिकतम फाइदा लिने परिस्थितिको सिर्जना गर्नुपर्दछ ।
विकास निर्माणमा संलग्न सार्वजनिक निकाय, योजनाकार तथा प्राविधिज्ञहरूलगायत निजी तथा गैर सरकारी संघ–संस्था एवं नागरिक समाजको प्रभावकारी ढङ्गले क्षमता अभिबृद्धि गर्न, जलवायु परिवर्तनको सवाललाई सम्बोधन गर्न सक्षम संस्थागत संरचनाको विकास एवं आवश्यक आर्थिक तथा मानवीय स्रोतका पक्षहरूलाई समेत ध्यान दिनु आजको आवश्यकता हो ।
जलवायु परिवर्तनको चुनौतीको सामना गर्न संस्थागत व्यवस्थाबाट क्षमता अभिवृद्धि, प्रविधि विकास तथा उपयोग, आर्थिक स्रोतको प्रवाह एवं हरितगृह ग्याँसको मापनलगायत तथ्यांक तथा सूचना–जानकारी अध्यावधिक गर्दै सरोकार राष्ट्रहरूलाई जानकारी दिनुपर्दछ । जलवायु अनुकूलन, न्यूनीकरण तथा कार्बन सञ्चितीकरणलाई बढावा दिन, क्षमता अभिवृद्धि, आर्थिक स्रोत जुटाउन तथा सोमा पहुँच पु-याउन एवं प्रविधि विकास र हस्तान्तरणलगायत कार्यक्रम तर्जुमा, कार्यान्वयन, मूल्यांकन तथा अनुगमन कार्यहरू विस्तार गर्नुपर्दछ ।
सामाजिक तथा आर्थिक विकासका लागि प्राकृतिक स्रोतको व्यवस्थापनलाई जलवायु–मैत्री एवं पूर्वाधार विकासलाई जलवायु समानुकूलन वनाउन सर्वपक्षीय सहभागितामार्फत जनचेतना अभिवृद्धि तथा क्षमता विकासलगायत वार्ता क्षमता प्रवर्द्धन गर्नुपर्दछ । स्वच्छ तथा नवीकरणीय ऊर्जाको विकास, कार्बन व्यापार तथा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी संयन्त्रहरूबाट थप प्राविधिक एवं आर्थिक स्रोत जुटाउनु पर्दछ । जलवायु परिवर्तनबाट उपलब्ध अवसरको उपयोग गरी गरिबी न्यूनीकरण तथा दिगो विकासको लक्ष्य पूरा गर्न प्रभावकारी राष्ट्रिय नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु अत्यावश्यक छ ।
जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्दै, जलवायु अनुकूलित हुँदै, न्यून कार्बन–उन्मुख सामाजिक–आर्थिक विकास पथलाई अवलम्बन गर्दै जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संयन्त्रमा भएको प्रतिबद्धताअनुरूप सहयोग तथा सहकार्यको प्रवर्द्धन गरी जीवनस्तरमा सुधार ल्याउन जलवायु परिवर्तनसम्बन्धी अध्ययन, अनुसन्धान र अनुगमन गर्न रसरकारलाई नियमित नीतिगत एवं विषयगत क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्नसक्दो छिटो प्रभावकारी जलवायु परिवर्तन केन्द्रको स्थापना गर्न जरुरी छ ।
आर्थिक स्रोत जुटाई राष्ट्रिय अनुकूलन कार्यक्रममा उल्लिखित स्थानीयस्तर समुदायमा आधारित अनुकूलनका कार्यहरू कार्यान्वयनको सुरुवात गर्न, स्वच्छ विकास संयन्त्रबाट लाभ लिन स्वच्छ ऊर्जा विकासमा टेवा पु-याउन, सामाजिक–आर्थिक विकासलाई जलवायु समानुकूलन बनाउन, भौगोलिक तथा विकासका क्षेत्रहरूमा जलवायु परिवर्तनबाट परेका र पर्नसक्ने प्रभावलगायत यसबाट भएको लाभ र हानिको आर्थिक मूल्यांकन गर्न, प्रविधिको विकास तथा हस्तान्तरण, जनचेनता एवं क्षमता अभिवृद्धि तथा आर्थिक स्रोतमा पहुँच पु-याई जलवायु अनुकूलन प्रवर्द्धन तथा प्रतिकूल प्रभावहरू न्यूनीकरणका उपायहरू प्रभावकारीरूपमा अवलम्बन गर्दै जान आवश्यक छ । जलवायु परिवर्तनबाट जोखिममा रहेका हिमाल, पहाड, चुरे र तराई क्षेत्र, प्राकृतिक सम्पदा, तथा जीविकोपार्जनमा परेको प्रतिकूल प्रभाव कम गराउन भरपर्दो प्रभावकारी पूर्वानुमान प्रणाली विकास गर्नु आजको आवश्यक हो ।
जलवायु परिवर्तनसम्बन्धी चुनौतीलाई समाधान गर्न माथि उल्लेख भएजस्तै सरोकारवाला निकायहरूलाई सुदृढ एवं सक्षम बनाउँन, जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन गर्न तथा प्रतिकूल प्रभावको न्यूनीकरण गर्दै सकारात्मक प्रभावबाट अधिकतम फाइदा लिनुपर्दछ । स्वच्छ ऊर्जाजस्तै जलविद्युत्, पुनः नवीकरणीय तथा वैकल्पिक ऊर्जाको प्रयोग बढाउने तथा ऊर्जा दक्षता अभिवृद्धि एवं हरित प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै हरितगृह ग्यासको उत्सर्जन न्यून गर्नुपर्दछ ।
प्राकृतिक स्रोत साधनको उपयोग एवं सोको कुशल व्यवस्थापनका लागि स्थानीयस्तरको जलवायु अनुकूलन एवं समानुकूलन क्षमता अभिवृद्धि गर्न, सामाजिक–आर्थिक विकासलाई जलवायु परिवर्तन–मैत्री तथा समानुकूलन बनाउँदै न्यून कार्बन विकास पथलाई अवलम्बन गर्न, जलवायु परिवर्तनले पारेको तथा पार्नसक्ने प्रभावहरूको पहिचान, प्रभावहरूको परिमाणात्मक किटान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन अनुकूलनका उपायहरू अवलम्बन गरी जलवायु परिवर्तनका दूष्परिणामबाट बच्ने क्षमता विकास गर्नु आजको आवश्यकता हो ।
जलवायु परिवर्तनबाट सिर्जित रोगवाहक कीटाणु तथा संक्रामक रोगको महामारी फैलिन नदिन पूर्वानुमान तथा रोकथामको आवश्यक संयन्त्रको विकास गर्ने, गराउने, जलवायु परिवर्तनको कारण अन्तर्राष्ट्रिय सीमा वारपारमा परेका असर र पर्नसक्ने प्रभावबाट सिर्जित जोखिम न्यूनीकरण गर्न तथा अनुकूलित हुन द्विपक्षीय तथा बहुपक्षीय सहयोगको विकास तथा विस्तार गर्ने कार्य गर्नुपर्दछ । न्यून कार्बन विकास तथा जलवायु समानुकूलन, दिगो सामाजिक–आर्थिक वृद्धिका लार्गि न्यून कार्बन उत्र्सजन तथा जलवायु समानुकूलन विकास पथ अवलम्बन गर्ने, सामाजिक–आर्थिक विकासलाई जलवायुमैत्री एवं समानुकूलन बनाउन आवश्यक रणनीति, निर्देशिका तथा कार्यविधिको तर्जुमा तथा कार्यान्वयन हुनुपर्दछ ।
वन क्षेत्रको वैज्ञानिक व्यवस्थापन, भू–उपयोग योजनाको तर्जुमा तथा कार्यान्वयन एवं वन विनाश रोक्दै कार्बन सञ्चितीकरणको दायरा फराकिलो बनाउने, हरितगृह ग्याँसको उत्सर्जन न्यून गर्न विद्यमान स्वच्छ तथा नवीकरणीय एवं वैकल्पिक ऊर्जाका क्षेत्रमा उपयुक्त प्रविधिको थप विकास र उपयोग गरी जलवायु परिवर्तनबाट सिर्जित प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न प्रभावकारी योजना तर्जुमा तथा कार्यान्वयन गराउनुपर्दछ ।
वायुमण्डलीय तापक्रम वृद्धि गर्ने खालका वायु प्रदूषकको उत्सर्जन स्रोतमा नै न्यून गर्न उपयुक्त प्रविधिको विकास, हस्तान्तरण र उपयोगमा सहुलियत दिने, ऊर्जा दक्षता अभिवृद्धि गर्न उद्योगले ऊर्जा अडिट गरी जलवायु परिवर्तनको लागि तोकिएको निकायमा पेस गर्ने विद्युतीय ऊर्जामा आधारित यातायात तथा उद्योगको विकास र प्रवर्द्धन गर्ने, पुुल, बाँध, नदी नियन्त्रण आदि संरचना तथा पूर्वाधारहरूको निर्माण गर्दा स्वरूप–गुणस्तरलाई जलवायु समानुकूलन हुनेगरी तर्जुमा तथा कार्यान्वयन गर्नुपर्दछ । न्यून कार्बन उत्सर्जनसम्बन्धी कार्यलाई आर्थिक तथा प्राविधिक सहुलियत प्रदान गरी प्रोत्साहन गर्ने, आर्थिक स्रोतमा पहुँच एवं उपयोग, जलवायु परिवर्तनका सवाललाई सम्बोधन गर्न सार्वजनिक तथा निजी, आन्तरिक एवं बाह्य आर्थिक स्रोत जुटाई गतिशील, प्रभावकारी जलवायु परिवर्तन कोषको स्थापना गरी कार्यान्वयन गर्नु आवश्यक छ ।
अतः स्वच्छ विकास संयन्त्रको प्रवर्द्धनमार्फत कार्बन व्यापारलाई प्रोत्साहन गरी आर्थिक स्रोत जुटाउने, प्रदूषकले तिर्ने सिद्धान्त, तथा सःशुल्क पर्यावरण सेवाको अवधारणालाई कार्यान्वयन गरी आर्थिक स्रोत जुटाउने, जलवायु परिवर्तन कोष तथा जलवायु परिवर्तनसम्बन्धी कार्यहरूको लागि विद्यमान तथा भावी अन्तर्राष्ट्रिय एवं द्विपक्षीय सहयोगबाट प्राप्त हुने आर्थिक स्रोत व्यवस्थापन गर्नुपर्दछ ।
जलवायु परिवर्तन तथा यसका प्रतिकूल प्रभाव न्यूनीकरण संयन्त्रबाट प्राप्त हुने फाइदाहरू गरिबी न्यूनीकरण तथा दिगो विकासको लागि उपयोग गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट जुटाइएको आर्थिक स्रोतलाई जलवायु अनुकूलन, प्रतिकूल प्रभाव न्यूनीकरण तथा न्यून कार्बन विकास कार्यहरूलगायत जल उत्पन्न तथा अन्य प्रकोपहरू बाढी, पहिरो, डढेलो, माहामारी, खडेरी आदिबाट पीडितलाई राहतका लागि खाद्य, स्वास्थ्य तथा जीवनाधार सुरक्षाको लागि उपयोग गर्ने, जलवायु परिवर्तन कोषको वृद्धि गर्न तथा सदुपयोगको लागि प्रभावकारी रणनीति, निर्देशिका तथा कार्यविधिहरूको तर्जुमा तथा कार्यान्वयन गर्न जोड दिनुपर्दछ ।
जलवायु अनुकूलन, समानुकूलन एवं अन्य जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमहरूको लागि आर्थिक सहयोग जुटाउने तथा पहुँचलाई सरल बनाउने, क्षमता अभिवृद्धि, जनसहभागिता तथा सशक्तीकरण, स्थानीय तहदेखि नीति निर्माण तहसम्म जलवायु अनुकूलन, प्रभाव न्यूनीकरण, हरितगृह ग्याँसको न्यून उत्सर्जन विकास पथ, प्रविधि विकास तथा हस्तान्तरण, कार्वन व्यापारलगायतका विषयहरूमा सूचना–जानकारी अध्यावधिक गर्दै क्षमता अभिवृद्धि गर्नुपर्दछ । जलवायु परिवर्तनसम्बन्धी कार्यमा गरिब, दलीत, सीमान्तकृत जनजाति, आदिवासी, महिला, बालबालिका तथा युवाकोे सहभागिता सुनिश्चित गरी जलवायु अनुकूलनसम्बन्धी कार्यहरूको कार्यान्वयन गर्नु आजको आवश्यकता हो । (गुणस्तरी जीवन विषयमा विद्यावारिधि तथा जलवायु परिवर्तन विषयमा दर्जनौँ अध्ययन अनुसन्धान)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया