Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहेटौँडा सिमेन्ट उद्योगद्वारा एक अर्ब ४० करोडबराबरको सिमेन्ट बिक्री

हेटौँडा सिमेन्ट उद्योगद्वारा एक अर्ब ४० करोडबराबरको सिमेन्ट बिक्री


हेटौंडा । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/०७८ मा कुल एक अर्ब ४० करोड ३३ लाख ९९ हजार रुपैयाँबराबरको सिमेन्ट बिक्री गरेको छ । कुल १८ लाख ५३ हजार सात सय ६४ बोरा सिमेन्ट बिक्रीबाट उक्त आर्थिक कारोबार गरेको हेटौँडा सिमेन्ट उद्योगले जनाएको छ ।

यस्तै उद्योगले लक्ष्यअनुसारको सिमेन्ट भने उत्पादन गर्न नसकेको जनाएको छ । उद्योगले उक्त आवमा कुल ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको थियो । कोरानाको असहज परिस्थिति, पुरानो मेसिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुन नसकेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए ।

वि.सं. २०७७ साउन महिनामा एक लाख ५१ हजार एक सय ८३ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ भने भदौमा एक लाख ३९ हजार नौ सय ६६ बोरा र असोजमा एक लाख ३२ हजार सात सय ९६ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ । यसैगरी २०७७ कात्तिकमा एक लाख एक हजार नौ सय ९३ बोरा, मंसिरमा एक लाख ४१ हजार तीन सय ७० बोरा र पुसमा एक लाख ८४ हजार तीन सय ३९ बोरा सिमेन्ट उद्योगबाट बिक्री भएको देखिन्छ ।

उद्योगका अनुसार माघमा एक लाख ५० हजार पाँच सय ९८ बोरा, फागुनमा एक लाख ६४ हजार सात सय नौ बोरा सिमेन्ट बिक्री भएको छ भने चैतमा दुई लाख सात हजार आठ सय १३ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ । यस्तै वि.सं. २०७८ वैशाखमा दुई लाख ३० हजार ८८ बोरा, जेठमा एक लाख २६ हजार पाँच सय ३१ बोरा र असारमा एक लाख २२ हजार पाँच सय ३१ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ ।

उद्योगका विभिन्न चार स्थानमा चुनढुङ्गा खानी छ । यद्यपि उद्योगले गत आवमा आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे र धादिङको जोगिमाराबाट मात्र चुनढुङ्गा ल्याएको थियो । उद्योगले सो आवमा कुल एक लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिए पनि कुल एक लाख मेट्रिक टन मात्र क्लिंकर उत्पादन गरेको उद्योगले जनाएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा वि.सं. २०३३ मा स्थापना भएको यस उद्योगमा तत्कालीन अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, खानी विभागलगायत विभिन्न सरकारी निकायको समेत सेयर छ । उद्योग लामो समयदेखि नाफामा जानसकेको छैन । यद्यपि उद्योगलाई नाफामा लैजान अन्य निजी क्षेत्रबाट स्थापना गरिएका सिमेन्ट उद्योगसरह नयाँ प्रविधि जडान गर्ने गरी विकास गर्न आवश्यक रहेको महाप्रबन्धक सिंहले जानकारी दिए ।

हेटौँडा सिमेन्ट उद्योगअन्तर्गत करिब १०१ बिघा क्षेत्रफलमा उद्योग र आवास क्षेत्र रहेको छ भने करिब दुई सय बिघा क्षेत्रफल विभिन्न स्थानमा उद्योगका लागि आवश्यक कच्चा पदार्थ खानी (चुनढुङ्गा) रहेको क्षेत्र छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुङ्गा खानी छ ।

यस उद्योग केही सीमित आवबाहेक अन्य धेरैजसो आवमा विविध कारणले आर्थिकरूपमा ठूलो नोक्सानीसहित सञ्चालन हुँदै आएको छ । पुराना मेसिनरी प्रविधि र पटक–पटक बिग्रिने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगमा आर्थिकरूपमा नोक्सानी हुँदै आएको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु साहले बताए ।

उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करिब दुई अर्ब रुपैयाँबराबरको वार्षिक आम्दानी देखिन्छ भने करिब दुई अर्बभन्दा बढी वार्षिक खर्च देखिन्छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चापदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा देखिन्छ । उद्योगमा स्थापना गरिएको प्रविधि निकै पुरानो भए पनि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चा पदार्थलाई मात्र प्रयोगशालाले स्वीकार गर्दछ । यद्यपि निजी क्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तर उद्योगको मुख्य प्राथमिकता रहेको उद्योगले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x