Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली मिति राखेर सामान बेच्ने गिरोह नै पक्राउ

नक्कली मिति राखेर सामान बेच्ने गिरोह नै पक्राउ

दुई करोड मूल्यबराबरको सामान बरामद


काठमाडौं । नक्कली मिति राखेर सामान बिक्रीवितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा मिनभवका अनुसार झण्डै दुई करोड रुपैयाँ मूल्यबराबरको सामानमा नक्कली मिति राखेर बजारमा पठाउने तयारी भइरहँदा सामानसहित एक भारतीय र अर्का नेपाली नागरिक पक्राउ परेका हुन् ।

महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेहरुमा पर्साको वीरगञ्ज महानगरपालिका १३ घर भई हाल काठमाडौं महानगरपालिका छाउनी बस्ने ३१ वर्षीय अविनाश अग्रवाल र भारतको राजस्थान सिकर जिल्ला घर भई हाल काठमाडौंको सानो भ-याङ बस्ने ४१ वर्षीय महावीर गजुर छन् ।

उनीहरुले म्याद गुज्रेका कस्मेटिक्स सामानहरु बडी स्प्रे, एयर फर्सेन, स्याम्पो तथा कार वासलगायतका सामानहरुमा पुरानो मिति उप्काई नयाँ मिती राखेर बिक्रीवितरण गर्दै आएका थिए । प्रहरीले उनीहरुमाथि शंका गर्दै अनुसन्धान गरिरहेको थियो । सो क्रममा आइतबार ती व्यक्तिहरुलाई सानोभ-याङबाट पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

सानो भ-याङस्थित समिट कमर्सियल प्रालिले भाडामा लिएको साढे तीनतले घरमा नयाँ मिति टाँस गरी बजारमा पठाउन तयारी अवस्थामा राखेको अन्दाजी एक करोड रुपैयाँ मूल्यबराबरको सामानसहित ती व्यक्तिहरु पक्राउ परेका हुुन् । सोपश्चात् उनीहरुको काठमाडौंको भोटेबहालमा रहेको गोदामबाट पनि सोही मूल्यबराबरको सामान बरामद भएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

दुवै ठाउँमा गरी झण्डै दुई करोड रुपैयाँ मूल्यबराबरको बजारमा पठाउन तयारी अवस्थामा राखेको सामान बरामद भएको उनको भनाइ छ । दुवै जनाको गोदाममा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग बबरमहलको समन्वयमा सिल गरी थप अनुसन्धान तथा कारबाहीको लागि विभागमा पठाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x