‘निजी क्षेत्रलाई करको भार कम गर्ने बाटोमा अघि बढ्छौं’
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले निजी क्षेत्रलाई करको दायरा कम गर्ने बाटोमा अघि बढ्ने बताएका छन् । दीर्घकालीन राजस्वका स्रोत खोज्ने र सरकारको खर्च कम गर्ने बाटोमा सरकार अघि बढ्ने बताए ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उपाध्यक्ष पौडेलले सरकारको खर्च घटाई उद्यमीलाई सहुलियत दिने बाटोमा अघि बढ्नुपर्ने उल्लेख गरेका हुन् । सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिई नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ । ‘उद्यमीले सस्तोमा उत्पादन गर्न नसके उनीहरूले प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सक्दैनन्’, उनले भने, ‘सरकारले सहज व्यवसायका लागि नियामकीय दायरा खुला बनाई खुला प्रतिस्पर्धात्मक बजार निर्माणमा सहयोग गर्नुपर्छ ।’
सरकारले दीर्घकालीन राजस्वको स्रोतहरू खोज्ने उपाध्यक्ष पौडेलले बताए । ‘हामीले निजी क्षेत्रलाई करको दायरा कम गर्ने बाटोमा अघि बढ्छौँ,’ उनले भने, ‘दीर्घकालीन राजस्वका स्रोत खोज्ने र सरकारको खर्च कम गर्ने बाटोमा हामी अघि बढ्छौँ ।’ पौडेलले उत्पादनमूलक क्षेत्रको विकास नभई सेवा क्षेत्रले मात्रै नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताए । उद्यमीले व्यहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्ने उनको भनाइ थियो । उनले नीति तथा कानुनहरूमा एकरूपमा र नयाँ सोचलाई समावेश गर्ने उल्लेख गरे ।
पौडेलले अर्थतन्त्रमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको यथार्थ विवरण सार्वजनिक गरिएको बताए । उनले सरकारको चालू खर्च उच्च रहेको उल्लेख गर्दै पुँजीगत खर्च वृद्धि गर्नुपर्ने चुनौती रहेको बताए । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न उत्पादनमुखी अर्थतन्त्रलाई पहिलो उद्देश्य बनाएर काम गर्नुपर्ने बताए ।
अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक विकास र उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्न मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरेको भन्दै उक्त अभियान सञ्चालन गर्ने सोच कार्यान्वयन गर्ने महत्वपूर्ण श्रेय उपाध्यक्ष पौडेललाई जाने बताए । उनले उपाध्यक्ष पौडेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव नेपालको अर्थतन्त्रको तीव्र विकास गर्न, निजी क्षेत्रलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धात्मक बजार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । उनले अर्थतन्त्रलाई गतिशील बनाउन र कोभिडको प्रभावबाट छिटो बाहिर ल्याउन सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने धारणा राखे ।
यसैगरी परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मेक इन नेपाल स्वदेशी अभियान कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेलेकोमा उपाध्यक्ष पौडेललाई धन्यवाद दिँदै योजना आयोगले मुलुकको विकासका लागि दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाई अघि बढ्ने भएकाले मुलुकलाई औद्योगीकरणको बाटोमा लैजान उपाध्यक्ष पौडेलको भूमिका महत्वपूर्ण हुने बताए । ‘निजी क्षेत्रको वास्तविक समस्या उहाँलाई राम्रोसँग थाहा छ’, मोरले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै सहजीकरणका लागि भूमिका खेल्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’ उनले निजी क्षेत्रसँग सहकार्य गरी भविष्यमा नीतिनिर्माणका लागि आग्रह गरे ।
‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा परिवर्तन गर्न हामीले अभियान अघि बढाएका छौँ, यसलाई मूर्त रूप दिनसक्ने हो भने नेपालको अर्थतन्त्रमा ठूलो परिवर्तन गर्नसक्छौँ’, मोरले भने । उनले सानो कमजोरीमा पनि व्यवसायीलाई जेल हाल्ने कानुनमा परिमार्जन गर्न जोड दिए । ‘संसारभर भएको व्यवस्था नेपालमा पनि ल्याउन सक्ने हो भने हामीले लगानी अभिवृद्धि गर्न सक्छौँ’, उनले भने । कार्यक्रममा परिसंघका उपाध्यक्षहरू, गभर्निङ काउन्सिलका सदस्यहरू र विभिन्न काउन्सिलका नेतृत्व गरिरहेका राष्ट्रिय परिषद्का सदस्यहरूको उपस्थिति थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया