Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवन्यजन्तुमैत्री राजमार्गको आवश्यकता

वन्यजन्तुमैत्री राजमार्गको आवश्यकता


काठमाडौं । मानव एवं वन्यजन्तुबीचमा कायम रहँदै आएको आपसी सन्तुलनको क्षेत्रमा कुनै कारणवश न्यूनता कायम रहन गएमा यी दुईमध्ये कुनै एक वा दुवै पक्षको जीव अस्तित्व लोपउन्मुख मार्गमा अगाडि बढ्ने प्रबल सम्भावना रहन्छ । जसका कारण सम्पूर्ण इकोसिस्टममा नै नकारात्मक प्रभाव पर्नजाने तथ्यलाई अन्यथा लिन मिल्दैन । तसर्थः प्राणीमात्रको अस्तित्व लोप हुनुपूर्व नै समस्या निराकरणको लागि आवश्यक पर्ने निदानका विविध उपायलाई अवलम्बन गर्दै विकसित कार्ययोजनालाई अगाडि सार्नुपर्ने हुन्छ । किनकि यी, दुवै पक्ष प्रकृतिका अनुपम उपहारहरू हुन् । सम्बद्ध दुवै पक्षले रोग र भोगको लागि आ–आफ्नो क्षेत्रबाट स्वधर्म कायम राख्दै प्राकृतिक अस्तित्व लोप हुनबाट बचाउन सदैव संघर्षरत रहँदै आएका छन् ।

सिर्जनशील सामाजिक प्राणीको रूपमा रहेको मानवसरह विचारको आदानप्रदान सहजरूपमा गर्न नसक्ने वन्यजन्तु समूहको जैविक अस्तित्व रक्षार्थ मानव मात्रमा अहम् भूमिका एवं थप जिम्मेवारी वहन गर्नुपर्ने अवस्था तयार भएको छ । जसका लागि गन्तव्य निर्धारणार्थ मानवनिर्मित मुलुकका राष्ट्रिय राजमार्गहरू वन्यजन्तु मैत्री रहन सक्छन् वा सक्दैनन् भन्ने यक्षप्रश्नको चौघेराभित्र दुर्लभ–लोपउन्मुख वन्यजन्तुहरूको जीवन सुरक्षित रहने वा नरहने भन्ने कुराको एकिन पहिचानको साथै सम्बद्ध समूहको भविष्य निधारित हुनेछ भन्दा फरक नपर्ला ।

निश्चित रूपमा दुर्लभ वन्यजन्तु सम्प्रदायले राजमार्ग आसपासका क्षेत्रमा रहेको आरक्षण/निकुञ्जमा हुनेगरेको मानवीय क्रियाकलापको कारण आफू र आफ्नो समूहलाई असुरक्षित रहेको महसुस गर्दै आएको यस क्षेत्रका जानकारहरूको बुझाइमा रहेको पाइन्छ । किनकि छाडा चौपाया एवं वस्तुभाउले सहजै आरक्षण क्षेत्रमा विचरण गर्नसक्ने हुँदा वन्यजन्तुमैत्री राजमार्गको अवधारणामा समेत गतिरोध उत्पन्न भई समस्या खडा हुने देखिन्छ । जसका कारण उत्पन्न हुने मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणको क्षेत्रमा अनधिकृत रूपमा प्रयोग हुनेगरेको वन फँडानी र चोरीसिकारीजस्ता कार्यले मात्र प्रोत्साहन पाउने परिस्थितिको निर्माण हुनेबाहेक अन्य कुनै ठोस उपलब्धिमूलक कार्य प्राप्त हुन सक्दैन भन्दा फरक नपर्ला । विपरीत अवस्था तयार भए अकल्पनीय दुर्घटनाको सामना गर्नुपर्ने हुन्छ । सामान्यतया जगंली जनावरले मानव वा अन्य जीवजन्तुलाई सहजै आक्रमण गर्दैनन् तथापि उनीहरूको सुरक्षामा खतरा रहन्छ भन्ने भएमा आक्रमणको सम्भावना बढेर जाने परिस्थितिको निर्माण हुनेछ ।

प्रस्तुत प्रवृत्तिको विकासले एकातिर आरक्षणको सुरक्षाको प्रश्नमा चुनौती खडा गर्छ भने, अर्कोतर्फ मुलुकको संविधानअनुसार कुनै एक भू–भागमा बस्ने आम नागरिक समुदायलाई अर्को स्थानमा स्वतन्त्रतापूर्वक बिनारोकतोक आवागमन गर्न पाउने संवैधानिक मूल्य मान्यताअनुसारको हकअधिकारलाई आत्मसात् गर्दै व्यवहारतः लागू गर्नुपर्ने अवस्था तयार हुने देखिन्छ । त्यसो भएको हुँदा दुवै पक्षको अहित नहुने गरी निकास निकाल्नु यस क्षेत्रको सुरक्षा अवधारणाको साथै वन्यजन्तु संरक्षणको अचुक उपाएको प्रमुख विधिको रूपमा यसलाई लिन सकिन्छ ।

अपवादबाहेक हरेक दिन व्यस्त रहने निकुञ्ज आसपास रहेका राजमार्गमा हुनेगरेको दुर्घटनाको सिकारमा त्यसवरपर रहेका मानवसमूह, घरपालुवा वस्तुभाउको अतिरिक्त अन्य वन्यजन्तु समेत पर्नेभएको हुँदा सम्बद्ध समूहको जीवनरक्षाको लागि राष्ट्रिय राजमार्गलाई वन्यजन्तुमैत्री रणनितिक योजनाभित्र समाहित गर्ने प्रयास गरिनुपर्ने हुन्छ ।

निषेधित मानिएका क्षेत्रमा तोकिएको मापदण्डसहितको प्रवेशद्वारबाट मात्र निकुञ्ज प्रवेशका लागि अनुमति प्रदान गर्नुपर्नेछ । साथै राष्ट्रिय सम्पदाका अमूल्य निधिको रूपमा रहेका हाम्रा वन्यजन्तुलाई समेत सहज रूपमा व्यस्त राजमार्गमा प्रवेश गर्न नसकोस् भन्ने सुउद्देश्यका साथ काँढेतारको उपयुक्त व्यवस्थापन गर्नुको अतिरिक्त सम्बद्ध समूहलाई प्रत्यक्ष घात नहुने प्रवृत्तिका झड्कायुक्त विद्युतीय तरंगले सचेत गराउनेतर्फ विशेष ध्यान दिनुपर्ने हुन्छ । जसका लागि रात्रिकालीन समयमा निकुञ्ज प्रवेशमा कडाइको रणनीतिलाई अविलम्ब लागू गर्नुपर्ने देखिन्छ । परिणामतः राजमार्ग एवं आरक्षणहरू वन्यजन्तुमैत्री रहनुको साथै यस क्षेत्रको सुरक्षा प्रणालीलाई चुस्तदुरुस्त राख्न सहयोगीको भूमिका निर्वाह हुनेथियो भन्दा फरक नपर्ला । प्रस्तुत व्यवहारको विकासले वन्यजन्तु तथा राजमार्गको सुरक्षा चुनौतीमा केही हदसम्म भए पनि राहत महसुस गर्न सकिनेछ ।

यस क्षेत्रको भौतिक पूर्वाधार निमार्णका क्रममा हुनेगरेको पर्यावरणीय जोखिमको सन्दर्भमा उत्पन्न हुनसक्ने विविध पक्षलाई समयमा नै यथोचित ध्यान पु-याउन नसक्दा राजमार्गहरू थप चुनौतीमय बन्न पुग्नेछन् । मौसम परिवर्तनका समयमा वन्यजन्तुहरू बसाइँसराइ एवं आहाराको खोजीमा निकुञ्जबाहिर निस्कन सक्ने सम्भावना रहेकोले रार्जमार्गमा जोखिमको दर दिनप्रतिदिन चुलिनसक्ने सम्भावनालाई नकार्न भने मिल्दैन । मैत्रीपूर्ण सद्भावको अभावमा सबैभन्दा प्रभावित हुने समूह भनेको अन्ततः वन्यजन्तु नै हुन् भन्दा त्यति फरक नपर्ला ।

प्रस्तुत समस्याहरू बारम्बार निम्तिनुका प्रमुख कारक तत्वको रूपमा अत्यधिक गतिमा चल्ने सवारी साधनलाई लिन सकिन्छ । परिणामतः दुर्घटनाको दरमा पनि वृद्धि हुने सम्भावनालाई मध्यनजरमा राखी सवारी गतिलाई नियन्त्रण गर्न आवश्यक तालमेल मिलाउनसके यथार्थ रूपमा हाम्रा राजमार्गहरू वन्यजन्तुमैत्री रहेका रहेछन् भन्ने कुराको प्रमाणित हुनेछ । साथै आरक्षण आसपासका सहायक राजमार्गमा पैदल, मोटरसाइकल वा साइकल चालकको जीवन सुरक्षाको सम्भावित जोखिमको मूल तथ्यलाई ध्यानमा राख्दै सुरक्षात्मक जनचेतना अभिमुखी कार्यक्रमका अनेकन उपायलाई सम्प्रेषण गर्नुपर्ने हुन्छ । वन्यजन्तुको अत्यधिक घनत्व रहने क्षेत्रमा जोखिमको अवस्थाहेरी वैकल्पिक मार्गको प्रयोग वा ओभरपास पुल अथवा सुरुङमार्ग प्रयोगको दरलाई व्यवहारमा उतार्ने हो भने निकै नै लाभ हासिल गर्न सकिने अवस्था पैदा हुने देखिन्छ

तदुपरान्त वन्यजन्तु, मानव एवं सवारीसाधनको बीचमा अप्रत्यासित रूपमा हुनसक्ने जम्काभेटको सम्भावनालाई क्रमशः न्यून गर्दै यस क्षेत्रमा रहँदै आएको दुर्घटनाको दरमा अभूतपूर्व सफलता प्राप्त हुने कुरामा कुनै प्रकारको द्विविधा कायम रहने छैन । प्रस्तुत कार्यको सफल कार्यान्वयनको लागि आधुनिक सूचना प्रविधि एवं त्यससँग सरोकार राख्ने अन्य प्रविधिको विकासको अभावले हाम्रा राजमार्गहरू वन्यजन्तुमैत्री बन्न नसकेका हुन् त ? भन्ने प्रश्नलाई मनन गर्दै सुधारका उपाए अविलम्ब खोजी गर्नुपर्ने देखिन्छ । जसका लागि निकुञ्जवरपरका राजमार्गमा सम्भव भएसम्म वन्यजन्तुमैत्री स्वयमसेवकहरूको सहयोगमा व्यवस्थित कार्ययोजनालाई अगाडि बढाउनुपर्ने हुन्छ । जसको संरक्षणको लागि विशेष पहलकदमी अपनाउने हो भने राज्यका तर्फबाट अंगीकार गर्ने भनिएको वन्यजन्तुमैत्री राजमार्गको अवधारणाले यथार्थपरक रूप धारण गर्नेछ भनी ठोकुवा गर्न सकिन्छ ।

यसै सन्दर्भमा हालै केही समय अगाडि मात्र कैलाली जिल्लाको गौरीगंगा नगरपालिका एवं प्रकारले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा बाघ आतंक एवं मानिसको मृत्यु भएको घटनाले सर्वपक्षीय चिन्ता तथा जोखिमको दर बढाएको तथ्यलाई फरक हिसाबले अवश्यक पनि हेर्न मिल्दैन । यो निकै नै चिन्ताको विषय समेत हो । उपरोक्त गतिविधिलाई समयमा नै नियन्त्रणको प्रयास नगर्ने हो भने, अकल्पनीय दुर्घटनाको सम्भावनालाई कुनै पनि पक्षले चाहेर पनि रोक्न नसक्ने हुँदा वन्यजन्तुमैत्री राजमार्गको विकासमा सर्वपक्षीय सचेतताको खाँचोलाई व्यवहारतः लागू गर्नु आजको प्रमुख आवश्यकता हो भन्दा फरक नपर्ला । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x