Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबाहुन, क्षेत्री खस आर्य : नेपालको जाति, भाषा र संस्कृति–१

बाहुन, क्षेत्री खस आर्य : नेपालको जाति, भाषा र संस्कृति–१


काठमाडौं । नेपाल शताब्दीयौँ देखि हिन्दू धर्म र संस्कृतिको एकछत्र रुपमा आधारक्षेत्र किन रह्यो ? यसको एक मात्र कारण छ– बौद्धिक ब्राह्मण तथा क्षेत्रीयहरूको पहाडी भूभाग विशेषतः कश्मिर हिमाञ्चल तथा कुमाउ गढवाललगायत सुदूरपश्चिम नेपालका भू–भागहरूमा आर्य ब्राह्मणहरूको प्रवेश । यति भए पनि पटक–पटकको मुस्लिम आक्रान्तहरूको आक्रमणहरूबाट आजित भई हिन्दू धर्म र संस्कृतिका संवाहक ब्राह्मणहरू पहाडी भू–भागमा प्रवेश गर्नु पूर्व नै धेरै ब्राह्मण तथा क्षेत्रीय राजा एवं लडाकुहरू पहाडी भूभागमा प्रवेश गरी विभिन्न राज्यहरू ख्डा गरिसकेका थिए । मोहम्मद गौरी भन्ने मुस्लिम लुटेरा तथा लडाका सरदारले भारतवर्षमा प्रवेश गरी हिन्दू मन्दिरहरू ध्वस्त पार्दै तथा त्यस बखतको स्वर्ण अर्थात् सुनको स्वर्ग भनिने भारतवर्षका विभिन्न राज्यहरूमा लुट्दै, मारकाट गर्दै हिन्दू, हिन्दू धर्म एवं हिन्दू मानिसहरूमा विशेष निशाना बनाउँदै आफ्नो राज्य फर्किने गर्दथे ।

यति मात्र नभई मोहमद गजनवी भन्ने सेनाको सरदार डाँकु लेटेर । आफ्नो सानो राज्यबाट फौजका साथ पटक–पटक भारतवर्षको राज्यहरूका समृद्ध खजानाहरू लुट्नलाई आउँथ्यो । यसभन्दा पनि अघि आठौँ शताब्दीदेखि नै इस्लामी सेना तथा फौज भारतलाई लुट्नका ध्येयले आउने गर्थे तर सिन्ध नदी पार नगरी लुटमार गरेर फर्किने गर्थे । त्यतिखेर भारतवर्ष भनेको सिन्धु नदी पश्चिम ठूलो भूभागलगायत अफगानिस्तानको पहाडहरूसम्म रहेको थियो ।

मोहमद गजनवी भन्ने सेनाका सरदार राजाले पटक–पटक गरी करिब १७ पटक हिन्दूस्थान अर्थात् त्यसबखतको हिन्दू राज्यमा आक्रमण गरे । गजनवीको आक्रमण मुख्य उद्देश्य धन लुट्नु मात्र नभई हिन्दू मन्दिरहरू ध्वस्त गर्नु पनि रहेको थियो । गजनवीले जहाँ थाहा पाउँथे ठुला हिन्दू मन्दिरहरूमा अगाध धन संकलन गरिएको छ भनेर त्यहाँ त्यहाँ आफ्ना सेना लिई पुग्दथ्यो ।

मुसलमान लडाकु आफ्नो विशाल फौज लिई आउने क्रममा राज्य लुट्न तथा मन्दिर लुट्नका निमित्त सुदुर टाढा दक्षिण भारतदेखि उत्तर भारतका अनेकौँ राजा तथा प्रजाका धन लुटेर हिन्दू मानिसहरूलाई मार्दै विशेष गरी हिन्दू मन्दिर तथा मन्दिरका मूर्तिहरूलाई टुक्रा टुक्रा पारी ध्वस्त गरेर वितण्डा मच्चाउँदै फर्कने गथ्र्यो । मोहमदका मुख्य तारो हिन्दू ब्राह्मणहरू हुने गर्दथे । किनभने हिन्दू मन्दिर, हिन्दू धर्मको रक्षार्थ, ब्राह्मणहरू अर्थात् बाहुनहरूकै जिम्मेवारी हुन आउँथ्यो भने क्षेत्रीयहरूले मात्र युद्ध गर्नुपर्ने नियमले गर्दा अरु धेरै बहुसंख्यक जनता मूकदर्शक भई गजनवीको आक्रमणलाई सहज बनाई आफ्ना राज्यहरू लुटेर जाने बाटो खोलिदिएझैँ गर्दथे ।

गजनवीको समयपछि कैयौँ मुसलमान आक्रान्त भारतमा धावा बोल्न आउने मार्ग प्रस्तर हुन गयो । कैयौँ मुसलमान अग्रान्तहरूले भारतवर्षका राज्यहरू जिती आफ्नो शासन सत्ता कायम गर्न थाले तुर्क तथा अफगान शासकहरूका अधीनस्थ बस्न ब्राह्मणहरूले नरुचाएकाले धेरै गढवालतर्फको पहाडी सुरक्षित क्षेत्रतर्फ पलायन हुन पुगे भने धेरै कश्मिरतर्फ पलायन हुन गए।

शिहाबुद्धिन मुहम्मद गौरी भन्ने मुसलमान शासकले पञ्जावको राज्य जिती सुल्तान भएपश्चात् ब्रह्माण्ड हिन्दू वर्गलाई धर्म रक्ष तथा हिन्दूत्व संकटमा परेको महसुुस हुन थाल्यो । हिन्दू राजाहरूले पनि आपसमा लडिरहेकाले तथा गुजरातका राजा पृथ्वीराज र राजा भिमले मुसलमान राजाका विरुद्ध संयुक्त मोर्चा बनाए पनि आपसमा नै युद्ध गर्न थालेकाले मुसलमान शासकलाई आक्रमण गर्न सहज हुन गयो ।

यो कुरा करिब एक हजार वर्षअघिको हो । जुन बखत वैदिक, आर्य, ब्राह्मणहरू पहाडी भूभागतर्फ लागे भने शहाबुद्धिनको आक्रमणकाल करिब इ.सं. ११७८ तिरको हो । त्यसबखत उत्तर पश्चिमी भारतीय मैदानी इलाकाहरूबाट विशेषतः वैदिक ब्राह्मण तथा मुसलमान आक्रमणहरूबाट परास्त राजपुत क्षेत्रीयहरूको ठूलो संख्या पहाडी भूभागहरूमा आगमन हुन गयो ।

त्यसभन्दा अघिको समयमा पहाडहरूमा बसोबास गरी रहेका खस जातिहरू पनि हिन्दू धर्म संस्कृतिमा आबद्ध भइसकेका थिए भने गुर्जर क्षेत्र (राजस्थान हरियाणा र उत्तरी पश्चिम गुजरातको केही उत्तरी भाग) का हिन्दू ब्राह्मणहरूले काम्यकुञ्ज (उत्तर प्रदेशको कानपुर नजिक) राज्यमा पुरोहितलगायत ब्राह्मण आमजनका रुपमा ठूलो संख्यामा आफूहरूको विद्वत् एवं धार्मिक वर्ग खडा गरी बसोबास गर्न थालिसकेका थिए ।

एउटा कुरा के छ भने नेपाली भाषा तिनै गुर्जर क्षेत्र तथा काव्यकुञ्जका ब्राह्मणहरूद्वारा पछि आएर पहाडी राज्यहरूमा व्याकरणहरू तयार पारी नेपाली, गढवाली र कुमाउ भाषाको माउ भाषा विकसित हुन गएको हो । यो भाषा केवल संस्कृत भाषाको एउटा हाँगो थियो भने त्यस भाषालाई हिन्दू बनेका पहाडमा ठूलो संख्यामा रहेका खसहरूद्वारा बोल्न थालिएकाले पछि आएर खस कुरा वा खस भाषाको संख्या दिन थालियो । नेपाली भाषा प्राचीन कालका खसहरूले बोल्ने भाषा नभई विशुद्ध संस्कृत भाषाको प्राकृत भाषाका रुपमा विकसित एक भाषा हो । राजस्थानी र गुजराती शब्दहरू आयो, गयो, छोरा, छोरी आदि लगायत कैयौँ शब्दहरू मिल्न जानुको कारण पनि त्यही हो ।

यसैगरी राजस्थानी र गुजराती भाषासँग नेपाली, कुमाउली भाषाका अनेकौँ व्याकरणका क्रिया शब्दहरू हुबहु छन् भने केही समय र स्थानका कारण झिनो परिवर्तित रुपमा छन् । जस्तै चोखो –चोखो, पछाडि–पछाडि, अगाडि–अघाडि वा अघाडि तिमन–तिउन, जमिनवार–ज्यूनार, नौबतबाजा–नौमती बाजा, माथि–माथि, वेरा–वेरा, चित्त–चित्त, तल–तल, कपाल–कपाल, यस्तै :– आयो, गयो, खायो, दियो, लियो, ल्यायो, त्यस्तै आउँला, जाउँला, खाउँला जस्ता शब्द राजस्थानीमा आउँलो, जाउँलो, खाउँलो आदि हुन जान्छ । समय कालक्रममा राजस्थानी भाषामा पनि केही परिवर्तन भइसकेको छ भने नेपाली भाषा पनि परिवर्तित भई स्थानीय लोक भाषाका शब्दहरूका रुपमा परिवर्तन र रुपान्तरित भइसकेको छ ।

कुमाउली गढवाली क्षेत्रमा समेत हिन्दू भाषाको प्रमुखताको कारण हिन्दी भाषाको झल्को देखिन्छ । सो क्षेत्र लामो समय खरि हिन्दी भनेर बोलिने भारतको उत्तर प्रदेशको भूभाग रहेकाले तथा सम्पर्क र सम्बन्धका कारण हिन्दीको प्रभाव पर्नु स्वाभाविक पनि हो । राजस्थानी तथा गुर्जर क्षेत्रसँग नेपालको ऐतिहासिक कालिन भेष, भाषा, चलनमा धेरै कुरा मिलेको देखिन्छ भने भेषभूषा पनि लबेदा दौरा सुरुवाल लगायत मिलेको देखिन्छ । जाडो र गर्मी ठाउँअनुसार मात्र केही भिन्नता देखिन्छ ।

भाषाका सवालमा भारतीय उपमहाद्वीपका भाषाहरूमा कुमाउली भाषा (जो कुनै बखत नेपाल नै थियो) क्रियापदका दृष्टिले सबैभन्दा निकट गुजराती, राजस्थानी र त्यसपछि मैथिली हुन् भन्ने कुरा स्व.श्री मातृका प्रसाद कोइराला उल्लेख गर्नुहुन्छ । (हेर्नुहोस् राजस्थानी बिर, नेपाल विशेषांक वि.सं. २०१४)

संस्कृत बोल्ने ब्राह्मणलगायत अनेकौँ जन भारत वर्षको मैदानी क्षेत्र छाडी पहाडतर्फ लागेपश्चात् नै नेपाली भाषा विकसित हुन गएको हो । पुरातन वा प्राचीन खस भाषाको आधार स्रोत संस्कृत भाषा नभई उदिच्च र खसहरूले बाल्हिक प्रदेशमा बोल्ने गरेको बाल्हिक भाषा थियो । बाल्हिक भाषा संस्कृत भाषासँग तथा भारतवर्षका केही भाषाहरूसँग केही केही मिल्न जानुको कारण बाल्हिक प्रदेश (पश्चिम कश्मिर, उत्तर पाकिस्तान र उत्तरी अफगानिस्तानमा संस्कृतभाषी हिन्दू वैदिक आर्यहरूसँगको सम्पर्क तथा प्रभावले मात्र भएको हो ।

भाषाशास्त्री विद्वानहरूले दर्दी, पैशाची र खस भाषाको उद्भव स्रोत भनेर बाल्हिक प्रदेशमा कुनै बखत बोलिने भाषालाई नै मानेका छन् । बाल्हिक प्रदेशमा हिन्दू आर्यजनको सम्पर्क तथा उपस्थितिले बाल्हिक भाषामा संस्कृत भाषाका शब्दहरू मिल्न जानु स्वाभाविक थियो । क्रमशः . . . 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x