Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीमदत्तका पाँचवटा वडाका आफ्नै कार्यालय भवन !

भीमदत्तका पाँचवटा वडाका आफ्नै कार्यालय भवन !


कञ्चनपुर । भीमदत्त नगरपालिकाका वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन हुन थालेका छन् । स्थानीय तह निर्वाचनपछि नगरपालिकाले वडा कार्यालय भवन बनाउन थालेपछि वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका हुन् ।

हालसम्म भीमदत्तका ५ वडा कार्यालयले आफ्नै भवनबाट कामकाज सुरु गरेका छन् । यसअघि ती सबै वडामा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिएको थियो । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले संघीय शासन व्यवस्थाअनुसार स्थानीय सरकारका कामकाज वडास्तरबाट व्यवस्थित बनाउन वडा कार्यालय भवन बनाएको बताए । ‘नागरिकलाई वडास्तरबाटै सहज रूपमा सेवा दिन पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छौँ’, उनले भने, ‘त्यसका लागि अहिले ६ वटा वडा कार्यालय बनेका छन्, केही अन्तिम चरणमा र निर्माणाधीन छन् ।’ स्थानीय तह निर्वाचनपछि भाडामा लिएर कार्यालय सञ्चालन गरिएपछि नगरपालिकाले योजना बनाएर भवन निर्माण अघि बढाएको मेयर विष्टले बताए । ‘सुरुवती चरणमा भाडाको घरबाट सेवा सुरु गरेका थियौँ, अहिले नगरपालिकाले सबै वडामा कार्यालय निर्माण गर्ने योजना बनाएको छ’ उनले भने । भीमदत्तका वडा नं. २, ६, १२, १५, र १७ मा वडा कार्यालय भवन निर्माण भएर सञ्चालनमा आइसकेका छन् । वडा नं. १७ को वडा कार्यालय भीमदत्तमा सबैभन्दा पहिले सञ्चालनमा आएको हो ।

यस्तै ३, ५, ७, ९, ११, १४ र १९ नम्बर वडा कार्यालय भवनको निर्माण कार्य गत आर्थिक वर्षदेखि सुरु गरिएको छ । वडा नं. १, १८ र ४ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेका छन् । भीमदत्त नगरपालिकाका नगरप्रवक्ता हिमालबहादुर चन्दले नयाँ भवन निर्माणपछि सेवा प्रवाह सहज भएको बताए । ‘भाडाको घरबाट वडा कार्यालय सञ्चालन गर्दा ठाउँ अभावले सेवा सम्पादन जटिलतासँगै नगरपालिकालाई आर्थिक भार थपिएको थियो’ उनले भने, ‘आफ्नै भवन हुँदा जनतालाई सेवा दिन सुविधा छ ।’ भीमदत्तले वडा कार्यालय भवन बनाउन केही वडामा जग्गा दान पाएको छ । केही वडामा जग्गा खरिद गरी भवन निर्माण अघि बढेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x