Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधरेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने


महोत्तरी । बर्दिबास–जनकपुर–जयनगर र पूर्व–पश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको प्रस्तावित जग्गाको मुआब्जा विवाद टुङ्गिएसँगै अब कामले गति लिने यहाँ विश्वास पलाएको हो । जिल्लास्थित जग्गा मुआब्जा निर्धारण समितिले बुधबार बर्दिबासको रेल्वे प्रस्तावित जग्गाको मूल्य निर्धारणको टुङ्गो लगाएको हो ।

‘पछिल्ला सात वर्षयताको विवाद अब टुङ्गिएको छ, हामीले सबै सरोकारवालासँगको परामर्शमा मूल्य निर्धारणको काम टुङ्ग्याएका छौँ’, प्रमुख जिल्ला अधिकारी तथा जग्गा मुआब्जा मूल्य निर्धारण समितिका अध्यक्ष तीर्थराज भट्टराईले भने, ‘अब मूल्य निर्धारणबारेको सूचना तत्काल निकाल्छौँ, भदौ अन्त्यतिर मुआब्जा सम्बन्धित जग्गाधनीलाई दिने काम थालिन्छ ।’

समितिले बर्दिबास नगरपालिका वडा नं १ र १४ (साबिक बर्दिबास गाविस क्षेत्र)को रेल्वेका लागि पूर्वमा रातु नदीदेखि पश्चिममा भब्सी नदीबीचमा पर्ने प्रस्तावित ५९ बिघा क्षेत्रफल जग्गाको बुधबार साँझ मूल्य निर्धारणको विषय टुङ्ग्याएको हो । बर्दिबासका दुवै वडामा रेल्वेले रोक्का राखेको जग्गाको न्यूनतम सात लाख रुपैयाँदेखि अधिकतम ८१ लाख रुपैयाँसम्म प्रतिकठ्ठा मूल्य निर्धारण गरिएको भट्टराईले जानकारी दिए ।

जग्गाको मुआब्जा विवाद टुङ्गिएसँगै अब रेल्वे सेवा विस्तारको कामले गति लिने बर्दिबास–१४ का वडाध्यक्ष भरतबहादुर हमालको विश्वास छ । यसअघि रेल्वेमा परेको जग्गाको उचित मूल्य दिनपर्ने माग राख्दै जग्गाधनी आन्दोलित भएपछि रेल्वे लिक निर्माणको काम बढ्न सकेको थिएन । जयनगर–बर्दिवास रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि विजलपुरा (भंगाहा)सम्म लिक र पुलपुलेसाको काम सम्पन्न भइसकेको छ ।

भङ्गाहादेखि बर्दिबाससम्मको १८ किलोमिटर दूरीभित्र साविकका भङ्गाहा र किसाननगर गाविस (भङ्गाहा अब नगरपालिका र किसाननगर अब बर्दिबासका वडा नं ६ र ७ को मूल्य निर्धारण गत वर्ष नै टुङ्गिएको छ । अहिले साबिक बर्दिबास गाविसको मुआब्जा निर्धारण टुङ्गिएपछि जिल्लामा अब झमेला नरहेको बर्दिबासका नगरप्रमुख विदुरकुमार कार्कीले बताए ।

किसाननगर र बर्दिबासबीचमा धनुषाको मिथिला नगरपालिकाको मुआब्जा त्यहाँबाट निर्धारण हुनासाथ सबैतिरको रेल विस्तारको कामले गति लिने कार्कीको विश्वास छ । जयनगर–बर्दिबास रेल्वेको जम्मा ६९ किलोमिटर दूरीमध्ये प्रथम खण्ड जयनगरबाट कुर्थासम्म ३४ किमी, कुर्थाबाट महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित विजलपुरा स्टेसनसम्म १७ किमी दोस्रो खण्ड र विजलपुराबाट महोत्तरीकै बर्दिबाससम्म १८ किमी दूरीलाई तेस्रो खण्ड भनिएको छ ।


क्याटेगोरी : बिबिध


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x