भुटानको पर्यटन : नेपालका लागि शिक्षा
काठमाडौं । यो पङ्क्तिकार स्वयम् पनि विसं २०५१/०५२ सालदेखि नेपाल घुम्न आउने विदेशी पर्यटकको भरिया भएर काम गरेको मान्छे हो । त्यसपछि स्पेयर (खाना बनाउने चाहिने सामल–तुमल बोक्ने), किचन गियर (खाना पकाउने भाँडाकुँडा) बोक्ने स्टाफ भएर पनि काम गरेँ, शेर्पा स्टाफ (पाल टाँग्ने, राति चोर लाग्ला कि भनेर ड्युटी गर्ने, दिउँसो पर्यटकसँग हिँड्ने) भएर पनि काम गरेँ, कुक भएर पनि काम गरेँ र सरदार वा भनौँ गाइड भएर पनि काम गरेँ । ट्रेकिङ क्षेत्रको लगभग सबै पदमा रहेर काम गरेको अनुभव र अनुभूतिहरू मसँग रहेको छ । तर पनि ट्रेकिङ फिल्डको सबैभन्दा ठूलो पद ‘गु्रप लिडर’का लागि चाहिने ल्याकत मैले कहिल्यै गरिनँ वा मेरो ल्याकतले भ्याएन । हुन पनि सुरुमा मेरा लागि विदेशी पर्यटकहरूको भरिया भएर हिँड्न पाउनु नै ठूलो कुरो थियो, म त्यतिमै सन्तुष्ट भएँ ।
अब लागौँ भुटानको पर्यटन र भुटान सरकारको पर्यटन नीतिको चर्चा गर्नेतर्फ । हुन त अहिले नेपालमा मात्रै नभएर भुटानमा पनि पर्यटन व्यवसाय शून्य अवस्थामा छ । त्यसमाथि आफैंले आफैंलाई वा आफ्नै भनिनेहरूलाई कसरी नराम्रो भन्नु ? कसरी नराम्रो देख्नु ? र कसरी नराम्रो भनी लेख्नु ? तापनि यहाँ म आफू स्वयम् सम्बन्धित रहेको पर्यटन क्षेत्रसँग रहेर अनुभव र अनुभूतिजन्य लेख लेख्दै छु ।
भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा हेर्दा नेपालभन्दा धेरै सानो देश हो । तर, सानो देश भए पनि भुटानबाट हामीले पर्यटन प्रवर्द्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ । नेपालजस्तै हिमाली र भू–परिवेष्ठित देश पनि हो भुटान । भुगोल र जनसंख्याको आधारमा भुटान नेपालभन्दा सानो भए पनि के–कसरी धेरैभन्दा धेरै गुणस्तरीय विदेशी पर्यटक भित्र्याउन सकिन्छ ? त्यसका लागि के–कस्तो खालको पर्यटन नीति, नियम, ऐन, कानुन आदि बनाउन उपयुक्त हुन्छ ? भन्ने सन्दर्भमा भने नेपालले भुटानबाट धेरै नै सिक्न सक्छ । किनभने, भुटान र नेपाल सरकारको पर्यटनसम्बन्धी सरकारी नीति, नियम, ऐन, कानुनहरूमा आकाश–जमीनको फरक देखिन्छ ।
भुटान सरकारले आफ्नो देशमा केवल विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई पर्यटक मानेर आफ्नो देशमा ह्वारह्वार्ती प्रवेश गराउँदैन । भुटान सरकारले पर्यटक भन्दै जो पायो, त्यो व्यक्तिलाई विदेशी पर्यटक भन्दै ह्वारह्वार्ती आफ्नो देशमा प्रवेशाज्ञा दिँदैन । यसले देखाउँछ कि, भुटान सरकारको ध्यान आफ्नो देशमा आउने विदशी पर्यटकको संख्या थोरै नै होस्, तर, ती विदेशी पर्यटक गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्नसक्ने लक्जरी÷डिलक्स) नै होस्, भन्नेमा निक्कै ध्यान दिएको छ ।
भुटान सरकारको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी)ले प्रकाशित गरेको भुटान सरकारको पर्यटनसम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रस्ट हुन्छ भने कुनै पनि विदेशी पर्यटकले भुटान छिर्नेबित्तिकै प्रतिव्यक्ति दैनिक दुई सय अमेरिकी डलर खर्च गर्नैपर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, साइट सिन, जंगल सफारी, कल्चरल टुर, साइक्लिङ, वर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रतिव्यक्ति प्रतिदिन खर्चको सीमा तोकिदिएको छ । जस्तो कि, अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा प्रतिव्यक्ति प्रतिदिन दुई सय अमेरिकी डलरमा प्याकेज बुक गर्नुपर्छ भने, पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रतिव्यक्ति प्रतिदिन दुई सय ५० अमेरिकी डलरमा बुक गर्नुपर्छ ।
स्मरण रहोस्, विदेशी पर्यटकहरू भुटानमा रहँदा तीनतारे होटलमा बस्नुपर्छ । अन्यथा चारतारे वा पाँचतारे होटलमा बस्ने हो भने त्यस्ता विदेशी पर्यटकले अतिरिक्त प्रिमियम तिर्नुपर्ने टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको छ । मुख्य कुरो त्यस्तै भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीनजना हुनैपर्ने नियम पनि राखेको छ, भुटान सरकारले ।
साथै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक दुई सय र दुईसय पचास अमेरिकी डलर (सिजनअनुसार) जुन छ, त्यसमध्ये ६५ अमेरिकी डलर ‘दिगो विकासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले सिधै ट्रेकिङ तथा ट्राभल अपरेटरहरूबाट कटौती गर्छ । सो रकम सरकारले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ ।
विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन दुई सय र दुई सय ५० अमेरिकी डलर (सिजनअनुसार) तिरेपछि उनीहरूको खान्ते–पिन्तेको खर्च समेत भुटान रहुञ्जेल ट्रेकिङ/ट्राभल कम्पनीले व्यहोर्छ । भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरू पनि दिएको देखिन्छ । जस्तो, भुटान भ्रमण गर्नआउने पर्यटक पाँच वर्षभन्दा कम उमेरको भए भिसा चार्जमा ४० अमेरिकी डलर मात्रै लिन्छ भने, सो पर्यटकको बाँकी सम्पूर्ण खर्च सरकारले निःशुल्क बेहोर्छ ।
त्यस्तै पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट दिन्छ, भुटान सरकारले भने, विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्मको भए त्यस्तो पर्यटकले डेली प्याकेजमा २५ प्रतिशत छुट पाउँछ । साथै ११ जनाको समूह भए डेली प्याकेजमा एक जनालाई ५० प्रतिशत छुट दिन्छ । १६ जनाभन्दा माथिको समूह भए डेली प्याकेजमा एक जनालाई शतप्रतिशत छुट दिन्छ । आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टीमा ५० प्रतिशत छुट दिन्छ । १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई सत प्रतिशत रोयल्टी छुट दिन्छ । यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा लिनका लागि मात्रै पैसा नलिएर भुटान सरकारले आफ्नो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकहरूलाई विभिन्न सेवा सुविधाहरू पनि दिएको देखिन्छ ।
रोचक कुरो त के छ भने, भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ५८ दशमलव ७६ प्रतिशत ट्राभल÷टुर अपरेटरमार्फत पहिले नै बुक भएर भुटान भ्रमण गर्न आउने गरेका छन् भने सन् २०१९ मा ‘टुरिज्म काउन्सिल अफ भुटान (टीसीबी)’ले निकालेको पछिल्लो तथ्यांकअनुसार भुटान आएका विदेशी पर्यटकहरूमध्ये ८९ प्रतिशतको उद्देश्य बिदा मनाउने रहेको देखिन्छ । तर, भुटान आउने विदेशी पर्यटकहरूको प्रतिव्यक्ति प्रतिदिन बसाइ अवधि भने ६ दशमलव ३५ दिन मात्रै रहेको देखिन्छ ।
त्यस्तै भुटान भ्रमणमा आउने विदेशी पर्यटकहरूमध्ये ९४ दशमलव ३४ प्रतिशत पहिलोपटक आउने पर्यटक रहेका छन् । स्मरणीय छ, सन् २०१९ मा भुटानमा तीन लाख १५ हजार पाँच सय ९९ जना विदेशी पर्यटकहरूले भ्रमण गरेको देखिन्छ । त्यसमा भारतीय नागरिकहरू मात्रै लगभग ७० प्रतिशत अर्थात् दुई लाख ३० हजार तीन सय ८१ जना भुटान भ्रमणमा गएका छन् भने ११ हजार सात सय सात जना अमेरिकी नागरिकहरूले भुटानको भ्रमणमा गएका छन् । त्यस्तै सात हजार पाँच सय ८४ जना चिनियाँ नागरिकहरूले भुटानको भ्रमण गरेको तथ्यांक रहेको छ । त्यस्तै अर्को सुखद कुरो के छ भने, एक हजार चार सय ३८ जना नेपाली नागरिकहरूले पनि सन् २०१९ मा भुटानको भ्रमण गर्न गएकोे देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया