Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधग्रामीण क्षेत्रका विद्यालयमा पनि प्राविधिक शिक्षाको पठनपाठन

ग्रामीण क्षेत्रका विद्यालयमा पनि प्राविधिक शिक्षाको पठनपाठन


दोलखा । दोलखाका विभिन्न दुर्गम भेगका सामुदायिक विद्यालयमा समेत प्राविधिक शिक्षाको पठनपाठन हुन थालेको छ । केही समयअघिसम्म सहरी क्षेत्रमा मात्रै पठनपाठन हुने प्राविधिक शिक्षाको पहुँच हाल ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा समेत पुग्न थालेको हो ।

मेलुङ गाउँपालिकाको त्रिभुवन मावि मेलुङमा हाल सिभिल इन्जिनियरिङको पठनपाठन सुरु भएको छ । त्रिभुवन मावि मेलुङका प्रधानाध्यापक सन्तोष श्रेष्ठले प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेको बताए । उनका अनुसार यस विद्यालयमा प्राविधिक शिक्षा पढ्नको लागि जुम्ला, हुम्ला, गोर्खालगायतका दुर्गम जिल्लाबाट विद्यार्थी पढ्न आएका छन् ।

विद्यालयमै महिला तथा पुरुष विद्यार्थीको छात्रावाससहित स्थानीय सरकार तथा विद्यालयको सहयोगमा प्राविधिक कक्षा सञ्चालन गरेको उनले जानकारी दिए । त्यसैगरी जिल्लाको शैलुङ गाउँपालिकाको शारदा माध्यमिक विद्यालयले कृषि क्षेत्रको तीन वर्षे बाली विज्ञान र १८ महिने भेटेनरी जेटिए कक्षाको पठनपाठन सुरु गरेको छ ।

विद्यार्थीलाई व्यावसायिक रोजगारमूलक शिक्षामा विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालयमा प्राविधिक कृषि कार्यक्रममा कक्षा सञ्चालन गरेको शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर थपलियाले जानकारी दिए । विद्यार्थीलाई कृषिमा प्रयोगात्मक तालिममा दिन गाउँपालिकामै विभिन्न कृषि फार्म रहेकाले पनि विद्यार्थीहरू कृषि अध्ययन गर्न आउने गरेको विद्यालयले जनाएको छ । भूकम्पपछि दोलखाका दर्जनौँ विद्यालयले प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेका छन् ।

जिल्लाको दुर्गम गाउँ लापिलाङमा पनि प्राविधिक विषयमा पठनपाठन हुनेगरेको छ । त्यसैगरी चरीकोटका निजी कलेजमा झन् प्राविधिक कार्यक्रममा पठनपाठन गराउने प्रतिस्पर्धा नै चलेको छ । केही वर्षअघिसम्म दोलखाको चरीकोट र जिरीमा मात्र प्राविधिक शिक्षालयहरू थिए । तर अहिले जिल्लाका सबै स्थानीय तहरूमा प्राविधिक शिक्षाको पठनपाठन हुनेगरेको छ ।

देशकै पुरानो शिक्षालय जिरी, चरीकोट नर्सिङ कलेज, सर्व माध्यमिक विद्यालय जिलु, बैतेश्वरको हनुमन्तेश्वर उच्च माध्यमिक विद्यालय, कालिन्चोक माध्यमिक विद्यालयलगायतका पुराना स्कुलमा पनि प्राविधिक धारका विषयमा पठनपाठन हुँदै आएको छ । ३ वर्षे डिप्लोमा तहमा प्राविधिक विषयको पठनपाठन सुरु भएसँगै जिल्लाका धेरै जसो विद्यार्थीको रोजाइ पनि प्राविधिक शिक्षा बन्न पुगेको सदरमुकाम चरीकोटमा १८ महिने प्राविधिक निर्माण र सर्भे इन्जिनियरिङ विषयको कक्षा चलाउँदै आएका रेशम राजस्वराज रिमालको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x